लचिलो लकडाउन, लापरवाही र जोखिम

सम्पादकीय
अहिले कोरोना संक्रमण दर विश्वव्यापी रुपमा दैनिक बढ्दो छ । यसले नेपालमा पनि देशव्यापी जनजीवन प्रभावित बनिरहेको छ । जसका कारण राजधानी काठमाण्डौं सहित देशका बिभिन्न जिल्ला र स्थानीय तहले कोरोना रोकथाम, उपचार र नियन्त्रणका लागि लकडाउन (बन्दाबन्दी) गरिरहेका छन् । गण्डकी प्रदेश राजधानी कास्की, पर्वत, बागलुङमा लचिलो खालको लकडाउन गरिएको छ । बागलुङमा त मानिसहरुको भिड हुने बैंक खुल्ला राख्ने निर्णय समेत छ । म्याग्दीमा लकडाउन सहित थप कडाई गर्ने तयारी छ । हिमाल पारिको जिल्ला मुस्ताङ जिल्लामा पनि एकको मृत्यु सहित कोरोना संक्रमण बढ्दो क्रममा देखिएको छ । अहिलेकै रफ्तारमा कोरोना संक्रमण बढ्दै जाने हो भने देशमा महामारीले भयावहको रुप लिने निश्चित प्रायः देखिन्छ ।

नेपालमा पनि पछिल्लो २४ घण्टामा मात्रै दैनिक ७ हजार ४ सय ४८ जना संक्रमित भएका छन् भने ३७ जनाको त मृत्यु नै भएको छ । गण्डकी प्रदेशमा कोरोनाबाट संक्रमित हुने संख्या बढ्दो छ । सोमबार साँझ सम्मको तथ्यांक अनुसार यस प्रदेशमा १९ हजार २ सय २४ जना संक्रमित बन्न बाध्य छन् । एक वर्षको बिचमा १७ हजार ९ निको भइसकेका छन् । यद्यपि अझै २१ सय ८३ संक्रिय संक्रमित छन् । गण्डकी प्रदेशमा कोरोना भाइरस (कोभिड १९)कै कारण २ सय ३२ जनाले अकालमै मृत्यु बेहोर्न बाध्य भएका छन् । तर, गण्डकी प्रदेश सरकार अहिले सत्ता जोगाउने र गिराउने रस्साकस्सीले जनताले भोगिरहेको कोरोना सकसबारे बेखबर जस्तो देखिन्छ । यसमा यसअघि एक घर, एक पिसिआरको नारा अलाप्दै संसद अवरुद्ध गर्ने र संकल्प प्रस्ताव दर्ता गर्ने प्रमुख प्रतिपक्ष दल लगायत पनि वर्तमान सरकार गिराएर मुख्यमन्त्री सहित सत्ताको बागडोर सम्हाल्ने ध्याउन्नमा लिप्त छ ।

मानव जीवनकै कठीन संकट आम नागरिकले भोगिरहँदा सत्ताको रसतालमा डुबुल्की मार्नु कुनै हालतमा क्षम्य विषय होइन । तीन तहको सरकार यसमा गम्भीरतापूर्वक केन्द्रित हुनुपर्ने थियो । जनताको आवाजलाई गहनतम हिसाबमा मुखरित गर्नुपर्ने थियो । तर, अहिले जनताको समस्याबारे सम्बोधन गर्न गराउन पठाएका सांसदहरु पनि आफ्नो स्वार्थ सिद्धका लागि क्षण क्षणमै दल अदल बदल र व्यवस्थालाई नै बदनाम गराउने खेलमा होमिएका छन् । यसले उनीहरु मात्रैलाई बदनाम गरेको छैन, सिंगो संघीय व्यवस्था नै बदनामित हुन थालेको छ । अबको यो समयमा हर नागरिक स्वंयम् जिम्मेवार हुनु पर्दछ । किनभने सरकार या सरोकारवालाले यो कोरोना रोकथाम, नियन्त्रण र उपचारमा गरिरहेको अहिलेको उदेक लाग्दो प्रयत्नले भयावह सन्निकट देखिन्छ । अतः जो जहाँ जहाँ छौ, त्यहीँ त्यहीँ सचेत बनौ, सुरक्षित बनौ, जिम्मेवार बनौ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *