सम्पादकीय
खाडी भन्न साथ आर्थिक अवस्था मध्यम र कमजोर भएका मानिसहरु जाने गन्तव्य बुझ्ने प्रचलन छ । हुन पनि आर्थिक अवस्था धेरै नै कमजोर भएकाहरुले छिमेकी देश भारतलाई गन्तव्य बनाइरहेका छन्, जहाँ जान भिसा समेत लिनु पर्दैन । मध्यम र न्युन आर्थिक अवस्था भएका तर धेरथोर ऋण धन गरेर भए पनि विदेश जान सक्नेहरु मात्र खाडी मुलुक जाने गरेका छन् । विदेश जाने पनि एक किसिमको बर्ग बिभाजित देखिन्छ । आर्थिक रुपमा सबल भएकाहरु भने विकसित देशहरु अमेरिका, युरोप, जापान लगायतका देशमा जाने गरेका छन् । कोरोना भाइरस (कोभिड १९)को संकटमा विश्वभर पुगेका नेपाली आक्रान्त छन् । तर, यही संकटमा नेपाल र नेपालीलाई कोरोना बिरुद्ध लड्न भने विकसित देश पुगेका प्रवासी नेपाली भन्दा एक कदम अघि बढेर खाडी मुलुक पुगेका नेपालीले सघाएका छन् । जसको प्रत्यक्ष अनुभूति गण्डकी प्रदेश, धौलागिरी अस्पताल र धौलागिरीबासी सम्मले गर्दैछन् ।
अहिले नेपालमा गम्भीर कोरोना संक्रमितको उपचारका लागि अक्सिजनको चरम अभाव छ । अक्सिजन सहितको उपचारकै अभावमा कतिले अमूल्य ज्यान गुमाउन विवश भइसकेका छन् । अझै कति अस्पतालकै बेडमा छटपटाइरहेका छन् । यो मानव सभ्यताकै कठीन संकट हो । जो नेपाल र नेपालीले यतिबेला कठोर रुपमा बेहोर्नु परिरहेको छ । यस्तो बेलामा सरकारको एकल प्रयासले मात्रै कोरोना रोकिने अवस्था छैन । त्यसैले हर व्यक्ति, क्षेत्र र निकायको सहयोग र जिम्मेवारी जरुरी छ । यही जिम्मेवारीबोध गरेर खाडी मुलुक (कतार, बहराइन, ओमान, युएई, कुवेत, साउदी अरब)बाट नेपालीले पठाएका ५६० थान अक्सिजन सिलिन्डर पठाएका छन् । ती सिलिन्डर सुदूरपश्चिम प्रदेशमा एक सय थान, कर्णालीमा एक सय थान, लुम्बिनीमा दुई सय थान ,प्रदेश २ मा ८५ थान र गण्डकी प्रदेशमा ७५ थान अक्सिजन सिलिन्डर वितरण समेत गरिएको छ । ओमानको राजधानी मस्कटबाट मध्यपूर्वमा रहेका गैरआवासीय नेपालीले सहयोग जुटाइ उक्त सिलिन्डर नेपाल पठाएका थिए । नेपालमा यस अघिका विपत्तिका बेलामा पनि एनआरएनले आर्थिक लगायत विभिन्न सहयोग गर्दै आएको छ ।
यो कठीन संकट हो । अदृश्य भाइरसविरुद्धको लडाइँ सबै नेपाल एकतावद्ध भएर मात्रै जित्न सकिन्छ । यसको मर्म र सन्देश अहिले खाडी मुलुकका नेपालीले आफ्नो पसिना मिश्रित पैसाबाट कठीन समयमा अक्सिजन सिलिण्डर खरिद गरेर पठाएकोबाट थप प्रष्ट भएको छ । खाडीबाट यो संकटमा पठाएको अक्सिजनले केबल लाश बोकेका बाकस मात्र आउँदैन, जिविका चलाउने रेमिट्यान्स मात्र पनि आउँदैन, नेपालीजनको आयु थप्ने जीवनबुटीको रुपमा अक्सिजन सिलिण्डर पनि आउँछ भन्ने प्रेरक कर्म खाडीका नेपालीले दिएका छन् ।यसबाट उनीहरु प्रति हेर्ने दृष्टिकोण र सम्मानमा पनि अवश्य बदलाव आएको छ । चर्को घाम खेपेका अरुबेला लाखौं करोडौ एनआरएन चुनाव या अरु काममा सहयोग र खर्च गरेकाहरु अहिले गुमनाम जस्ता देखिन्छन् । यसबेलामा सबैको भूमिका र सहयोग देशले खोजिरहेको छ । जजसको जे हैसियत, क्षमता र योग्यता छ, सोही अनुसारको सहयोग र भूमिका सबैले गरौ । देश भित्र र देश बाहिर भएका सबै नेपाली जुटेर सहयोगी हातहरू फैलाऔँ र बारबार सकस दिइरहेको कोरोनालाई परास्त गरौ ।