पश्चिम बागलुङमा अझै छैन कोरोना सजगता

डम्मर बुढा मगर, बागलुङ
कोरोनाको दोस्रो लहर देशभर फैलिँदै गर्दा चिकित्सकहरुले दोस्रो भेरियन्ट पहिलोभन्दा बढी खतरानाक भएको बताउँदै आएका छन् । तर, नागरिकको अटेरी र सरोकारवाला निकायको बेवास्ताको कारण दिनदिनै संक्रमण र मृत्यु दर बढ्दै गएको छ ।

बजारमा पनि माक्सको प्रयोग र सरकारको स्वास्थ्य मापदण्डलाई केही मात्रामा पालना गर्न थालिए पनि अझै मानवीय लापरवाहीकै कारण जोखिम कायमै छ । जिल्लाकै दोस्रो व्यापारीक केन्द्रको रुपमा स्थापित बुर्तिबाङ बजारमा कोरोनाको प्रवाहनै नगरि खुलमखुला निर्वाध रुपमा हिँड्डुल, व्यापार व्यवसाय सञ्चालन गरिएको छ । बुर्तिबाङ बजारमा मानिसहरुको भिडभाड र अन्य गतिबिधि देख्दा लाग्छ कि यहाँ कोरोना संक्रमणको कुनै गुञ्जायस छैन ।

तर कोरोना संक्रमण संख्या र सम्भावित जोखिमले महामारीको रुप लिने संकेत गरिरहेको छ । यसरी नै नागरिकको लापरवाही हुँदै गयो भने भयावहको स्थिति आउने चिन्ता व्यक्त गरिएको छ ।
यहाँबाट दैनिक रुपमा बिभिन्न सहरहरुमा यातायातका साधान आवत जावत गर्ने गर्छन् । कोरोना संक्रमणको उच्च जोखिम भएका जिल्ला तथा शहरहरुबाट पनि गाडीहरु निरन्तर आउने जाने गरिराखेका छन् । यस तर्फ सम्बन्धित निकाय मौन छ ।

बुर्तिबाङ लगायत निसीखोला, तमानखोला र बडिगाड गाउँपालिकामा पनि यथोचित सतर्कता नअपनाएको पाइएको छ । विदेश तथा अन्य जिल्लाबाट आउनेहरु पनि सिधै घरमा आउने र खुलेआम हिँड्डुल गर्ने गरेका छन् । गत वर्ष स्थानीय पालिकाले क्वारेन्टिन निर्माण गरेर बाहिरी जिल्ला तथा मुलकबाट आउनेलाई व्यवस्थापन गरेको थियो भने यस पटक त्यस तर्फ कत्ति पनि तयारी र ध्यान नदिएको पाइएको छ ।

ढोरपाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम भट्टराईले स्वास्थ्य मापदण्ड अपनाउनको लागि आग्रह गरिरहेको बताउनुभयो । स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरे पनि कसैले सुनुवाइ नै गरेको देखिदैन । गाडीमा यात्रा गर्ने यात्रुदेखि ‘कन्डक्टर’ र चालक कसैले पनि माक्स समेत नलगाउने गरेको स्थानीय बताउँछन् ।

‘बाहिरबाट आउने गाडीलाई रोक्न सक्ने कुरा भएन, कसरी रोक्नु ? तर स्वास्थ्य मापदण्ड पालना गर्नका लागि समय–समयमा आग्रह गरेका छौँ’ उहाँले भन्नुभयो । बुर्तिबाङ बजारमा घर बाहिर निस्किँदा माक्सको अनिवार्य प्रयोग गर्न र सरकारले निर्देश गरेका स्वास्थ्य मापदण्डलाई पालना गर्न अपिल गरेको बताउनुभयो ।

इलाका प्रहरी कार्यालय बुर्तिबाङले पनि ‘तपाईको माक्स खोई ?’ कार्यक्रम समेत सुरु गरेको छ । एकातिर सरोकारवाला निकाय स्वास्थ्य मापदण्डलाई पालना गराउँदै हिँड्छन्, अर्को तिर नागरिक अटेरी गर्दै खलेआम हिँड्ने गरेको पाइएको छ ।

संक्रमण बढी भएका जिल्ला तथा शहरबाट आएकाहरु सोझै घरमा जाने र गाउँघर डुल्ने भेट्ने गरेको स्थानीयको गुनासो छ । बाहिरबाट आएकाहरु गाउँमा मनपरी रुपमा खुलेआम डुल्दा गाउँनै कोरोनाको जोखिममा परेको स्थानीय बताउँछन् ।

कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै ५ बेडको आइसोलेसन तयारी अवस्थामा रहेको र थप २० बेडको अक्सिजन सहितको आइसोलेसन बनाउने तयारीमा रहेको प्रमुख प्रशासकीय अधिकृत भट्टराईले जानकारी दिनुभयो ।

‘कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै अक्सिजन सहितको आइसोलेसन बनाउने तयारीमा छौँ, पाँच बेडको बनिसकेको छ, अब २० बेडको बनाउने भनेका छौँ,’ उहाँले भन्नुभयो ‘हामीले नागरिकलाई सजग बनाउने काम गरिराखेका छौँ तर पनि अटेर गरि राखेको पाइएको छ, थप कडाई गर्नु पर्ने देखिन्छ ।’

नगरपालिकामा कुनै पनि सार्वजनिक कार्यक्रम, बिवाह, ब्रतबन्ध तथा अन्य धेरै मान्छे जम्मा हुने खालको कार्यक्रम गर्न रोक लगाएको भन्दै विद्यालयमा पनि कोरोना जोखिम बढ्ने हुँदा पालिका भित्रका सबै विद्यालय बन्द गरेको जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *