सम्पादकीय
निर्माण व्यवसायी यो मुलुक निर्माणका लागि अपरिहार्य पात्र हुन् । यो व्यवसाय कुनै व्यक्ति, समूहसँग नाफा घाटाको हिसाव किताव त हुन्छ । र त्यो भन्दा धेरै आम मानिससँग चासो र सरोकार राख्ने व्यवसाय पनि हो । निर्माण व्यवसाय कुनै खास मानिससँग होइन, आम मानिससँग सरोकार राख्छ । उसले गर्ने कार्यले अल्पकाल र दीर्घकाल सम्म महत्व राख्छ । कमसल काम गरे त्यसले करोडौं घाटा र आम नागरिकले ठुलो सास्ती र सकस बेहोर्नुपर्ने परिस्थिति सिर्जना हुन्छ । गुणस्तरयुक्त काम भए त्यसले समाज र राष्ट्रको विकास र समृद्धिमा उल्लेख्य टेवा दिन्छ । तर, निर्माण व्यवसायी अर्थात ठेकेदारको परिचय र छवी हामीकहाँ उति राम्रो छैन । ठेकेदार भन्ने वित्तिकै एक खालको अपराधी, ठगदार जस्तो मानिसहरुले बुझ्छन् । आखिर किन ?
निश्चय हो, ठेकेदार अपराधी कदापी होइन, तर ठेकदारका अधिक कार्यशैली र गतिविधिले अपराधी होइनन् र हुन सक्दैनन् भन्ने सकरात्मक दावी र अडान कमजोर बन्ने गरेको छ । यस्तो किन त ? यसका केही सवाल र उदाहरणहरु हेर्दा अझ प्रष्ट हुन सक्छ । जिल्ला प्रशासन कार्यालय बागलुङ, जिल्लामा भए गरेका कामको समग्रतामा रखबारी गर्ने, ढिलासुस्ती, लापरवाही भए कारबाही समेत गर्ने अर्धन्यायिक अधिकार सहितको कार्यालय । जसको आँफ्नै भवन बर्षौदेखी अलपत्र छ । ठेकेदार सम्पर्कविहिन जस्ता देखिन्छन् । पटक पटक मिडियाले खबरदारी गर्दा केही गरे जस्तो आवरणमा देखिन्छ । अवस्था र प्रवृत्ति ठेकेदारको पुरानै दोहोरिरहेछ । र त प्रशासन भवन आजको दिन सम्म अलपत्र उभिएरै स्वयम् निर्माणाधिन भवन अघि भाँडामा लिएको प्रशासन कार्यालय र सिडिओ सापलाई गिज्याइरहेछ । प्रशासन भवन मात्र होइन, मध्यपहाडी लोकमार्गको बागलुङ-बिहुँ खण्ड किन बर्षौदेखि अलपत्र छ ? अहिले पनि किन ठेकेदार गुमनाम जस्ता छन् ? यता धौलागिरी अञ्चल अस्पतालको निर्माणाधिन भवनले पनि ठेकेदारको चरम लापरवाहीलाई झल्काउँछ । सी ब्लक भवनको ठेकेदार कहाँ छन् ? अहिले पनि अस्पताल प्रशासन र व्यवस्थापन समिति बेखबर छन् । यी त प्रतिनिधि घटना मात्र हुन् । यस्ता अलपत्र योजनाका दृश्य र कथा शहरदेखि गाउँ सम्म छन् । स्थानीय सरकारका योजना तुलनात्मक रुपमा कार्यन्वयनमा सफल देखिए पनि प्रदेश र केन्द्र सरकार मातहतका योजनाको दुर्दशा बढ्दो छ । प्रदेश र संघीय सरकारको बजेट रहेका योजनामा कामै नगरी रकम सक्ने प्रवृत्ति बाक्लिदो छ । यस्ता योजनामा स्थानीय तहसँग कुनै समन्वय गरेको पनि देखिदैैन । यसले पनि ठेकेदारहरुको मनपरीलाई प्रोत्साहित गरेको छ ।
अहिले अलपत्र योजना/आयोजनाका बारेमा जति उदेक लाग्दा अवस्था देखिन्छन् । यसले समग्र ठेकेदार खराब छन् भन्ने निष्कर्ष र सन्देशका हिसावले हामीले भन्नु र कदापी बुझ्नु हुँदैन । तर, ठेकेदार भन्ने वित्तिकै पप्पु कन्ट्रक्सनका जस्ता खराब उदाहरण मात्र किन छरपष्ट देखिन्छ ? किन राम्रा उदाहरण दुर्लभ देखिन्छ ? यसमा ठेकेदार अर्थात निर्माण व्यवसायीहरु बीच पनि गम्भिर छलफल र बहस आवश्यक छ । व्यापक ढिलासुस्ती र लापरवाहीले निर्माण व्यवसाय र व्यवसायी दिन प्रतिदिन बदनामित छन् । यस्तो बदनामीले निर्माण व्यवसायलाई राम्रो गर्दैन । समाज र मुलुकलाई पनि राम्रो गर्दैन । ठेकेदार बदनामीको कारण स्वयम् ठेकेदार मात्र होइनन्, राजनीतिक दल, नेता, कर्मचारीतन्त्रको पनि पर्दा पछाडीको अनावश्यक बार्गेनिङको चर्चा उत्तिकै छ । काम गरे पनि अनेक बाहना र तर्कना गरेर निकासामा गर्ने ढिलाईले पनि काम प्रभावित हुने गरेको गुनासो छ । यस्तो बिषयमा निर्माण व्यवसायीले पनि अब उपभोक्ता माझ प्रष्ट भन्न सक्नुपर्छ । र अहिले व्याप्त ठेकेदार बदानामीको श्रृंखला कार्यशैलीबाटै रोक्न तर्फ अग्रसर हुनुपर्छ । राज्य र तिनका निकायले पनि परिमार्जित ऐन नियमको प्रभावकारी कार्यन्वयनमा लाग्नु पर्दछ । तब मात्र योजना र विकासले तिब्र नतिजा दिने अवस्थामा पुग्न सक्नेछौ ।