कोरोनाले आजित व्यावसायी भन्छन्ः ‘उद्योग व्यवसायमा सहुलियतको व्यवस्था गरियोस्’

कोरोना कहरले हर क्षेत्र प्रभावित छ । मानिसहरुको दैनिकी र भविष्य अनिश्चित बन्न थालेको छ । एक वर्ष पुरा भएको कोरोना दोस्रो लहर तिव्रतर गतिमा संक्रमण दर बढ्दा फेरि लकडाउनको बाध्यात्मक विकल्प अपनाउन थालिएको छ । यस्तो बेलामा ब्यापार व्यवसाय कति प्रभावित छ ? कोरोना अघिको व्यापार व्यवसाय के कस्तो थियो ? व्यवसायीले के सोचिरहेका छन् ? अब लगानी र व्यापार के होला ? सरकारले के गर्नुपर्छ ? अब कोरोना संकट सँगै कठीन अवस्थामा रहेको व्यवसायलाई कसरी अघि बढाउन आवश्यक छ ? आदर्शकर्मी साधना पन्तले बागलुङका व्यवसायीलाई यीनै प्रश्न सोध्नुभएको छ । प्रस्तुत छ कुराकानीको सम्पादित अंशः

तेज थापा
सञ्चालक कफी लबर, बागलुङ

कोरोना महामारीले गर्दा अहिले व्यापार हवात्तै घटेको छ । कोरोना दिन प्रतिदिन बढेको कारण अहिले बजारमा मानिसहरु कम हुनुहुन्छ । त्यसकारण व्यापार पनि कम छ । कोरोनाले गर्दा सामानहरु महङ्गिएको पनि मैले महशुस गरेको छु । सामान महङ्गो तर व्यापार भने कम हँुदै गएको छ ।

कोरोना आउन भन्दा पहिला राम्रो व्यापार थियो । तर, अहिले कोरोनाले गर्दा घरभाँडा समेत तिर्न कठीन भएको छ । पहिला पनि कोरोनाले लकडाउन लामो समय भयो । त्यो समयमा पनि भाँडा तिर्न समस्या भएको थियो । त्यो समयको घाटालाई अब पुरा होला भनेको थिए, फेरि कोरोना बढ्यो, व्यापार घट्यो । कर्मचारी हुनुहुन्छ दुई जना । उहाँहरुलाई पनि तलब दिनुपर्ने हुन्छ । हामी व्यापारीलाई कोरोनाले साह्रै समस्यामा ल्याएको मैले महशुस गरेको छु ।

पहिलो कुरा त कोरोना संग हामी आफै पनि सजग हुनु पर्ने हुन्छ । मेरो पसलमा कफी, जुस, केकहरु खानका लागी आउने ग्राहकहरुलाई सुरक्षित गर्ने जिम्मा पनि मेरो नै हो तर त्यो सम्भव हुँदैन । हामीहरु प्रत्यक्ष रुपमा ग्राहकसंग सम्पर्कमा रहेका हुन्छौ । धेरै थरी मानिसहरु आउने ठाउँ पनि हो कफी सप भनेको । त्यसकारणले कोरोनाको जोखिम बढी हुन्छ । कोरोनालाई हामीहरुले सानो कुरा सम्झनु हुँदैन । अहिलेको सन्दर्भमा कोरोना धेरै बढेकाले हामीले अगाडिको सटर बन्द गरेर पछाडिका ढोका मात्र खुल्ला गरेका छौ । कोही कोही चिने जानेका मात्र अहिले पसलमा आउनु हुन्छ । व्यापार ५० प्रतिशत घटेको अवस्था छ ।

हामी जस्ता व्यापारीलाई व्यापार पनि चलोस् र ग्राहकलाई पनि सेवा दिन पाईयोस् भनेर अपनाउने साबधानी भनेको सामान प्याकिङ गरेर बेच्ने हो । सामान प्याकिङ गरेर बेच्दा एक जना ग्राहक लामो समय पसलमा बस्नु हँुदैन । आउने जाने हुन्छ । त्यसले गर्दा पसलमा भिडभाड कम हुन्छ । तर, त्यो बागलुङको सन्दर्भमा सम्भब छैन ।

यो समयमा हामी सवैले आफ्नो ठाउँबाट कोरोना फैलिन नदिनका लागी सुरक्षा मापदण्डहरु अपनाउनु पर्दछ । कोरोना बढेको खण्डमा लकडाउन पनि गर्नुपर्दछ । तर, हामी व्यापारीका पनि समस्याहरु छन् । ती समस्यालाई केही हदसम्म समाधान गर्नका लागी सरकारको पनि यस विषयमा ध्यान जानुपर्ने मैले देख्दछु । हामीले व्यापार संचालन गर्नका लागी बैंकबाट ऋण लिएर संचालन गरेका हुन्छौ । ६,७ मैना लकडाउन हुदाँ त्यो ऋणको व्याज र घरभाडाले व्यापारी उठनै नसक्ने गरेर थलिएको हुन्छ । त्यासकारणले यस्ता कुरामा पनि सम्बन्धित निकायको ध्यान जान जरुरी हुन्छ ।

सुदिप प्रधान
सञ्चालक, प्रधान फेन्सी
कोरोनाले सबै भन्दा बढी कपडाको व्यापार गर्ने व्यापारीलाई समस्यामा ल्याएको छ । अन्य व्यापारीले व्यापार गर्दा कोरोनाको जोखिम त्यति बढी नहुने तर कपडा व्यापारीलाई कोरोनाको जोखिम बढी हुने भएकाले व्यापार गर्ननै यो समयमा जोखिम छ । कोरोनाको समयमा सम्भवनै छैन व्यापार गर्न । स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर पनि व्यापार गर्न सकिदैन ।

बजार सुनसान छ अहिले । बजारमा मानिसहरु नभए पछि व्यापार हुने भन्ने कुरै भएन । कोरोना महामारी आउन भन्दा पहिले व्यापार धेरै राम्रो थियो । तर, अहिले व्यापार कम भएको छ । अहिलेको अवस्थामा व्यापार लगभग ६० प्रतिशत कम भएको छ । हाम्रो व्यवसायमा प्रत्यक्ष रुपमा हामीहरु ग्राहकसँग भेट हुन्छ । फेन्सी व्यवसामा लुगा किन्न आउने ग्राहकले लुगा छुने, लगाएर हेर्ने सबै हुन्छ । त्यसकारणले हाम्रो व्यवसायमा कोरोना संक्रमण फैलिन सक्ने सम्भावना धेरै हुन्छ ।

हामीहरु त्यही कारणले सजग भएर स्वास्थ्य मापदण्ड अपनाएर व्यापार गरिराखेका छौ । कुनै पनि ग्राहक स्वास्थ्यमा समस्या भएको आउनु भएमा हामीहरुले सुझाव सल्लाह दिने समेत गरेका छौ ।
कोरोना बढेसँगै लकडाउन त गर्नुनै पर्दछ । अहिले कोरोनाको जोखिम बढेको छ । त्यसकारण स्वास्थ्यको विषयमा कुनै पनि कुरामा लापरबाही हुनुहुँदैन । हामीहरु स्वस्थ रहे व्यापार पछि पनि गर्न सकिन्छ । तर, ज्यान नै नरहे केही रहदैन । अतः स्वास्थ्यलाई प्राथामिकतामा राखेर स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर आफ्नो दैनिकी गर्नुपर्ने देख्छि । अहिले दिन प्रतिदिन देख्न सकिन्छ विवाह व्रतबन्ध भनेर बजारमा भिडभाड गरेको । यस्ता खालका गतिविधिहरु समयमै रोकिएन भने भोली ठुलो समस्या आउन सक्दछ । त्यसकारणले प्रशासनले हामी व्यापारीलाई मात्र पसल बन्द गरे कोरोना नियन्त्रण हुन्छ भन्नु भन्दा सबै खालका स्वास्थ्य सुरक्षा मापदण्ड भन्दा बाहिरको गतिबिधीलाई तत्कालै रोक्नु पर्ने अहिलेको अवाश्यकता हो ।

सिर्जु केसी श्रेष्ठ
सञ्चालक, ब्राउन आइज मार्ट
हाम्रो पसलमा मानिसलाई दैनिक चाहिने सामाग्रीहरु उपलब्ध हुने भएको कारणले पसल नै बन्द गर्नुपर्ने अवस्था भने अहिले सम्म आएको छैन । तर, कोरोनाले गर्दा बजार खाली भएको छ । सवै मानिसहरु गाउँ गईसक्नु भएको कारणले अहिले व्यापारमा कमी छ । पहिला व्यापार राम्रो चलेको अवस्था थियो । अहिले भने व्यापारमा कमी आएको छ ।

अहिलेको अवस्थामा भन्ने हो भने सबै सामानको भाउ पनि धेरै बढेको छ । महङ्गी बढेकै कारणले कोरोना महामारीमा व्यापार कम हुने सक्ने मैले महशुस गरेको छु । कोरोना यही दरमा बढेमा सबै कामहरु ठप्प हुन्छन् । काम ठप्प भएमा मानिसहरुको आयश्रोतमा कमी आउँछ र मानिसले कम खर्च गर्दछन् । त्यसकारणले व्यापार पनि घट्दछ । हाम्रो पसल लकडाउनमा पनि खुल्दछ । खाद्य सामाग्रीहरु किन्नका लागि धेरै मानिसहरु आउनु हुन्छ । हाम्रो पसलमा सवै खालका सामाग्रीहरु यही पाईन्छ । धेरै पसलमा जानु नपर्ने भएकाले सबै सामान एकै ठाउँबाट पाउने भएकाले मानिसहरु सामान किन्न हाम्रोमा आउनु हुन्छ । यो कोरोनाको समयमा राम्रो पनि हो । यस्तो जोखिम समयमा धेरै पसलहरु धाउनुपर्ने बाध्यता र जोखिम पनि कम हुन्छ ।

यो कोरोनाको समयमा हामी व्यापारीले पनि ध्यान दिनुपर्ने हुन्छ । आफ्नो पसलमा आउने ग्राहकलाई माक्स सेनिटाइजर अनिवार्य प्रयोग गर्न लगाउने र सामाजिक दुरी कायम गर्न पनि लगाउनु पर्दछ । एकै साथ धेरै मानिसहरुलाई पसलमा भिडभाड गर्न दिनु हुँदैन् । त्यसकारण सबै मानिसहरुले यो कोरोना महामारीलाई नियन्त्रण गर्नका लागि आफ्नो ठाउँबाट सजग भई अगाडि बढ्नुपर्ने देखिन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *