गाउँको कोरोना व्यथाः संक्रमित निको, परिवारमा ‘ट्रान्सफर’

दिल शिरीष, बागलुङ
जिल्लाको ग्रामिण क्षेत्रमा अहिले कोरोना संक्रमणको भयावह हुन थालेको छ । कोरोना भाइरसको दोस्रो भेरियन्ट देखा परे सँगै बढ्न थालेको संक्रमण दर अहिले गाउँ गाउँमा उच्च देखिएको छ । बागलुङ नगरपालिका सहित अधिकांश पालिकाका गाउँ टोलमा अहिले कोरोनाबाट जनता ग्रसित बनेका छन् ।

बानपाको मालिका, सिम, भान्सा, कालिमाटी, बाटुले, सिगाना, तित्याङ, बलेवा, काठेखोलाको पाला, धम्जा, तंग्राम, बिहुँ, लेखानीमा कोरोनाको संक्रमण दर उल्लेख्य देखिएको छ । यसैगरी, ताराखोलाका सबै वार्ड, बडिगाड, ढोरपाटन नगरपालिकाको पनि कोरोना संक्रमण भएको पाइएको छ । अन्य धेरै नागरिक बिभिन्न लक्षण सहित बिरामी भइरहेको स्थानीयले बताएका छन् ।

कोरोना संक्रमण पश्चात उपचारका क्रममा धौलागिरी अस्पताल, पोखरा लगायतमा मृत्यु हुनेमा पनि एकाध बाहेक सबैजसो ग्रामिण क्षेत्रका छन् । पछिल्लो एक महिनाको अन्तरालमा गाउँघरमा कोरोना संक्रमणको दर तिव्र गतिमा फैलिएको काठेखोला गाउँपालिकाका कार्यपालिका सदस्य हेमलाल बिकले बताउनुभयो । ‘कोरोना बेस्सरी फैलिन थालेको, गाउँमा मानिसहरु बिरामी पर्न थालेको धेरै लामो समय भएको छैन, बैशाखमा बिहेवारी धेरै भयो, भिडभाड हुने गतिविधिमा सबै गाउँले सरिक भए,’ उहाँले भन्नुभयो, ‘त्यसबाटै सर्बत्र कोरोना संक्रमण फैलिन थाल्यो ।’

अहिले गलकोट नगरपालिकाको वडा नम्बर २ नरेठाटीमा मात्रै ४२ जना सक्रिय संक्रमित छन् भने काठेखोलाको धम्जामा पनि ३० भन्दा बढी संक्रमित छन् । एकै वार्डमा दर्जनौको संख्यामा कोरोना संक्रमण पुष्टि भएको छ । यद्यपि, अझै नागरिकको स्वाबल संकलन र परीक्षणको दायरा सिमित बनाइएको छ । समुदाय स्तरमा टोल टोलबाट नमुनाको रुपमा पनि स्वाब संकलन गरेर पिसिआर परीक्षण गरिएको छ । यसको दायरा मात्रै बढाउने भने अझ गाउँ गाउँमा कोरोना संक्रमणको भयावह देखिनेछ ।

पछिल्लो साताको परिदृश्य हेर्दा मात्रै पनि गाउँमा कोरोना संक्रमण डरलाग्दा हिसाबले फैलिएको पाइएको स्वयंसेवी हिसाबले कोरोना नियन्त्रण अभियानमा सक्रिय नर्स नितु खड्काले बताउनुभयो । ‘हामी कोरोना संक्रमितको अवस्था बुझ्न र उनीहरुलाई स्वास्थ्य परामर्श र औषधि प्रदान गर्ने अभियान लिएर बानपाका केही गाउँका संक्रमित र काठेखोलाका सक्रिय संक्रमितहरुलाई भेट्न पुग्दा संक्रमित पुष्टि भएकाहरु क्रमशः निको हुने चरणमा पुगेको पायौ,’ कोरोना बिरुद्ध अभियान लिएर काठेखोलाको धम्जा पुग्नुभएकी नर्स खड्काले भन्नुभयो, ‘तर संक्रमित भएकाहरु सुरक्षित भएर आइसोलेशनमा नबस्दा परिवारका अन्य सदस्यहरुमा सरेको जस्तो देखियो, अहिले अधिकांश संक्रमित परिवारका अन्य सदस्य लक्षण सहित बिरामी अवस्थामा छन् ।’

स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौंले अहिले संक्रमण दर बढ्नुको मुख्य कारण संक्रमित सुरक्षित आइसोलेशनमा नबस्दा भएको बताए । ‘अहिले संक्रमण दर जे जसरी बढ्दो क्रममा देखिन्छ, यसमा संक्रमित र नागरिकको लापरवाही कारक छ,’ उनले भने, ‘खाना एकै ठाउँमा बसेर खाने र शौचालय पनि एउटै प्रयोग गर्ने समस्याले पनि संक्रमण बढेको देखिन्छ, एउटै परिवारमा एक जनालाई भए पछि परिवारनै आइसोलेशनमा बस्नु पर्दछ, यसमा सबै सचेत र जिम्मेवार बन्न आवश्यक छ ।’

परिवारका एक सदस्य संक्रमित भएर उनीहरु घुलमिल हुने भएकाले १० दिन सम्म परिवारका सबै सदस्य होम आइसोलेशनमै बस्नुपर्नेमा गुरौंले जोड दिए । संक्रमित र पिसिआर दिएकाहरु पनि डुल्ने घुम्ने, संक्रमित नभएकाहरु पनि स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगरेर हिड्दा समस्या बढ्दै गएको उनको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *