बडिगाडमा विवाह भोजमा सहभागी २५ जनामा कोरोना, गाउँमा अरु पनि बिरामी

डम्मर बुढा मगर, बागलुङ
बडिगाड गाउँपालिका वडा नम्बर ४ जलजलाका २५ जनामा कोराना संक्रमण पुष्टि भएको छ ।संक्रमति भएका अधिकांश केही दिन अगाडी सोही गाउँमा भएको एक विवाह समारोहमा सहभागी थिए । गाउँमा कोरोना संक्रमणको शंकास्पद बिरामी बढ्न थालेपछि बडिगाड गाउँपालिकाले पिसिआर परीक्षण गरेको थियो ।

बिहीबार गाउँका २९ जनाको स्वाब परीक्षण गरिएकोमा शुक्रबार २५ जनामा कोरोना संक्रमण पुष्टि भए पछि गाउँमा भयावह सुरु भएको छ । संक्रमित भएका सबै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको बडिगाड गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक चुडामणी कँडेलले जानकारी दिनुभयो ।

गाउँपालिकामा संक्रमण तीव्र गतिमा फैलिएको हुँदा थप सतर्कता अपनाउनु पर्ने कँडेलको भनाई छ । गाउँभर संक्रमण फैलिए पछि रोकथामका लागि आफूहरु लागि रहेको उहाँको भनाई छ । गाउँमा सरकारले निर्देशन गरेको स्वास्थ्य मापदण्ड पालनामा बेवास्ता गर्दा अस्वभाविक रुपमा संक्रमणको दर बढेको कँडेल बताउनुहुन्छ ।

‘गाउँमा बढी भिडभाड हुने र अन्य सार्वजनिक क्रियाकलाप हुने गरेको थियो, बाहिरबाट पनि आवतजावत बढी भएको हुँदा अहिले संक्रमणको जोखिम निकै बढेको छ, गाउँमा धेरै मान्छेहरु बिरामी भएका छन्,’ स्वास्थ्य शाखा प्रमुख कँडेलले भन्नुभयो ‘शंकास्पद बिरामी भएको पाइए पछि हामीले परीक्षण गरेका हौँ, परीक्षण गरेका मध्ये धेरैलाई संक्रमण पुष्टि भए पछि कोरोना गाउँभर फैलिएकोमा शंका रहेन ।’

जलजला गाउँसँगै अन्य गाउँमा पनि संक्रमणको जोखिम बढेको भन्दै उहाँले सबै तिर परीक्षण गर्न सुरु गरेको बताउनुभयो । संक्रमणको व्यवस्थापनका लागि गाउँपालिकाले आइसोलेशन तथा अन्य व्यवस्थापनलाई तीव्रता दिएको छ ।

विवाह समारोहमा सहभागी भएका दुलाहा पक्षका आफन्त तथा अन्य गाउँका अधिकांश मानिसहरु बिरामी परेको बडिगाड गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष प्रेम गलामी मगरले जानकारी दिनुभयो । अध्यक्ष मगरले गाउँमा पछिल्लो समय बाहिरबाट आवत जावत बढी भएको र विवाह लगायतका कार्यक्रम नियमित हुँदा जोखिम बढेको बताउनुहुन्छ ।

‘अहिले संक्रमित भएकाहरु अधिकांश विवाहमा सहभागी भएका छन्, केही उनीहरुसँग सम्पर्कमा रहेका छन्,’ अध्यक्ष मगरले भन्नुभयो ‘पछिल्लो समय गाउँमा भिडभाड हुने खालका गतिविधि भएको र त्यहीबाटै कोरोना फैलिएको भन्ने लाग्छ, गाउँमा अरु पनि धेरै बिरामी पर्नु भएको छ तर अवस्था सबैको समान्य छ ।’

गाउँ कोरोना संक्रमणको उच्च जोखिममा परेपछि केही दिनका लागि गाउँ नै सिल गरिएको छ । संक्रमितहरु सबैको अवस्था सामान्य भएकाले होम आइसोलेशनमै राखिएको अध्यक्ष मगरको भनाई छ । गाउँमा संक्रमण बढ्दै गएपछि स्थानीयमा त्रास छाएको छ ।

‘अहिले कसैलाई लानि त्यस्तो बढी समस्या भएको छैन, सबैलाई ज्वरो आउने, रुघा खोकी लगायतका लक्षण देखिएको छ, त्यसैले सबैलाई घरमै राखिएको छ,’ उहाँले भन्नुभयो ‘संक्रमणको दर अझै धेरै बढ्ने देखिन्छ, गाउँभरीका धेरैजसो बिरामी परेको हुँदा थप सजगता अपनाएका छौँ ।’

केही दिन अगाडी गाउँमा भएको विवाह समारोहमा जलजला गाउँसँगै अन्य विभिन्न स्थानबाट पनि मानिसहरु सहभागी भएको बताइएको छ । उक्त विवाहमा करिब ४ सय जना सहभागी भएको स्थानीयको भनाई छ । विवाहमा सहभागी भएका ८७ वर्षीय वृद्धाको बिहिबार धौलागिरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । उहाँको मृत्युपछि गाउँमा थप त्रास फैलिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *