एमाले जोगाउन गण्डकीका जिल्ला अध्यक्षहरुको दवाव

आदर्श अनलाइन, बागलुङ
नेकपा एमालेलाई एकतावद्ध बनाउनका लागि गण्डकी प्रदेशका ११ जिल्लाका पार्टी अध्यक्षहरुले संयुक्त रुपमा अपिल गरेका छन् । पार्टी विभाजनको संघारमा पुगेको बेला गण्डकी प्रदेश अन्तरगतका ११ जिल्लाका अध्यक्षहरुले शुक्रवार संयुक्त प्रेस वक्तव्य जारी गरी पार्टीलाई एकतावद्ध बनाउन अपिल गरेका हुन् ।

कम्युनिष्ट पार्टीको इतिहास, आदर्श, मूल्यमान्यता र जनता प्रतिको जवाफदेहितालाई आत्मसाथ गर्दै नेकपा एमाले पार्टीलाई जोगाउन नेताहरुलाई जिल्ला अध्यक्षहरुको आग्रह छ ।

नेपाल कम्युनिष्ट पार्टी एमाले जीवन्त र गतिशिल पार्टी हो, नेपालको कम्युनिष्ट आन्दोलनको मुल प्रवाह हो, पार्टी भित्र विगत वर्षहरुदेखि नै आन्तरिक अन्तरविरोधहरु देखा परिरहेका छन्, प्रेस वक्तव्यमा भनिएको छ, अन्तरविरोधहरुले पार्टीलाई क्षति पु¥याइरहेको हामीले महसुस गरेका छौ ।

पार्टीलाई क्षति हुनबाट जोगाउन शिर्ष नेताहरुले गंभिरताका साथ सोच्नु पर्ने र देशभरका नेता कार्यकर्ता र आम जनताको भावनाको कदर गर्दै गण्डकी प्रदेश अन्तरगतका जिल्ला अध्यक्षहरुबीच छलफल गरी दवाव स्वरुप प्रेस वक्तव्य जारी गरिएको एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले बताए ।

देशभरका नेता कार्यकर्ता र एमालेलाई माया गर्ने जनताको चाहना एमाले एकतावद्ध रहोस् भन्ने छ, अध्यक्ष श्रेष्ठले भने–‘जनता र नेता कार्यकर्ताको चाहनालाई बुझेर नेताहरुले विगत बिर्सेर पार्टीलाई एकतावद्ध बनाउनु हुन्छ ।’ तल्लो तहका मात्रै होइन, प्रदेश र केन्द्रीय कमिटिका नेताहरु पनि पार्टी एकता हुनु पर्छ भन्ने पक्षमा रहेको श्रेष्ठको भनाइ छ ।

२०७५ जेठ ३ गते नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा माओवादी (केन्द्र) बीच एकीकरण भएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको थियो । पार्टी एकीकृत छदै अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्ड सहित माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतमहरुबीच विवाद बढ्दै गएको थियो । विवादकै बीच प्रचण्ड माधव समुहका तर्फबाट अध्यक्ष ओली विरुद्ध १९ बुदे आरोपपत्र वैठकमा पेशभएपछि बढेको विवाद पछि अध्यक्ष तथा प्रधानमन्त्री ओलीले संसद विघटन गरेका थिए ।

संसद विघटनपछि दुवै पक्षका तर्फबबाट देशव्यापी जनप्रदर्शन भएका थिए । सर्वोच्च अदालतले २०७७ फागुन ११ गते संसद पुनस्थापना र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवादका सन्दर्भमा फागुन २३ गतेको फैसलापछि एकीकृत भएका दुई पार्टी अलग अलग भएका थिए ।

सर्वोच्चको फैसलापछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुन २८ गते पूर्व माओवादीका नेताहरुलाई कमिटिमा आवद्ध गराउने निर्णय पछि असहमति राख्दै आएको माधव–झलनाथ समुह र ओलीबीच थप विवाद बढ्दै गएको थियो ।

माधव–झलनाथ समुहले समानान्तर कमिटि गठन गर्दै हिडेपछि ओलीले उक्त समुहका नेताहरुलाई कार्वाही गरेका थिए । २०७५ जेठ २ गतेको नेकपा एमालेका रुपमा अगाडि बढाउनु पर्ने माधव–झलनाथ समुहको मागलाई ओलीले नमानेपछि थप विवादित बन्यो । नेकपा एमालेलाई एकतावद्ध बनाउन दुवै तर्फका दोस्रो तहका नेताहरुबीच छलफल भैरहेको छ ।

जिल्ला अध्यक्षहरुका तर्फबाट यसरी दवाव सिर्जना भएको थिएन । अब अन्य प्रदेशका जिल्ला अध्यक्षहरु, प्रदेश कमिटिहरु र स्थानीय कमिटिहरुका तर्फबाट पनि दवाव सिर्जना हुने अवस्था सिर्जना भएको नेताहरुको भनाइ छ ।

No description available.

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *