सम्पादकीय
धौलागिरी क्षेत्रको आशा भरोसाको केन्द्र अर्थात् अस्पताल हो धौलागिरी अस्पताल । साविक धौलागिरी अञ्चल अस्पताल अहिले नयाँ संघीय संरचनामा गए पछि धौलागिरी अस्पताल मात्र बनेको छ । र यो केन्द्र सरकार मातहतबाट अहिले गण्डकी प्रदेश सरकार मातहतमा आएको छ । गण्डकी प्रदेश सरकारका धेरै शैयाका अस्पताल मध्येमा धौलागिरी अस्पताल सूचिकृत छ । यस अस्पताल केही वर्ष अघि सम्म रेफर सेन्टरको रुपमा आलोचित थियो । साविक धौलागिरी अञ्चलका बागलुङ, पर्वत, म्याग्दी,मुस्ताङका बिरामी आए भने अधिकांश पोखरा रेफर हुन्थे पनि । किनकि यहाँ दरबन्दी अनुसारको विशेषज्ञ चिकित्सक देखि सुविधा सम्पन्न उपकरण समेत थिएनन् । पछिल्लो केही वर्ष यता अस्पतालमा उल्लेख्य कायापलट आएको छ । अस्पतालको भौतिक पुर्वाधार सुधारमा मात्र होइन, अस्पताल उपकरण, जनशक्ति र अरु व्यवस्थापनका हिसाबले पनि धेरै अघि बढेको छ । पछिल्लो समय कोरोना भयावह सुरु भए यता धौलागिरी अस्पतालले रोकथाम, नियन्त्रण र उपचारका लागि खेलेको भूमिका अझ बढी स्मरणीय छ ।
धौलागिरी अस्पतालले संकटमा यसकारण पनि आम नागरिकको मन र विश्वास जितिरहेको छ कि गत वर्ष विश्वव्यापी कोरोना महामारी भर्खर नेपाल प्रवेश गर्दै थियो । प्रारम्भिक चरणमै नेपालको पाँचौ र छैठौं संक्रमित बागलुङकै बने । त्यो बेला कोरोनाको यति भयावह थियो कि संक्रमित भएको जिल्लाबाट आउन नदिने भनेर छिमेकी जिल्ला म्याग्दीले रुख नै ढालेर सडकमै रोक लगाउने, एम्बुलेन्स चालक भाग्ने गर्दा पनि अस्पतालले संक्रमितको उपचार गरेको थियो । दोस्रो चरणको कोरोनाको नयाँ भेरियन्टले पहिलेकै जस्तो अवस्था छैन । अहिले अझ जटिल र कठीन प्रकारका बिरामीहरुले अस्पताल भरिभराउ भएका छन् । त्यसमा पनि श्वास प्रश्वासका समस्या भएका बिरामीहरु अधिक छन् । धौलागिरी अस्पतालमा पनि सबैजसो बिरामीलाई अक्सिजन मार्फत उपचार गर्नुपर्ने अवस्था छ । तर, शनिवारदेखि धौलागिरी अस्पतालमा अक्सिजन अभाव हुन थालेको अस्पतालले बताइरहेको छ । हुन त २०७६ साल पुसमा गण्डकी प्रदेश सरकारले ठुलो लगानीमा अक्सिजन प्लान्ट जोडेको थियो । जसको पाइपलाइनबाट बिरामीले सिधै अक्सिजन प्राप्त गर्ने सुविधा अस्पतालमा छ । यद्यपि, अहिले पनि उत्पादन भएको अक्सिजन भर्ने उपकरण अभाव छ । अक्सिजन सिलिण्डर पोखराबाट भरेर ल्याउनु पर्ने बाध्यता छ ।
धौलागिरी अस्पतालमा ३५ जना कोभिड आइसोलेशन र इर्मजेन्सी कक्षमा ५ जना गरि ४० जना कोरोना संक्रमित उपचाररत छन् । अक्सिजन नभए उनीहरुको उपचारमा पनि जटिलता आउने जोखिम एकातर्फ छ भने अर्को तर्फ थप आउने बिरामीलाई राख्न अस्पतालमै १ सय बेडको कोभिड आइसोलेशन तयार गर्ने गण्डकी प्रदेश सरकारले निर्णय गरेको छ । अब थप बेड अनुसार अक्सिजनको आपुर्ति गर्ने चूनौति छ । अहिले पोखरा केन्द्रित र पहुँच भएकाहरुले अक्सिजन सिलिण्डर आफ्नो जिल्लामा लैजाने होड छ । यसमा यहाँको बस्तुगत आवश्यकता र परिस्थिति अनुसार ल्याउन अस्पताल प्रशासन, व्यवस्थापन, सांसद, जनप्रतिनिधिले विशेष पहल र भूमिका समयमै खेल्नुपर्ने देखिएको छ । यो निकै संवेदनशील विषय हो । यसमा थोरै मात्रा पनि तलमाथि भयो र समयमै समन्वय व्यवस्थापन हुन सकेन भने अस्पतालमा गम्भीर संकट र परिदृश्य देखा पर्नेछ, स्वास्थ्यकर्मीले उपचारबाट हात उठाउनेछन्, त्यसपछिको अवस्था अझ भयावहको हुनेछ । समयमै सबैको ध्यान पुगोस् ।