कोरोनासँग जुध्न धौलागिरी अस्पताललाई तीन करोड बजेट

आदर्श अनलाइन, बागलुङ

कोरोना संग जुध्नका लागि बागलुङको धोलागिरी अस्पतालललाई संघीय सरकारले रु. तीन करोड विनियोजन गरेको छ । धौलागिरी अस्पतालमा आइसियु, भेन्टिलेटर, अक्सिजन प्लान्ट, अक्सिजन ट्याङ्क लगायतका कार्य गर्नका लागि तीन करोड बिनियोजन गरेको अर्थ मन्त्रालयले जनाएको छ ।

कोभिड–१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि अस्पतालहरुको क्षमता अभिवृद्धि र स्वास्थ्य सामग्रीका लागि अर्थ मन्त्रालयले छुट्टाएको ४ अर्ब ३१ करोड ८५ लाख ६० हजार रुपैयाँको स्रोत सुनिश्चितता संगै धौलागिरी अस्पतालमा तीन करोड बजेट विनियोजन भए पछि धौलागिरीबासी उत्साहित भएका छन् ।

मन्त्रालयका अनुसार देशका २६ वटा केन्द्रीय अस्पताल र ९ वटा प्रादेशिक अस्पतालमा भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन ट्यांकका लागि २ अर्ब ९५ करोड २० लाख रुपैयाँको सहमति दिइएको अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाका शाखा अधिकृत किरण पौडेलले जानकारी दिनुभयो । अर्थ मन्त्रालयले द्रुत कार्ययोजना सम्पन्न गर्नका लागि बजेट विनियोजन गरेकाले कार्यान्वयनमा ढिलाई नहुने पौडेलको भनाई छ ।

यस्तै केन्द्रीय र प्रदेशिक गरी २५ वटा अस्पताललाई एचडीयू स्थापनाका लागि १ अर्ब ३६ करोड ६५ लाख ६० हजार रुपैयाँको सहमति दिएको छ । कोभिड–१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि आवश्यक सबै उपाय अबलम्बन गर्ने नीति अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको माग अनुरुप अर्थ मन्त्रालयले स्रोत सुनिश्चित गरेको जानकारी गराएको छ ।

धौलागिरी अस्पतालमा कोरोनाका बिरामीको तिव्र चाप बढ्दै गइरहेको बेला तीन करोड बजेट विनियोजन भएको र तत्काल काम अघि बढाउन सके ठूलो राहत हुने धौलागिरी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी राना मगरले बताउनुभयो ।

“सरकारले बजेट विनियोजन गरि कोरोना महामारी संग जुध्न सहजता प्रदान गर्नेछ” राना मगरले भन्नुभयो “बजेटको कार्यान्वयन र खरिद प्रक्रिया छोटो बनाएर ततकालै सेवा थप गर्ने गरि काम गर्न आवश्यक छ, त्यसका लागि खरिद प्रकृयामा स्वास्थ्य मन्न्त्रालयको ध्यान पुगोस् ।” धौलागिरी अस्पतालमा अहिले ४० संक्रमितको उपचार भइरहेको छ । जिल्लामा अहिले ८ सय सक्रिय संक्रमित छन् ।

अस्पतालमा तीन आइसीयू, दुई भेन्टिलेटर सहित ३५ वेडको आइसोलेसन छ । तर, ४० संक्रमितलाई उपचार गर्दा समस्या भएपछि क्षमता विस्तार र पूर्वाधार थप गर्न गण्डकी प्रदेश सरकारको सामाजिक मन्त्रालयले समेत ६० लाख रकम विनियोजन गरेको छ । संघीय सरकारले पठाएको बजेटले अस्पतालमा आइसीयु, भेन्टिलेटर तथा शैया थप हुनेछ भने अक्सिजन जम्मा गर्न सकिने ट्याङ्क समेत निर्माण हुने छ । बजेट विनियोजन अनुसार खरिद प्रकृया थाल्ने तयारीमा अस्पताल छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *