धौलागिरी अस्पतालले भन्यो-‘अक्सिजन अभावको खतरा भो’

आदर्श अनलाइन,बागलुङ

धौलागिरी अस्पतालमा अक्सिजन अभाव हुन थालेको छ ।

कोरोनाको दोस्रो लहरको नयाँ भेरियन्टसँगै कोरोना संक्रमण दर तिव्र बढ्दा धौलागिरी अस्पतालमा अहिले लक्षण सहितको गम्भीर अवस्थाका ३५ र इर्मजेन्सी कक्षमा समेत ५ जना गरि ४० जना कोरोना संक्रमित उपचाररत छन् ।

दुई वर्ष अघि मात्र अक्सिजन प्लान्ट जोडिए पनि उत्पादन भएको अक्सिजन भर्ने उपकरण नभएकाले सिलिण्डर पोखराबाट भरेर ल्याउनु पर्दा अक्सिजनको अभाव भएको धौलागिरी अस्पतालले जनाएको छ ।

अहिले धौलागिरी अस्पतालमा १२ देखि १५ मिनेटमा एक सिलिण्डर खपत भइरहेको छ । अस्पतालमा ८० सिलिण्डर छ । अक्सिजन प्लान्ट भए पनि भर्ने उपकरण अभावमा पोखरा पठाउनु पर्ने बाध्यताले तत्कालनै अक्सिजनको अभाव हुन थालेको धौलागिरी अस्पताल बागलुङका मेडिकल सुपरिटेण्डेन्ट डा.शैलेन्द्र बि पोखरेलले बताए । ‘हिजोदेखी अस्पतालमा अक्सिजनको अभाव हुन थालेको छ, पोखरामा सिलिण्डर भर्नका लागि दैनिक ४/५ वटा गाडी पठाइरहेका छौ,’ डा.पोखरेलले भने, ‘हाम्रा चालकहरुले पोखरा भ्यालीमै केन्द्रित गर्न थालेकाले हामीलाई ढिलाई गरेर दिन थालियो भन्छन्, यहाँ उपचाररत बिरामीलाई अक्सिजन अभाव हुने जोखिम बढ्यो, पर्वत र म्याग्दीबाट समेत अक्सिजन सिलिण्डर लिएर समेत काम चलाइरहेका छौ ।’

धौलागिरी अस्पतालका लागि पठाइएका अक्सिजन सिलिण्डरमा कालीगण्डकी अक्सिजन सप्लायर्स पोखराले भरेर उपलब्ध गराउँदै आएको छ । खोली सिलिण्डर लैजाने र त्यही ल्याएर जोड्ने गरेर काम चलाउँदा समस्या भइरहेको उनको भनाई छ । ‘अहिले अस्पतालमा भर्ना भएका सबैजसो बिरामीलाई अक्सिजनकै आवश्यक देखिएको छ,’डा.पोखरेलले भने, ‘हामी चरम तनावमा छौ, यो बेला सबै तिर अक्सिजन सिलिण्डरको अभाव त छ नै, यहाँ निरन्तर आइरहेको पनि आउन कम हुँदा समस्या भएको हो, यसबारे सम्बन्धित निकाय सबैमा खबर गरिसकेका छौ ।’

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका आपुर्ति बिभाग प्रमुख खिमबहादुर खड्काले धौलागिरी अस्पतालमा अक्सिजनको अभाव हुन नदिने बताए । ‘हामीले निरन्तर यहाँ आएका सिलिण्डर भरेर पठाइरहेका छौ,अहिले देशव्यापी रुपमा अक्सिजनको अभाव छ,’ खड्काले भने, ‘हामीले प्रदेशका सबै जिल्लामा सन्तुलित हिसाबले अक्सिजन पु¥याउनु पर्नेछ । यसक्रममा केही ढिला भएको हुन सक्छ, हामीले यथासक्य अक्सिजन पठाउन आवश्यक पहल र समन्वयात्मक भूमिका खेलिरहेका छौ ।

गण्डकी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले धौलागिरी अस्पतालमा २०७६ साल पुसमा अक्सिजन प्लान्ट स्थापना गरेको थियो । अक्सिजन प्लान्टमा उत्पादन भएको अक्सिजन सोझै अस्पतालमा रहेको बिरामीको बेडमा पाइप लाइनबाट पुग्ने भए पनि अक्सिजन सिलिण्डरमा भर्न नमिल्दा समस्या छ ।

पाइप लाइनबाट खपत भएर रहेको अक्सिजन सिलिण्डरमा भर्न सकेको खण्डमा कोरोना महामारीमा अक्सिजनको अभाव टार्न मद्दत पुग्ने भए पनि अक्सिजनको ‘फिलिङ सिस्टम’ नहुँदा अस्पतालको अक्सिजन प्लान्टमा उत्पादन भएको आधा जस्तो अक्सिजन खेर गइरहेको छ ।

धौलागिरी अस्पताललाई १ सय शैयाको कोभिड अस्पतालको रुपमा विकास गर्ने गण्डकी प्रदेश सरकारले निर्णय गरिसकेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *