बागलुङमा विवाहले फैलियो कोरोना

आदर्श अनलाइन, बागलुङ
बागलुङमा अहिले संक्रिय संक्रमितको संख्या ७ सय २५ पुगेको छ भने २२ जनाको मृत्यु भएको छ ।
एक हप्ता अघिसम्म जिल्लामा संक्रिय संक्रमितको संख्या एक सय सेरोफेरो थियो । अहिले संक्रमितको संख्या ह्वात्तै बढ्नुको कारण सरकारको निर्देशन विपरित भिडभाड र जमघट भएको स्वास्थ्यकर्मी बताउँछन् ।

वैशाख महिना लगनको महिना भएकाले अधिकांशले धुमधाम सँग बिबाह गर्ने, चौरासी पुजा गर्ने तथा अन्य सामाजिक संस्कारजन्य भोज भतेर गर्ने क्रम तिव्र थियो । जसका कारण नै संक्रमण दर डरलाग्दो अवस्थामा पुगेको हो ।

वैशाखको दोस्रो साता बडिगाड गाउँपालिका–४ मा भोज सहितको बिबाह सम्पन्न भएको थियो । संयोग या लेखान्त, त्यसको केही दिनमै कोरोना संक्रमण पुष्टि भएर धौलागिरी अस्पतालमा उपचारकै क्रममा रहेका बेला बैशाख २३ गते बिबाह भोज गर्ने परिवारका मुख्य अभिभावकको मृत्यु भयो । परिवारका अन्य सदस्य पनि संक्रमित भएका छन् । थप सहभागीको पिसिआर गर्दा ३१ जनाको स्वाब लिइएकोमा २५ जनामा संक्रमण पुष्टी भयो । यसले संक्रमण बढाउने कारण बिबाह रहेको पुष्टी समेत गर्दछ ।

अन्ततः कोरोनाकै कारण बडिगाडका एकै परिवारका तीन जनाको मृत्यु भएको छ । संक्रमणबाट बाबाको मृत्यु भएको एक साता पछि दुई छोराको संक्रमणकै कारण मृत्यु भएको हो । यसको कारण दोस्रो साता आयोजना गरेको विवाह भोज नै रहेको स्थानीय समेत बताउँछन् ।

धौलागिरी अस्पतालमा उपचारत बडिगाड गाउँपालिका–४ का ४० वर्षको पुरुषको बिहीबार राती मृत्यु भयो, मृतकका बुबाको यस अघि धौलागिरी अस्पतालमा ८७ वर्षको उमेरमा यही वैशाख २३ गते उपचारका क्रममा मृत्यु भएको थियो भने उहाँकै परिवारको अर्को छोराको उपचारका क्रममा पोखरामा बिहीबार रातीनै मृत्यु भएको छ ।

उहाँकै परिवारको ५२ वर्षको पुरुषको पोखरा स्थित गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको छ । अधिकांश संक्रमित भिडभाडमा गएको र स्पास्थ्य सुरक्षा मापदण्ड नअपनाएका काराण बडिगाडको चार नम्बर वडामा अत्याधिक संक्रमणको दर बढेको बडिगाड गाउँपालिका स्वास्थ्यशाखा संयोजक चुडामणी कंडेलले बताउनुभयो ।

यद्यपि, सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न गराउन स्थानीय प्रहरी प्रशासन सक्रिय थियो । यस क्रममै लापरवाही गरेको भन्दै बिबाहमा धेरै जन्ती लगेपछि बागलुङ नगरपालिका–८ सिगानाबाट वैशाख २२ गते बेहुलाको बुबा सहित जिल्ला प्रहरी कार्यालयले जन्ती गएको तीन सवारी नियन्त्रणमा लिएको थियो ।

७ जनामात्रै बिबाहमा सहभागी गराउन पाइने व्यवस्था सरकारले गरेको छ । तर, दुलाह पक्षले झण्डै तीन सय जन्ती लगेको थियो । त्यसपछि सिगानामा केही मानिसमा कोरोना भाइरसको लक्षण देखिएकोले स्वाब संकलन गर्दा ९० प्रतिशत विवाह, भोज भतेर तथा पूजाआजामा सहभागी भएकोमा कोरोना देखिएको बागलुङ नगरपालिका–८ सिगानाका वडा अध्यक्ष राजन जिसीले बताउनुभयो ।

सिगानामा शनिबार आएको रिपोर्ट अनुसार २६ जनाको परीक्षणमा १५ जनामा संक्रमण फैलिएको छ । “जिल्लामा संक्रमणको दर तिब्र रुपमा फैलनुमा बिबाह, भोज भतेर तथा पुजाआजा हो” जिसीले भन्नुभयो “सरकारले मात्रै गरेर हुँदैन, नागरकि सचेत नभए संम्म समस्या हुन्छ, राज्यको नियम उल्लङ्घन हुन्छ ।”

जिल्लाको ताराखोलामा समेत बिबाह भोजकै कारण कोरोना बढी फैलिएको पाइएको छ । जिल्लामा कोरोनाको दोस्रो लहर शुरु भएर संक्रमण तिव्र फैलिन थालेपछि आगामी जेष्ठ १५ सम्म् निषेधाज्ञा गरिएको छ । कोरोना बढ्नुको मुख्य कारण सामाजिक संस्कारजन्य कार्य भएकाले अब सबै सचेत र गम्भीर बन्नुपर्ने प्रमुख जिल्ला अधिकारी शिव कुमार कार्की बताउनुहुन्छ ।

‘राज्यका तर्फबाट प्रशासनका तर्फबाट कोरोना संक्रमण फैलिँदो क्रममा छ, स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरिदिनुस् भनेर बारबार निर्देशन र अनुरोध गरिरह्यौ तर नागरिकले बेवास्ता र लापरवाही गर्दै भिडभाड हुने कार्य गरेकैले अहिले डरलाग्दो अवस्था आएको छ,’ प्रजिअ कार्कीले भन्नुभयो, ‘अब जेठ १ गतेदेखि बिबाह घरमै सिमित राख्न निर्देशन गरिएको छ,अटेरी गरेमा तुरुन्तै कारबाही गरिनेछ ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *