सम्पादकीय
कोरोना भाइरसको पीडा अचाक्ली छ । मानव सभ्यतामै यतिबेला सबै भन्दा कठीन संकट र सकसपूर्ण समय हामीले भोगिरहेका छौ । यदि कोरोना संक्रमित भइहाल्यो भने यसको सम्बन्धित व्यक्ति र परिवारलाई हुने पीडा एकातिर छ भने संक्रमणका कारण हुने मृत्यु, त्यसको अन्त्येष्टि र काजकिरिया पनि उतिनै कहाली लाग्दो हिसाबले गर्नुपर्ने परिस्थिति छ । सहर बजारदेखि दुरदराजका संक्रमितहरुले अहिले कोरोना भाइरसबाट ग्रसित हुनुको शारीरिक पीडा मात्रै होइन, मानसिक पीडा पनि भोग्नु परेको अवस्था बिद्यमान छ । संक्रमित भएका व्यक्तिहरु वल्लो पल्लो घरका छिमेकीहरुले भौतिक दुरी राखेर टाढैबाट समेत सञ्चो बिसञ्चो सोध्न समेत छोडेको देखिन्छ । यसले कोरोना संक्रमण र यसको असरलाई अझ बढावा दिने देखिएको छ ।
समाजमा भन्ने गरिन्थ्यो, ज्युँदाको जन्ती, मर्दाको मलामी । कोरोनाले यो प्रचलित भनाईलाई एकाएक बदल्दिएको छ, र न ज्युँदाको जन्ती, न मर्दाको मलामी भन्ने अवस्था आएको छ । किनकी पछिल्लो समय समुदाय स्तरमा भएका बिहेवारी भोज भतेरबाटै कोरोना संक्रमणको भयावह तिव्र छ । कतिपय अवस्थामा मलामी गएकाहरुका बिचमा पनि ठुलो संख्यामा कोरोना संक्रमण फैलिएको छ । केही साता यता मानिसहरु घर भित्रै कैद छन् । देशभर कतै लकडाउन त कतै निषेधाज्ञा जारी छ । एकै गाउँमा केही दिन यता दर्जनौको संख्यामा संक्रमित थपिएका छन् । उत्तिकै संख्यामा लक्षण सहितका बिरामी भेटिएका छन् । तर, त्यहाँ स्वास्थ्यकर्मी, जनप्रतिनिधिको प्रत्यक्ष उपस्थिति देखिएकोमा संक्रमित, तीनका परिवारको चिन्ता र गुनासो छ । संक्रमित होम आइसोलेशनमा हुँदा एक्लोपनको आभाष हुन सक्छ । रोगका साथै सामाजिक दुव्र्यवहारले आत्मबल कमजोर हुन सक्छ । यो बेलामा स्वास्थ्यकर्मी र जिम्मेवार प्रतिनिधि र आफन्तले भेट्ने र सञ्चो बिसञ्चो सोध्ने कुरा पनि महत्वपूर्ण भएको छ । यसमा कसैले पनि कञ्जुस्याँई नगरौ ।
दोस्रो लहरको नयाँ भेरियन्टसहितको कोरोना संक्रमणबाट जोगिनै मुश्किल जोखिम त छ । तर, यही अवस्था र जोखिमका बिच तपाई हाम्रो छरछिमेकमा भएका कोरोना संक्रमितलाई तपाई हामीले सद्भाव सहानुभूति दशाईरहेका छौ कि पीडामा अझ उपेक्षा, बिभेद र अपमान गरेर घाउमा नुनचुक थपिरहेका छौ ? यो पाटो गम्भीर देखिन्छ । हामीले अरु नागरिकलाई कोरोना संक्रमित हुँदाको पीडा पनि महुशुस गर्न सक्नुपर्छ । आज मनोबल बढाउन सद्भाव बाँड्ने ठाउँमा हामीले गर्ने दुव्र्यवहारको प्रतिफल हामी आफै माथि पनि त्यही र त्यस्तै किसिमको समस्या र पीडा बज्रिन सक्छ । अतः संक्रमितबाट सचेत त रहौ, दुरी कायम गरौ तर संक्रमित र संक्रमितका परिवारलाई यस बेला अझ आफन्त र निकट अपनत्व बोध गराऔं । स्थानीय सरकार, जनप्रतिनिधि, स्वास्थ्यकर्मीहरु घर घरमा पुगेर संक्रमितको मनोबल उच्च बनाउनका साथै आइसोलेशनमा बसे नबसेको, स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरे नगरेको बारेमा पनि यथेष्ट भूमिका खेलौ ।