सत्ताको रसाकसीमा नेतृत्व : ओझेलमा परेको विपद् व्यवस्थापन

सरोजराज पन्त
आज विश्व कोरोना भाइरसको दोस्रो लहरको संक्रमणसँग जुधिरहेको छ । दोस्रो लहरको कोरोनाले गर्दा र्दैनिक जनजीवन कष्टकर भएको छ । यसले जीवनका हरेक क्षणमा निरन्तर प्रभाव पारिरहेको छ । दोस्रो लहर विगतको भन्दा भयावह छ तर संक्रमणलाई परास्त गर्ने उत्तम उपाय पूर्वतयारी, व्यवस्थित योजना, व्यस्थापन र स्वास्थ्य सेवा पहिले भन्दा कमजोर देखिन्छ । महामारी नियन्त्रणका लागि सुरक्षाका तयारी र उपलब्ध सेवासुविधाहरुको चुस्त व्यवस्थापनको महत्वपूर्ण भूमिका हुने भएपनि सरकारको ध्यान सावधानीका उपायहरु के , कहाँ , कसरी अपनाउने भन्नेमा भन्दा अन्यत्रै मोडियो । जनताहरु उनै नेताका गोटी बनेर नारा जुलुसमा होमिन विवश रहे । मास्क कसरी र कहाँ लगाउँदा संक्रमणबाट जोगिन सकिन्छ र अरुलाई संक्रमण फैलिँदैन भन्नेमा समेत सचेत रहन सकेनन । छिमेकी देश भारतमा उच्च जोखिम हुँदा यहाँ महामारी नियन्त्रणका उपायहरुको प्रभावकारी रुपमा ध्यान दिने र लागु गरेनौँ । भारतको पछिल्लो अवस्था र जोखिमबाट सिकेको पाठ अनुसार तयारी लाग्न ढिला भैसकेको छ ।

गत वर्षको कोरोना लहरमा भेन्टिलेटर, अक्सिजन तथा आइसियूको तुलनात्मक रुपमा धेरै आवश्यक रहेन तर अहिले भेन्टिलेटर, अक्सिजन तथा आइसियू बेडहरुको अत्याधिक आबश्यक भएको छ यद्यपि उपलब्ध हुन नसक्दा दिनहँु दर्जनौ मानिसहरुको ज्यान जाने गरेको छ । यस्तै संक्रमण फैलिन नदिनका लागि अपेक्षित चाहिने आइसोलेशन केन्द्रहरु तयारी अवस्थामा सुधार भएको देखिँदैन र भएका पनि प्रयोगमा आएका छैनन् । नयाँ भेरियन्टले विगतमा भन्दा बढी जोखिम निम्ताएको मात्र छैन जोखिम समूहमा बालबालिकाहरु खतरामा पर्दे आएकोले यो चरणमा थप सावधानी अनाउनु पर्ने देखिन्छ । लकडाउनमा बालबालिकाहरु दिनहँु घरमा रहने भएकाले अभिभावकले आफ्ना सन्तानको ख्याल गर्ने र मास्क लगाउने, पटक पटक साबुन पानीले हात धुने तथा स्यानिटाइजर प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने, जोखिम समूहका व्यतिm र परिवारका सदस्यहरुसँग टाढा बस्ने, भिडभाड कम गर्ने जस्ता आफूले अपनाएका सावधानीका उपायहरु बालबालिकाहरुलाई सिको गर्न लगाएमा कोरोना नियन्त्रणमा सहज हुनेछ ।

सबैभन्दा महत्वपूर्ण भूमिका नेतृत्व तथा राज्य तहको रहनेहुँदा सरकारले नागरिकहलाई महामारीबारे सचेत बनाउने, बुझाउँने, अति आवश्यक बस्तु तथा सेवा प्रवाह समयम गराउने र संक्रमण नियन्त्रणका प्रयासहरु अपनाउँने नअत्तालिन ख्याल गर्नु पर्नेमा जनस्वास्थमाभन्दा कुर्सी जोगाउन र कुर्सी तानातानमा सबै समय खर्चिएको छ । यस्तो भयावहको अवस्थामा सरकारले जनताका पिर मर्काका बारेमा चिन्तित र संवेदनशील हुन नसक्नु सभ्य समाज र राजनीतिका लागि कदापि हितकर हुदैन । यस्तो बिषम परिस्थितिमा सत्ता जोगाउने र फाल्ने घृणित खेलहरू जारी हुनु लोकतन्त्रमा सत्ता केवल वैध तौरतरिकाबाट मात्र सञ्चालन गर्नु पर्नेमा आफ्ना अनैतिक, अराजनैतिक, अपवित्र तथा अवैध स्वार्थको रक्षाका लागि यस्तो हर्कत हुनु विडम्वना हो । सत्ता जोगाउने वा सत्ता फाल्नको लागि बालुवाटारदेखि शीतलनिवाससम्मका गुठ उपगुठका बैठक, पार्टीका भागबण्डा र कसले कसलाई सिध्याउने भन्नेमैं सीमित हुनुले राजनीति देश बनाउने रणनीति, कला होइन एकले अर्कालाई सिध्याउन खेल बनेको देखिन्छ । कोभिड़भन्दा ठुलो समस्या कुर्शी तानातानको भयो । सर्बहारावर्गको सरकार जनहितका काममा भन्दा गुट उपगुटका कुरा, पदका कुरा, सत्ता, स्वार्थका कुरा, तेरो र मेरो मान्छे भन्ने कुरा, कसरी कुर्शी जोगाउने खेलमा पुरा समय खर्चियो । सरकारलाई जनताको चिन्ता भन्दा पार्टी कसरी फुटाउने, कुर्सी कसरी बचाउने, पद कसरी जोगाउने, आफ्ना मान्छेलाई ठेक्का कसरी मिलाउने, आफ्ना मानिसलाई कसरी उच्च ओहोदामा पु¥याउने, भ्रष्टाचारमा मुछिएका आफ्ना मानिसलाई कसरी उन्मुक्ति दिने, चुनाव हारेका आफ्ना मानिसलाई कसरी नेतृत्व पु¥याउने बिषय मात्र सरकारको प्राथमिकतामा परेकोले कोरोनाको उपचार गर्ने, खोप ल्याउने, राहतका कार्यक्रम ल्याउने बिषय ओझेलमा परेको पाइन्छ । आफुलाई समस्या परेमामात्र माइतिघरमा जनतासँग आउने अन्यथा राज्यकोशको दोहन गर्ने, चुस्ने, मोटाउने र डकार्न पाएसम्म जनता नचाइने, आम जनताको जीवनमरणको सवाल आउँदा दुला पस्ने, कतै दयामायाको हात नउठने तर सरकारमा जान र आफू अघाउन नपाउदा जनता चाहिनुले राजनीति आफु माथिजाने भ¥याङ बाहेक अरु के हुन सक्दछ ?

यो समयमा नेतृत्वकर्ताहरु उदाहरणका रुपमा प्रस्तुत भएर सावधानीका उपायहरु सर्वसाधारणसम्म पु¥र्याउनु पर्नेमा सत्ता र सरकारका लागि मरिहत्ते गर्नुले राजनीति जनताकालागि नगरेको स्पष्ट हुन्छ । यसरी सरकार र नेतृत्वले बाटो बिराउँदा यसको प्रभाव नकारात्मक रुपमा तल्लो तहसम्म परेकोमात्र छैन दिनहँु दर्जनौ सोझा जनताहरुको अमूल्य जीवन खेर गैरहेको छ । सरकार संबिधानमा भएको व्यवस्थालाई आफै कुल्चदै गएको छ । बिडम्वना अहिले देश नेतृत्वबाट खतराको तर्फ गैरहेको छ । अहिले स्वास्थ्य प्रणालीलाई चुस्त बनाएरु संक्रमण दर र क्षति न्युन गर्न सबै वल लगाउन तथा हैदसम्म सेवा प्रवाह गर्नु पर्नेमा सरकार राजनीतिक नेतृत्व अहिले गलत क्रियाकलापमा लाग्नुले महामारीको प्रभाव थप भयावह बनाउँने देखिन्छ । सर्वसाधारणहरुले उपचारका लागि बेड नपाउनु, अक्सिजन, आइसियू, भेन्टिलेटर लगायतका सेवामा सोर्स फोर्स हुनु उपलब्ध सेवा प्रवाहमा राजनीतिकरण हुनु दुखद बिषय हो ।

