कोरोना नियन्त्रण, स्थानीय सरकार र सत्प्रयास

सम्पादकीय
कोरोना भाइरस (कोभिड १९) ले देश सन्त्रस्त छ । नागरिक उपचार बेड, अक्सिजन नपाएर आकुल ब्याकुल अवस्थामा छन् । कोरोनाको रोकथाम, उपचार र नियन्त्रणको जिम्मा लिनु पर्ने तीन तहको सरकार भने जनताको यो कठीन सकसपूर्ण दैनिकी र जीवनमा बेखबर जस्तो बनिरहेको छ । केन्द्र सरकार र प्रदेश सरकार अहिले आफै अविश्वास र आलोचनाको भूमरीका बिच आफै जोगिने जोगाउने ध्याउन्नमा व्यस्त छ भने सरकारको बेवास्तामा खबरदारी गर्ने प्रमुख प्रतिपक्षी लगायत विपक्षी दल पनि सत्ता मोहमा मुख मिठ्याइरहेका छन् । यो सत्तारस्सी अहिले संघीय सरकारका साथै लुम्बिनी र गण्डकी प्रदेशमा जारी छ । विद्यमान विश्वव्यापी कोरोना महामारी भुलेर सत्ता जोगाउने र गिराउने खेलमा दल र नेताहरु उद्धत छन् । यो साँच्चिकै नेपाल र नेपालीका लागि दुर्भाग्यपूर्ण क्षण हो ।

गत वर्षको अन्त्यतिर कोरोना भयावह सुरु हुँदा नेपालमा कोरोना रोकथाम र नियन्त्रण के कसरी गर्ने अनुभवजन्य हिसाबले पनि नयाँ थियो । र चुस्त व्यवस्थापनमा केन्द्र देखि प्रदेश सरकार र स्थानीय सरकारहरु चुक्यो । जसको फल स्वरुप कोरोना संक्रमण दर केही महिना पश्चात नै गाउँ गाउँमा समेत फैलियो । सैयनले अकालमै ज्यान गुमाए, हजारौं नागरिक कोरोना संक्रमणको शिकार बने । लाखौ लगानी गरेका व्यापार व्यवसाय धराशायी बने । दैनिक रोजिरोटी गरेर जिविका चलाइरहेका श्रमिक मजदुरहरुको मुखमा मार पर्न छोड्यो । यो बेलामा सरकारको अधिक भूमिका खोजी भयो । केन्द्र र प्रदेश सरकारको भूमिका यथेष्ट नदेखिए पनि स्थानीय सरकार प्रभावकारी देखिए । क्वारेन्टिन निर्माण, कोभिड अस्पताल र आइसोलेसन व्यवस्थापन र गरिब,विपन्न, मजदुरलाई राहत बितरण गर्ने सवालमा स्थानीय सरकारले अविस्मरणीय भूमिका रह्यो । तर, दोस्रो लहरको कोरोना संक्रमण सँगै मृत्युदर समेत बढ्दा अहिले स्थानीय सरकारहरु पनि अन्यौल र फितलो भूमिकामा छन् ।

केन्द्र र प्रदेश सरकार जस्तो सरकार जोगाउने र गिराउने पिरलो स्थानीय सरकारलाई छैन । पाँच वर्षका लागि निर्वाध सत्ता सञ्चालनको सुविधा र अवसर छ । तर, स्थानीय सरकारहरु अघिल्लो वर्षको जस्तो भूमिका निभाउने सन्दर्भमा चुकिरहेका छन् । बाहिरबाट आउनेलाई पहिले जस्तो क्वारेन्टिन, आइसोलेसन, जाँच, निगरानीको अभाव छ । विपन्न र मजदुर लकडाउनले भोकै बस्ने बिबशतामा ध्यान छैन । तर, यस्तै गुनासो र आलोचनाका बिच बागलुङ नगरपालिकाले कोरोना संक्रमण नियन्त्रण, उपचारका लागि तत्काल रेस्पोन्स गर्ने टीम तयार गरेको छ । जसले एम्बुलेन्स, अस्पताल बेड, अक्सिजन, पिसिआर, होम आइसोलेसन, संस्थागत आइसोलेसनमा समन्वय र सहजिकरणको काम गर्नेछन् । अन्य पालिकाले पनि यस्तै तयार तत्काल गर्नुपर्ने अपरिहार्य देखिन्छ । किनकि कोरोना संक्रमण र मृत्यदर जिल्लामा बढ्दै गइरहेको अवस्थामा अब पनि तयार गर्न ढिलाई गर्ने हो भने त्यो जिल्लाका लागि निकै महंगो सावित हुन सक्नेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *