गाउँमा परीक्षण र उपचारको दायरा बढाउ

सम्पादकीय
कोरोना भाइरस (कोभिड १९) को भयावह अहिले शहर हुँदै गाउँ छिरेको छ । कोरोना संक्रमणको दोस्रो लहर नयाँ भेरियन्ट सहित आउँदै गर्दा भारत लगायतका देशका बिभिन्न शहरबाट घर फर्कने संख्या उल्लेख्य रह्यो । उनीहरु यात्राकै क्रममा पनि संक्रमित बने । घर गाउँ आए र संक्रमण दर बढाउन सहयोगी बने । यही क्रममा लगन महिना बैशाख सुरु भयो । जुन महिनाभर विवाह, बत्रबन्ध, चौरासी लगायतका पुजाआजा दैनिक दर्जनौ संख्यामा भयो । जहाँ एकै स्थानमा सयौं जना जमघट भएर भोजभतेर गरियो । यहीबाट बैशाख अन्तिम साता आइपुग्दा बागलुङका अधिकांश गाउँ कोरोना संक्रमणले आक्रान्त बन्न थाल्यो । यो मात्रा अहिले बढेर जिल्लाका अधिक गाउँमा लक्षण सहितका बिरामीले भरिन थालेका छन् ।

कोरोनाले गाउँ घर तिरका मानिसहरुको स्वाब संकलन र नमुना परीक्षणको क्रम सरकारले तिब्र बनाएको छ । यसको चौतर्फी रिपोर्ट हेर्दा र विश्लेषण गर्दा अवस्था निकै जोखिमपूर्ण उन्मुख भएको संकेत मिल्छ । त्यो बागलुङ नगरपालिकाकै ग्रामिण भेगहरुमा होस् या अरु गाउँपालिका नगरपालिकाका गाउँहरुमा होस्, अहिले नमुना परीक्षण गरिएका मध्ये ७० देखि ९० प्रतिशत सम्म कोरोना रिपोर्ट पोजेटिभ आइरहेको छ । गाउँका अधिक मानिसमा कोरोना भाइरस सँग मिल्दोजुल्दो लक्षण देखिएको छ, उनीहरुलाई ज्वरो, श्वास प्रश्वास फेर्न कठिनाई, रुघाखोकी, शरीर दुख्ने, घाँटी चिलाउने लगायतका समस्या छ । तर, कोरोना संक्रमित भएकाहरुले यथेष्ट उपचार र परामर्श पाउन त निकै कठीन कुरा भयो । अरु लक्षण देखिएका बिरामीहरुले पनि कोरोना नै भएको आंशकामा समयमै उपचार नपाउने खतरा बढेको छ ।

गाउँमा कोरोना संक्रमणको दर बढ्दो छ तर अझै लुकाएर बसिरहने जमात ठुलो छ । सकरात्मक र सुखद पक्ष गाउँमा संक्रमितहरु निको हुने क्रममा छन् । तर, उनीहरुबाट परिवारका अरु सदस्यमा सर्ने क्रम बढ्दो छ । अरु सदस्यहरु अहिले बिरामी छन् । अर्को तर्फ गाउँमा चेक गराए कोरोना देखिन्छ, उपचार पाइदैन, नगराउने आफै ठिक हुन्छ भन्ने संख्या अधिक छ । गाउँमा सामाजिक दुरी, स्वास्थ्य सुरक्षा मापदण्ड पालनाको अभाव छ । यसको सचेतना, कडाईमा अनुगमनमा स्थानीय अगुवाकै परिचालन जरुरी छ । पालिकाका जनप्रतिनिधि, कर्मचारी, सम्वद्ध स्वास्थ्यकर्मी पिसिआर संकलनदेखि कोरोना रोकथाम र नियन्त्रणका लागि अनवरत लागिरहेका छन्,यसमा नागरिकको लापरवाहीले जस पाउने अवस्था देखिएको छैन । त्यसैले अझ गम्भिरताका साथ स्थानीय सरकारले संक्रमित र सम्भावित जोखिममा भएकाहरुको हकमा परीक्षण र उपचारको दायरा बढाउन अपरिहार्य छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *