सहकारी बैंकको २ अर्बसहित सहकारी क्षेत्रको तरलता व्यवस्थापनका लागि ३ अर्बको कोष स्थापना

आदर्श अनलाइन, काठमाडौँ
राष्ट्रिय सहकारी बैंक लिमिटेड र नेपाल नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले कोभिड–१९ का कारण सहकारी संघ संस्थाहरुमा हुन सक्ने तरलता अभाव सम्बोधन गर्न ३ अर्बको तरलता व्यवस्थापन कोष स्थापना गर्ने भएका छन् । कोषमा सहकारी बैंकको २ अर्ब र नेफ्स्कुनको १ अर्ब रहने भएको छ ।

कोषबाट बैंक र नेफ्स्कुनका सदस्य संस्थाहरुले आफ्ना सदस्यहरुलाई आपतकालिन अवस्थामा दैनिक उपभोग्य वस्तु खरिद गर्न, जीवीकोपार्जन गर्न, स्वास्थ्य उपचार सम्बन्धी कार्य गर्न, स्वास्थ्य उपकरण खरिद गर्न तथा महामारी प्रभावसंग सम्बन्धीत कार्यको लागि तरलता पुँजी अभाव भएमा त्यस्ता संस्थाहरुलाई परिचालन गरिने भएकोे छ ।

बैंक र नेफ्स्कुनले आफ्ना सदस्यहरुलाई उक्त कोषबाट ऋण लगानी गर्दा समान ब्याजदर कायम गरी लगानी गर्ने, एउटा संस्थालाई १ करोड रुपैयाँ वा संस्थाको कुल बचत निक्षेपको १० प्रतिशतमध्ये जुन कम हुन्छ सोही मात्रामा ऋण लगानी गर्ने सहमति भएको छ । यस्तै सदस्य संस्थाहरुलाई लगानी गर्न स्वीकृत गरिने ऋण एक जना शेयर सदस्यलाई बढीमा १ लाख रुपैयाँसम्म परिचालन गर्नुपर्ने, एकजना व्यक्तिले बैंक र नेफ्स्कुन दुबैबाट कोरोना महामारी तरलता व्यवस्थापन कोष २०७८ अन्तर्गतको ऋण लिन नपाउने, लगानी हुने ऋणको अवधि ६ महिनाको हुने, बैँक र संघले यो कोषको परिचालन सम्बन्धी एक अर्कालाई दैनिक रुपमा जानकारी गराउनुपर्ने लगायतका विषयमा सहमति भएको हो । कोष परिचालनका लागि बैंक र नेफ्स्कुनले आन्तरिक कार्यविधि बनाई लगानी गर्ने सहमति गरेका हुन् ।

विश्वब्यापी रूपमा फैलिएको कोभिड १९ महामारीको कारणले आफ्ना सदस्य सहकारी संघ÷संस्थाहरुमा देखिन सक्ने संभावित तरलता सम्बन्धी जोखिमलाई न्यूनीकरण गर्न बैंकको संयोजनमा सोमबार सम्पन्न भर्चुअल बैठकले कोष स्थापना गर्ने निर्णय गरेको हो । बैंक र नेफ्स्कूनको संचालक समितिले पारित गरेपछि तरलता व्यवस्थापन कोष कार्यान्वयन हुने बैंकका अध्यक्ष के.बी.उप्रेतीले जानकारी दिनुभयो ।

बैंक तथा नेफ्स्कूनका आफ्ना सदस्य सहकारी संघ संस्थाहरुको निरन्तर तथा दीगो सञ्चालनको उद्देश्य सहित दुबै निकायहरुको पदाधिकारीहरु सहित गठन भएको संयुक्त कार्यदलका संयोजक नेफ्स्कूनका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालको संयोजकत्वमा बसेको बैठकले कोष स्थापना गर्ने निर्णय गरेको हो ।

कोष प्रयोग गरी नेपाल सरकारले बन्दाबन्दी वा निषेधाज्ञा वा आपतकालिन अवस्था समाप्त भएको घोषणा गरेको ३ महिनासम्म सदस्य सहकारी संस्थाहरुलाई कर्जा प्रदान गर्न व्यवस्था गरेको छ ।
बैठकमा बैंकका अध्यक्ष के.बी. उप्रेती, नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल, उपाध्यक्ष शान्ति अधिकारी, संयुक्त कार्यदलका सदस्यहरु बैंकका संचालकहरु सरिता तिमल्सिना भट्टराई, ज्ञानबहादुर तामाङ, रामहरि बजगाई, र निमित्त सदस्य सचिव बैंकका नायब महाप्रबन्धक किशोर प्रसाद बिमली, कर्जा विभागका प्रमुख प्रमोद कुमार घिमिरे, तथा नेफ्स्कूनको तर्फबाट महासचिव दामोदर अधिकारी, कोषाध्यक्ष दिपक पनेरु र कायम मुकायम प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेल सहभागी रहनु भएको थियो ।

महामारीको कारण सहकारी सदस्य संघ संस्थाहरुमा सम्भावित वित्तीय सङ्कट सम्बोधन गरी सहकारी अभियानको स्थायित्व तथा व्यवसाय निरन्तरता सुनिश्चित गर्न र संरक्षकत्व ग्रहण गर्न आवश्यक भएकोले महामारीको प्रत्यक्ष वित्तीय प्रभाव रहेको अवस्था सम्मका लागि राष्ट्रिय सहकारी बैक लिमिटेड र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड बीच तरलता व्यवस्थापन गर्न मद्दत पुर्याउने उद्धेश्यले समझदारी भएको बैंकका अध्यक्ष उप्रेतीले जानकारी दिनुभयो । तरलता व्यवस्थापन कोषमा तोकिएको रकम कम भएमा थप गर्नका लागि कार्यदलले योजना बनाएर अगाडि बढ्ने सहमति भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *