हिमाल पारिको जिल्ला मुस्ताङमा जेठ १५ सम्म थपियो निषेधाज्ञा

आदर्श अनलाइन,मुस्ताङ

कोरोना भाइरस संक्रमण जोखिमलाई ध्यानमा राख्दै हिमाली जिल्ला मुस्ताङमा बिहीबार पुनः एक साताका लागि निषेधाज्ञा थप गरिएको छ ।

यसअघि वैशाख ३० गते जारी गरिएको निषेधाज्ञा आज जेठ ६ गते राति १२ बजे सकिँदै थियो ।

जिल्ला प्रशासन कार्यालयले जिल्ला कोभिड—१९ संकट व्यवस्थापन समितिको सिफारिसमा कोभिड संकटग्रस्त क्षेत्र मुस्ताङको वारागुङ मुक्तिक्षेत्र ,घरपझोङ र थासाङ गाउँपालिका भित्र लागू हुने गरी दोस्रो पटक निषेधाज्ञा थप गरिएको मुस्ताङकी प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलले जानकारी दिनुभयो ।

दुर्गम जिल्लाको रुपमा परिचित हिमाली मुस्ताङको एकमात्र जिल्ला अस्पतालमा क्रिटिकल बिरामीको उपचारका लागि चाहिने आवश्यक भेन्टिलेटर,आइसीयु,जनशक्ति र आवश्यक स्वास्थ्य सुरक्षा उपकरण तथा सामाग्रीलगायतको अभाव रहेकाले कोरोना रोकथाम तथा नियन्त्रण गर्न निषेधाज्ञा लगाउन परेको प्रजिअ पौडेलले बताउनुभयो।

कोरोनाका जटिल प्रकृतिका बिरामीलाई जिल्लामा एथेष्ट साधनश्रोत नभएकाले मुस्ताङमा भरपर्दो उपचार सेवा पाउन कठिन पर्दै आइरहेको छ । मुस्ताङमा कोरोनाको दोस्रो भेरियन्ट जोखिमसँगै संक्रमितको संख्या वृद्धि भइरहेको छ । जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङका अनुसार बुधबारसम्म मुस्ताङमा संक्रमितको संख्या १ सय ८४ पुगेको छ ।

जसअन्र्तगत उपल्लो मुस्ताङको लोमान्थाङमा ७ जना, वारागुङ मुक्तिक्षेत्रमा ९३ जना,घरपझोङमा ५४ जना र थासाङ गाउपालिकामा ३० जनामा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य प्रमुख टिकाराम भण्डारीले जानकारी दिनुभयो ।

उनका अनुसार थासाङमा ३० संक्रमित मध्ये १ जना ,घरपझोङमा ५४ संक्रमित मध्ये २९ जना र वारागुङ मुक्तिक्षेत्रमा ९३ संक्रमित मध्ये ९ जना व्यक्ति कोरोनामुक्त भएका छन् । यस्तै मुस्ताङमा पछिल्लो २ साता भित्र १९ जना कोरोना संक्रमित पोखरा रिफर भइसकेको र संक्रमणकै कारण ४ जना व्यक्तिले ज्यान गुमाउन परेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

भौगोलिक रुपमा विकट मुस्ताङबाट पछिल्लो हप्ता एक दर्जन कोरोना संक्रमित जटिल बिरामीको हेलिकोप्टरमार्फत उद्दार गरिएको जिल्ला सीसीएमसीले जनाएको छ । पोखरा—जोमसोम साविक हेलि भाडादरको तेब्बर शुल्क तिरेर संक्रमितलाई उपचारका लागि पोखरा पठाउनु पर्ने अवस्था रहेको जनाइएको छ ।

कोरोनाको दोश्रो लहरसँगै मुस्ताङको तल्लोक्षेत्रका ३ स्थानीय तहमा समूदायस्तरमा कोरोना संक्रमण देखा परेपनि उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेरक दामोदरकुण्डमा कोरोना परीक्षण नहुँदा संक्रमितको संख्या सुन्य रहेको थियो ।

उपल्लो मुस्ताङका दुई स्थानीय तहमा कोरोना परीक्षण नभएको अवस्थामा पालिका आफैले किट खरिद गरी परीक्षण सुरु गरेको लोमान्थाङका स्वास्थ्य संयोजक तेन्जिङ नर्वु गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार उपल्लो मुस्ताङको लोमान्थाङाम बुधबार गरिएको परिक्षणमा कोरोना संक्रमित फेला परेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *