कोरोना संक्रमण रोक्न बल्ल तातिदै स्थानीय सरकार र सरोकारवाला

डम्मर बुढा मगर, बागलुङ
दोस्रो लहरको कोरोना संक्रमण र मृत्युदर बढ्दै गए पछि स्थानीय सरकार र सरोकारवाला निकायले रोकथामका लागि आवश्यक पहल र गतिविधि तिव्र बनाउन थालेका छन् । कोरोना संक्रमण तीव्र गतिमा फैलिएसँगै पहिलेको भन्दा फरक रणनीतिका साथ जिल्लामा ‘चेन ब्रेक’को प्रयास भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

कोरोना रोकथाम र नियन्त्रणका लागि जिल्लाका सबै पालिकामा निषेधाज्ञा जारी गरिएको छ । जनचेतना मुलक कार्यक्रम मार्फत नागरिकलाई सचेत बनाउने कार्य पनि जारी छ । यसका साथै दैनिक रुपमा संक्रमित भएका र थप जोखिममा रहेका नागरिकहरुका लागि आवश्यक स्वास्थ्य सुरक्षा सचेतता अपनाउने, उपचार, आइसोलेसन व्यवस्थापन लगायतका कार्यक्रममा अस्पताल, स्वास्थ्यकर्मी, प्रशासन, जनप्रतिनिधि, कर्मचारी सक्रिय भएका छन् ।

जिल्लामा कुनै पनि नागरिक संक्रमति भई उपचार अभावमा ज्यान गुमाउनु पर्ने अवस्था नआओस् भन्ने अभिप्रायले जिल्लाका १० वटै स्थानीय तहले पालिकामै अक्सिजन सहितको आइसोलेसन र अन्य पूर्ववत तयार गर्न थालेका छन् । बागलुङ नगरपालिकाले त पिसिआर, उपचार बेड, अक्सिजन, आइसोलेसन, एम्बुलेन्स लगायतका सेवाका लागि छुट्टा छुट्टै सम्पर्क टीम बनाएको छ । बानपाको रात्माटा स्थित भवनमा अक्सिजन सहितको आइसोलेशन बनाएको छ ।

बागलुङ बजारमा विभिन्न संघ संस्था तथा सामाजिक अभियान्त पनि अक्सिजन अभाव हुन नदिनका लागि दैनिक रुपमा अभियान चलाउन सक्रिय छन् । उनीहरुले विभिन्न संघ संस्था तथा व्यवसायीसँगबाट अक्सिजन सिलिण्डर संकलन गरिरहेका छन् ।

संक्रमितको व्यवस्थापन र संक्रमण नियन्त्रण गर्नका लागि सबै पालिकाका स्वास्थ्यकर्मी, जनप्रतिनिधि, कर्मचारी र नागरिक खटिएको जिल्ला प्रशासन कार्यालय बागलुङका सूचना अधिकारी गणेश गौतमले जानकारी दिनुभयो । उहाँले जिल्लामा १३ वटा एम्बुलेन्स रहेको र १० वटा संचालनमा रहेको बताउनुभयो । जसमध्ये हाल १० वटा एम्बुलेन्स संचालनमा रहेको रेग्मीको भनाई छ ।

‘संक्रमित व्यवस्थपान र एम्बुलेन्स व्यवस्थापनका लागि धेरै प्रयास भइरहेका छन्, अहिले धेरैजसो संक्रमित होम आइसोलेशनमै हुनुहुन्छ भने केही स्वास्थ्यमा समस्या आएकाहरु अस्पताल तथा विभिन्न आइसोलेशनमा उपचाररत हुनुहन्छ,’ उहाँले भन्नुभयो ‘हामीले अक्सिजन सिलिन्डर र एम्बुलेन्सको व्यवस्थापन पनि गरिरहेका छौँ, जिल्लामा अहिले १३ वटा एम्बुलेन्स छन् भन्ने छ, त्यस मध्ये ३ वटा मर्मत गर्न थालिएको छ, त्यसलाई पनि तत्तकाल मर्मत गर्न भनिएको छ ।’

जिल्लामा रहेका १३ एम्बुलेन्स मध्ये ७ वटा पालिकाको र अन्य विभिन्न संघ सस्था तथा अस्पतालको भएको रेग्मीले बताउनुभयो । एम्बुलेन्सको चालकहरु पनि पालिका तथा संघ संस्थाले नै गरेको उहाँको भनाई छ ।

रेग्मीले संक्रमण व्यवस्थापनका लागि संक्रमितहरुको सम्पर्कमा आएकाहरुको स्थानीय तहले कन्ट्रयाक ट्रेसिङ गरिरहेको भन्दै केही बिरामी परेका धौलागिरी अस्पतालमा आएर परीक्षण गराउने गरेको बताउनुभयो । ‘केही समय अगाडी एम्बुलेन्स भए पनि चालकको अभाव थियो, अहिले चालहरु पनि एम्बुलेन्स भएका पालिका तथा संघ संस्थाहरुले व्यवस्थापन गर्नु भएको छ,’ सूचना अधिकारी रेग्मीले भन्नुभयो ‘संक्रमणलाई न्यून गर्नका लागि संक्रमितहरुको सम्पर्कमा आएकाहरुको पहिचान गरि परीक्षण गर्नका लागि पालिकाहरु लाग्नु भएको छ, आइसोलेशन व्यवस्थापनमा उहाँहरु लागि रहनु भएको छ ।’

जिल्लामा कुनै पनि संक्रमितले अस्पताल तथा आइसोलेशनसम्म पुग्ने एम्बुलेन्स सेवाका लागि १०२ मा फोन गर्न जिल्ला प्रशासन कार्यालय बागलुङले अपिल गरेको छ । जटिल समस्या भएमा अस्पताल आउन र सामान्य अवस्थाका संक्रमितहरु होम आइशोलेसनमै बस्न समेत आग्रह गरेको उहाँको भनाई छ ।

धौलागिरी अस्पताल र बागलुङ नगरपालिकामा १ सय वटा अक्सिजन सिलिण्डर छ । केन्द्रमा थप सिलिण्डरको माग गरेको गौतमले बताउनुभयो । अक्सिजन अभाव हुन नदिनका लागि पालिका तथा प्रशासनले व्यवसायीसँग पछि फिर्ता दिने सर्तमा संकलन गरेको उहाँको भनाई छ ।

धौलागिरी अस्पताल बागलुङका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर शैलेन्द्र विक पोखरेलले अस्पतालमा अक्सिजनको समस्या आउन सक्ने बताउनुभयो । हाल संचालनमा रहेको अक्सिजन प्लान्टको क्षमता अनुसार अक्सिजन उत्पादन गरे पनि धेरै बिरामीलाई अक्सिजनमा राख्नु पर्ने हुँदा त्यसले मात्रै नपुग्न सक्ने डा. पोखरेलले बताउनुभयो ।

‘अहिले अक्सिजन प्लान्टले राम्रो काम गरि राखेको छ, यसले उत्पादन गर्न सक्ने क्षमता अनुसारको उत्पादन भइरहेको छ, तर अक्सिजन लगाउनु पर्ने बिरामीको ‘फ्लो’ बढी भएपछि अभाव हुन्छ कि भन्ने हो । त्यसका लागि सिलिण्डर भरेर ल्याउनु पर्ने हुन्छ,’ डाक्टर पोखरेलले भन्नुभयो ‘यसमा कुनै समस्या नआओस् भनेर सर्भिसिङ गर्नको लागि पनि छलफल भइरहेको छ ।’

उहाँलले अस्पतालमा स्वास्थ्यकर्मीका लागि आवश्यक स्वास्थ्य सामग्रीको अभाव हुन नदिनका लागि प्रदेश सरकारले थप सहयोग गर्नु पर्ने बताउनुभयो । ग्लब्स, माक्स, पिपिइ लगायतका सामग्रीहरु पछिल्लो समय बढी खपत भएको भन्दै यसको व्यवस्थापन गर्नु आवश्यक रहेको डाक्टर पोखरेलको भनाई छ ।

स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले बागलुङमा शव बहान नहुँदा एम्बुलेन्समा शव बोक्नु बाध्यता रहेको भन्दै अब त्यसका लागि छुट्टै गाडीको व्यवस्थापन गर्नुपर्ने बताउनुभयो । गुरौले संक्रमण बढ्दै गएपछि संक्रमितको सम्पर्कमा आएकाहरुको स्वाब परीक्षण र कन्ट्रयाक ट्रेसिङलाई तिव्रता दिएको बताउनुभयो ।

‘दिनदिनै संक्रमितहरुको संख्या बढि राखेको छ, पालिकालाई कन्ट्राक ट्रेसिङलाई बढाउनका लागि आग्रह गरेका छौँ,’ उहाँले भन्नुभयो ‘जिल्लामा अक्सिजनको अभाव हुन नदिनका लागि पालिका लाग्नु भएको छ भने आइसोलेशन निर्माणमा पनि लाग्नु भएको छ ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *