सम्पादकीय
कोरोना भाइरस मानव जीवनमै यति घातक भएर आयो कि सारा विश्व समुदायलाई यसले तरंगित मात्र बनाएको छैन, क्षतविक्षतको र अनिश्चयको बाटोमा जबर्जस्त हिँड्न बाध्य बनाइरहेको छ । नेपाल जस्तो विकास तर्फ पाइला अघि बढाउदै गरेको देशले त यसको नियन्त्रण र चुस्त व्यवस्थापन गर्न नसक्नु स्रोत साधन अरु धेरै विषय जोडिएर आउँला । तर, विकास, विज्ञान र प्रविधिमा फड्को मारेका विकासशील शक्ति राष्ट्रहरुले समेत कोरोना –कोभिड १९) लाई जित्न सकिरहेका छैनन् । र कोरोना भाइरसबाट आक्रान्त बनेर देश नै लकडाउन गर्न बाध्य बनेका छन् । ज्ञान बिज्ञानमा अनेकौं चमात्कार गरेका बैज्ञानिकहरु पनि कोरोना भाइरसको तिव्र संक्रमण नियन्त्रणको अचुक उपाय र औषधि पत्ता लगाउन अझै असफल छन् ।
देशका हरेकजसो जिल्ला कोरोनाले थलिएको छ । कोरोनाको उपचारका लागि तयार अस्पतालहरु भरिएका छन् । अस्पताल बेड भरिएर बाहिरै राखेर पनि उपचार भइरहेका छन् । समाजमा भुसको आगो जस्तै कोरोना फैलिँदो क्रममा छ । खासगरी वैशाख महिनाको शुभ समय छोपेर गरिएका बिबाह, व्रतबन्ध, चौरासी पुजा लगायत सामाजिक संस्कारजन्य क्रियाकिलाप अहिले कोरोना संक्रमण तिव्र बृद्धि हुनुको मुख्य कारण देखिएको छ । यो अझै रोकिएका छैनन् । नेपाल सरकारले बढीमा ७ जना सहभागी भएर बैबाहिक कार्यक्रम गर्ने भने पनि ठुलो संख्यामा जन्ती, भोज भतेर सहितका कार्यक्रम भइरहेका छन् । अर्को तर्फ सरकारले समयमै कोरोना भयावहको यस्तो जोखिमबारे विश्लेषण गरेर चुस्त पूर्ववत योजना तयार गर्ने र काम गर्नेमा बेवास्ता गरिरह्यो । बरु सरकार जोगाउने कसरतमै केन्द्रित रह्यो । सरकारलाई आफ्नो जिम्मेवारीका लागि रखबारी गर्ने विपक्षी दल पनि सरकार गिराउने खेलमै अभिसप्त रहे ।
अब जुन रफ्तारमा कोरोना संक्रमण दर बढेको छ । यही अवस्था केही दिन मात्रै कायम रहे पनि अस्पतालहरुले संक्रमितको उपचार धान्न नसक्ने अवस्था आउनेछ । अहिले पनि कतिपय अस्पतालहरुले अक्सिजन सिलिण्डरको अभावमा उपचार गर्न नसक्ने भन्दै हात उठाउने बताइरहेका छन् । पछिल्लो केही दिन यताको परिदृश्य हेर्ने हो भने पनि कोभिडको लक्षण सहितका बिरामी धेरै छन् । अधिकांशमा श्वास प्रश्वासको समस्या छ । समयमै अक्सिजन, आइसियू र उपचारको अभावमा कैयनले अमुल्य जीवन गुमाइसकेका छन् । अहिले पनि अक्सिजन, आइसियू र उपचार नपाएर जनता छटपटाइरहेका छन् । तर, राजनीतिक दल र नेताहरु सत्ताका लागि छटपटाहटमा देखिरहे । बिद्यमान महामारीबाट उनीहरु बेखबर जस्ता देखिन्छन् । अस्पतालहरु पुग्दा जनताको पीडा, छटपटि नदेख्ने आँखा र क्रन्दन नसुन्ने कान लिएर हाम्रा सरकार र नेताहरु बेप्रवाह बाँचिरहेका देखिन्छन् । यो दुर्भाग्यपूर्ण परिदृश्यका बिच अब सरकार यो महामारीमा जनतालाई थप आहत होइन, अक्सिजन र उपचार दिन गम्भीरतापूर्वक लागोस् ।