खोपहरुले काम गरेको भएता पनि खोपमा पहुँच धनी देशमा रहेकाले नेपाल जस्ता देशले संक्रमण विरुद्धमा सावधानीमा जोड दिनु नै उत्तम विकल्प हो । सेनाको नाम बेचेर ओम्नीको नक्कली सामान ल्याएर अरबौं नीतिगत भष्ट्राचार भयो । खोप ल्याउनको लागि कमिसनको होडबाजी भएको कारण अझै पनि खोप आयात हुन सकेको छैन । दैनिक ज्यालामजदूरी गरेर पेट पाल्नेहरूको दैनिकी जटिल भई सड़कमा एक छाक खानाका लागि लाइन लागेकोमा सरकारको नजर पुगेन । कैयौ नागरिकले उपचार वेड नपाएर, कतिपयले एम्बुलेन्स समेत नपाएर ट्याक्टरमा र कतियप हस्पिटल चहादै ज्यान गुमाए तर सरकारको ध्यान अन्यत्रै मोडिएको छ ।

नेपाल प्राकृतिक प्रकोपका दृष्टिले बहुजोखिमयुक्त क्षेत्रमा रहेकोले नेपालमा वर्षेनी आगलागी, बाढी, पहिरो, चट्याङ, भूकम्प, हावाहुरी, असिना, शीतलहर, हिमपहिरो लगायतका १२ प्रकारका प्राकृतिक प्रकोपले विपद् निम्त्याउने गरेको छ । यस्ता प्रकोपहरूलाई दुई किसिमले वर्गीकृत गर्न सकिन्छ जसमा प्राकृतिक र मानव निर्मित प्रकोपहरू रहेका छन । नेपालमा बाढी पहिरो, डुबान, भूकम्प, चट्याङ, आगलागी, शीतलहर, हिमताल विस्फोट, हिमपहिरो आदि प्रकोपबाट वर्षेनि ठूलो जनधनको क्षति हुने गरेको छ । नेपाल विश्वमा भूकम्पको जोखिमले एघारौँ, बाढीबाट क्षति पुग्ने देशहरु मध्ये तीसौँ स्थानमा र प्राकुतिक प्रकोपको हिसाबले बीसौँ स्थानमा रहेको छ । पहिरोबाट हुने मृत्युदर जोखिम सूचकमा नेपाल विश्वका १० राष्ट्रमध्ये एक र दक्षिण एसियामा सबैभन्दा उच्च जोखिम भएको मुलुकमा पर्दछ । यसका साथै महामारीले स्वास्थ्य क्षेत्रमा बर्षेनि ठूलो विपत ल्याउने गरेको छ । मौसम परिवर्तन, भूकम्प, बाढी पहिरो ,सुख्खा, आँधीबेहरी, असिना, हिमपहिरो, आगो आदि प्राकृतिक र मानव निर्मित प्रकोपहरूमध्ये उच्च हिमाल र पहाडमा पहिरो ,सुख्खा, हिमताल विस्फोट, हिमपहिरो आदि र तराईमा शीतलहर,डुबान बढि हुने गरेको छ । नेपालमा पछिल्लो चार दशकमा २२ हजार २१६ वटा प्राकृतिक विपद् का घटनाहरु भएका छन ।

कोरोनाको भयमात्र होइन यसको त्राससँगै बर्षायाम लाग्दै छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यसपालीको मनसुनका समयमा मुलुकका धेरैजसो भूभागमा सरदरभन्दा बढी वर्षा हुने आँकलन गरेको छ । यसपाली आगामी जेठ १८ देखि नेपालमा मनसुन भित्रिँदै छ । यसको अवधि असोज १४ गतेसम्म रहने जनाइएको छ । मनसुन अवधिमा सुदूरपश्चिम, कर्णाली, गण्डकी, वाग्मती प्रदशेका अधिकांश स्थानमा तथा प्रदेश नं १ को मध्य तथा पश्चिम पहाडी, हिमाली भूभागमा सदरदभन्दा बढी वर्षा हुनुकासाथै उच्च हिमाली क्षेत्रमा बढी हिउँ पर्दा हिमाली जनजीवन प्रभावित हुनसक्ने छ ।

औषतभन्दा बढी वर्षाले मुलुकमा बाढी पहिरोको सम्भावना बढी हुने भएकाले अहिलेदेखि नै सावधानी र क्षति न्यूनीकरणका कार्यक्रम तीब्ररूपमा अघि बढाउनु पर्ने मौसमविद्को सुझाव छ । गत वर्ष मनसुन सुरु भएदेखि नै भारी वर्षा हुँदा ठूलो जनधनको क्षति भएको थियो । वर्ष गतबर्ष बाढी पहिरोले क्षति पु¥र्याएको र भूकम्पले असर गरेको ठाउँ, पहाडी भूभाग र जोखिम क्षेत्र भनेर पहिचान भएको क्षेत्रमा पहिरो जान सक्ने भएकोले सम्बन्धित निकाय आजैदेखि तयारीमा जुट्न र विशेष सावधानी अपनाउनु पर्ने भएपनि यसको तयारी सुन्य नै छ ।

नेपालले कोरोना नियन्त्रण गर्न र छिमेकबाट संक्रमण आउनबाट रोक्न सम्पूर्ण प्रयास गर्नु पर्ने देखिन्छ । नेपाली जनताहरुले अहिलेको भेरियन्टको यथार्थ बुझी सरकारको मुखताकेर मात्र नबसी आफ्नो तर्फबाट गर्न सक्ने होसियारी तथा सतर्कता हरपल यथासक्य पालना गर्नु जरुरी छ । घरबाट बाहिर निस्कनु भनेको कि कोरोना लिन वा दिन जानु हो भन्ने कुरा बुझेर हरेक व्यक्तिले भौतिक दूरी कायम गर्ने, मास्क लगाउने, हात राम्ररी धुने, अनावश्यक भिडभाड नगर्ने जस्ता सावधानीका उपायहरु कडाईका साथ अवलम्बन गर्नु पर्ने देखिन्छ । लकडाउन कस्तो रहेछ भन्ने वहाना बनाएर लखरलखर घर बाहिर निस्कने बानी सबैले बन्द गर्न जरुरी छ । महामारीको पहिलो लहरमा अपनाइएका सावधानी तथा प्रतिबन्धात्मक उपायहरुबाट पाठ सिकेमा संक्रमण दर कम गर्न सकिन्छ । अहिले सरकारले सावधानीका उपायहरु अपनाउन खासै चासो दिएको पाइएन भने सर्वसाधारणसम्मले पनि सर्तक भएर सावधानीका उपायहरु अपनाएको पाइएन । बजारमा मानिसहरुको भिडभाड हेर्दा महामारी सकियो जस्तो देखियो र त्यसकै प्रभाव अहिले महामारीको दोस्रो लहरमा संक्रमण दर विगतको भन्दा तीव्र हुँदै गएको छ । परीक्षणको दायरा फराकिलो नहुँदा संक्रमित वास्तविक भन्दा कम देखिएको भएपनि गत सालको अनुपातमा परीक्षण गरेमा सख्या डरलाग्दो हुने देखिन्छ ।

विपद व्यवस्थापन र स्वास्थ्य सेवाका लागि चाहिने व्यवस्थामा अपेक्षित सुधार नभएको गुनासो बढदै गएकोले सरकार, स्वास्थ्यकर्मी र हामी सबैको एकीकृत प्रयास र राज्यको उचित व्यवस्थापकीय जिम्मेवारीबाट समस्या समाधान गर्न सकिनेहँुदा एक ढिक्का भएर लाग्न सकेमामात्र समस्यालाई जित्न सकिने छ । अत ः जीवन रक्षाका लागि अपनाउनु पर्ने सावधानीहरुमा मनोवैज्ञानिक रुपमा व्यक्ति, परिवार, समुदाय सजग बन्ने र सरकार जिम्मेवार बनेर नीतिगत तथा व्यवस्थापकीय रुपमा काम गरेमामात्र बच्न र बचाउन सकिने छ । अहिले सरकार र नियामक निकायको भूमिका थप गहन हुनु पर्नै तथा यसको लागि सम्बन्धित सरकार र सरोकारवालाले उपर्युतm कार्यक्रम बनाएर पूर्ण रुपमा कार्यान्वयन गर्न अझै पनि ढिला नहोस् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *