धौलागिरी अस्पताललाई २५ थान अक्सिजन शिलिण्डर, अक्सिजन कन्सन्ट्रेटर र स्वास्थ्य उपकरण हस्तान्तरण


–एसके जिएम, बागलुङ
धौलागिरी अस्पताल बागलुङलाई नेपाल सरकारको तर्फबाट २५ थान अक्सिजन शिलिण्डर सहित स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।

धौलागिरी अस्पतालमा संक्रमित विरामीको उपचारका लागि अक्सिजनको कमी नहोस भन्नका लागि चिनबाट आएको खाली अक्सिजन भरेर २५ थान अक्सिजन सहितका शिलिण्डर, दुई थान अक्सिजन कन्सन्ट्रेटर, पिपिई, माक्स, ग्लोब्स, अक्सोमिटर लगायतका स्वास्थ्य सामाग्री संघीय सांसद डा. सुर्य पाठकले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी राना मगरलाई सोमबार हस्तान्तरण गर्नुभएको छ ।

अस्पतालमा संक्रमितको संख्यामा वृद्धि भएसंगै अस्पतालको अक्सिजन प्लान्टले उपचारमा थाम्न नसकेपछि अहिले शिलिण्डरको आवश्यकता रहेको छ । अस्पतालमा अहिले दैनिक ८० अक्सिजनका शिलिण्डर खपत भइरहेको भन्दै नेपाल सरकारको तर्फबाट पहिलो चरणमा २५ अक्सिजन शिलिण्डर हस्तान्तरण गरिएको डा. पाठकले बताउनुभयो । उहाँका अनुसार गण्डकी प्रदेशबाट थप स्वास्थ्य सामाग्री र चीनबाट पुरै शिलिण्डर आयात भएमा ५० भन्दा बढी अक्सिजन शिलिण्डर अस्पताललाई पठाइने बताउनुभयो ।

अस्पतालमा अहिले १२८ वटा अक्सिजनका शिलिण्डर रहेको र विरामी बढ्दै जादा थप अक्सिजन आवश्यक पर्न अस्पतालले जनाएको छ । ८० अक्सिजन शिलिण्डर भएको अस्पतालमा सहयोगी तथा विभिन्न उद्योगबाट सहयोगमा प्राप्त गरी १२८ पुगेको हो ।

कार्यक्रममा विद्युतबाट अक्सिजन उत्पादन गर्न सक्ने दुई थान अक्सिजन कन्सन्ट्रेटर प्रदान गरिएको थियो । अक्सिजनको अभावमा विद्युतीय अक्सिजन उत्पादन गर्ने उपकरण निकै प्रभावकारी समेत हुदै आएको छ ।

नेपाल सरकारको तर्फबाट सांसद डा. सुर्य पाठकले २५ थान भरिएका अक्सिजन शिलिण्डर, डिजिटल थर्मोमिटर ९ थान, थर्मल गन १० थान, अक्सिजन कन्सन्ट्रेटर दुई थान, पल्स अक्सोमिट ५ थान, गाउँन सय थान, एन ९५ माक्स सय थान, सर्जिकल माक्स एक हजार ५०० थान, ग्लोब्स सय थान र सेफ्टी चस्मा ५० थान हस्तान्तरण गर्नुभएको छ । डा. सुर्य पाठकको संयोजनमा तत्तकालै अस्पतालमा अक्सिजन सहित स्वास्थ्य सामाग्री आएको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *