खिमानन्द कँडेल
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी एकता भैसकेपछि दुई तिहाई सांसदहरुको समर्थनमा केपी शर्मा ओलीले नेपालको राज्य सत्ताको नेतृत्व गरे । पार्टी एकताको सहमति अनुसार पार्टीलाई केन्द्र देखि वडा तहसम्म साठी चालिसको भाडबण्डामा मिलाउने र सरकारको नेतृत्व आधा आधा कार्यकाल केपी र प्रचण्डले नेतृत्व समझदारी दुई नेताहरुको बीचमा भयो । आधा आधा कार्यकाल प्रधानमन्त्री दुई नेताले चलाउँदा जनतामा गलत सन्देश जाने कुरामा प्रचण्ड पनि सहमत भैसकेपछि मुलतः सरकारको नेतृत्व पाँचै बर्ष केपी शर्मा ओलीले गर्ने र पार्टी नेतृत्व मुलतः प्रचण्डले गर्ने गरी सहमति गरियो । यतिबेलासम्म ओली र प्रचण्डको बीचमा खासै विमति रहेको देखिंदैन ।
मदन भण्डारीको देहबसानपछि निरन्तर १५ बर्षसम्म पार्टीलाई एकछत्र महासचिवको रुपमा नेतृत्व गरेका नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपाल नवौं महाधिवेसनमा केपी शर्मा ओलीसँग पराजित हनुभयो । यस पराजय सँगसँगै माधव नेपाल समूह पार्टी भित्र पनि मुलतः अल्पमतमा रहेको अवस्था र दुई तिहाईको सरकार स्थापित हुँदा पनि केपी शर्मा ओली र प्रचण्डले माधव नेपाल समूहसँग छलफल नै नगरी गरेको पार्टी एकता र सरकार संचालनमा माधव समूहलाई सकेसम्म टाढै राख्ने र पेल्ने रणनीतिबाट चुर भएर बसिरहेको अवस्था सबैलाई सर्वविदितै भएको बिषय थियो । प्रचण्डले केपी शर्मा ओलीलाई पाँचै बर्ष प्रधानमन्त्रीको रुपमा मान्ने गरी सहमति त गरे तर उनको भित्री उद्धेश्य पार्टी एकताको मर्मलाई गाउँ गाउँसम्म पुर्याउनेमा भन्दा कमजोर स्वास्थ्य अवस्थामा रहेका केपी ओली पछिको पार्टीभित्रको सर्बेसर्बा सबै आँफै हुने भित्री योजनाका साथ तानाबुना बुनिरहेका थिए ।
कथा त्यतिबेला बदलिन्छ जब मृगौलाको जटिल शल्यकृया गरिसकेपछि केपी शर्मा ओली टिचिङ अस्पताल महाराजगञ्जबाट बाहिर निस्कँदा फूर्तिला भएर निस्किए । पहिलो संभावना त अपरेशन सफल हुन नसक्ने र बाँचिहाले पनि अत्यन्त कमजोर स्वास्थ्य अबस्थामा केपी ओली हुन्छन् भन्न आँकलन गलत सावित हुन जानु प्रचण्डको भित्री तानाबुनामा कल्पना गरेभन्दा बाहिरको बिषय थियो । केपी समूहले माधव नेपाल समूहलाई नवौं महाधिवेसनपछि सरकार संचालन, पार्टी संचालन, राजनीतिक नियुक्तीहरु, राजदूत नियुक्तीहरु हरेक बिषयहरुमा पेल्दै गईरहँदा केपी समूह र माधव समूहको बीचमा व्यापक तिक्तता भरिएको थियो । यस्तै अवस्थाको बीचमा भारतले दशकौं देखि मिच्दै आएको नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई नेपालको नक्सामा मिसाउने योजना संसदबाट सर्वसम्मत रुपमा पारित भैसकेपछि राजनीतिक रुपमा केपी ओलीको अगाडि प्रचण्ड र माधव नेपाल रक्षात्मक अवस्थामा पुगिसकेका थिए । यसपछि एकाएक प्रचण्ड र माधव समूह कुनै पनि हालतमा केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदबाट हटाउनुपर्छ भन्ने एकशुत्रीय एजेण्डामा जोडतोडका साथ अगाडि बढे । यसै क्रममा केपी समूह र माधव समूहबीच व्यापक छलफल गरी केपी शर्मा ओलीमाथि १९ बुँदे आरोपपत्र लगाईयो । पार्टी एकीकरणको मर्म र भावना अनुसार पार्टी अर्को महाधिवेसनसम्म सहमतीय विधिबाट चल्ने प्रष्ट हुँदा हुँदै पनि आँफू अनुकुलको व्याख्या गरेर पार्टी भित्रै अल्पमत र बहुमतको खेलोमा प्रचण्ड माधव नेपाल समूह लाग्न पुग्यो । यही योजना अनुसार प्रचण्ड माधव नेपाल समूहले केपी ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको घोषणा गर्यो । आँफूलाई अपदस्त गरी जस्तासुकै हतकण्डाहरु अपनाएर भएपनि केपी सरकार ढाल्ने योजनालाई बिफल पार्न केपी शर्मा ओलीले संसद विघटन गरी मध्यावधि चुनावको घोषणा गरे । सरकार ढाल्ने प्रयास बिफल भैसकेपछि प्रचण्ड माधव समूह संविधानको कु र प्रतिगमन भयो भन्ने एकशुत्रीय एजेण्डाका सरकारलाई सडकबाटै ढाल्ने योजनाका साथ विश्व नै कोभिड १९ ले थलाथला परेको अवस्थामा पनि जुलुसको खेती तर्फ लागे । देशका विभिन्न शहरहरुमा र राजधानीमा प्रचण्ड माधव समूह र केपी समूहको बीचमा जुलुस प्रतिष्पर्धा नै चल्यो । यही घटनाक्रमको बीचमा सबोच्च अदालतले संसदको पुनःस्थापना गरिदियो । देशव्यापी रुपमा लड्डु खाईयो । खुशीयाली मनाईयो । न्यायाधिशहरुको जयजयकार गरियो ।
कथा फेरी बदलिन्छ । संसद पुनस्थापना भैसकेपछि साबिकको पार्टी नेकपा र चुनावचिन्ह सूर्य आफ्नो पोल्टामा जाने कुरामा प्रचण्ड माधव समूह ढुक्क थिए । तर यही क्रममा सबोच्च अदालतले क्रृषि कट्टेलले दर्ता गरेको नेकपालाई बैधानिकता दिई नेकपा एमाले र माओवादी केन्द्रलाई नेकपा निर्माण हुनुभन्दा अगाडिकै अवस्थामा पुगेको फैसला गरिदियो । यस निर्णयबाट साबिकको नेकपा एमाले र चुनावचिन्हमा पार्टी संस्थापनको हैसियतमा पुनः केपी ओलीको पक्ष गयो भने १९ बुँदै आरोपपत्र र नेकपा एमालेको अन्तरविरोध भित्र खेलेर पार्टी कब्जा गर्ने योजना बनाएका प्रचण्डको योजनामा तुषारापात भयो भने माधव नेपाल समूह रक्षात्मक अवस्थामा पुग्दै केपी ओलीलाई बदला लिने मनसायका साथ देशव्यापी रुपमा समानान्तर पार्टी संचालनको अभ्यासमा अगाडि बढे । माधव समूहबाट समानान्तर संगठन बिस्तारको अभ्यास गर्नुको पछाडि एकातिर जनताको बीचमा लोकप्रिय पार्टी नेकपा एमाले भित्र व्यापक रुपमा अन्तरविरोध चर्काएर पार्टीलाई तहसनहस बनाउने र अर्कोतर्फ प्रचण्ड एवम् अन्य राजनीतिक शक्तिहरुसँग मिलेर केपी ओलीलाई संघीय सरकारमा र प्रदेशमा रहेका अन्य सबै सरकारहरुलाई ढाल्नु नै थियो । यसै योजना अनुसार कर्णाली सरकारमा माधव समूहका केही सांसदहरुले फ्लोर क्रस गरे । लुम्बिनीमा केही सांसदहरुलाई पार्टी परिवर्तन गर्न लगाईयो भने नेकपा एमालेको आफ्नै सरकारले सदनबाट विश्वासको मत लिने समयमा माधव समूह संसदमा अनुपस्थित हुने गैर जिम्मेवारपूर्ण भूमिका निर्वाह गर्यो । कथा यतिमा मात्र सीमित भएन, संविधानको धारा ७६ (५) अनुसार सरकार गठन गर्नको लागि आफ्नै पार्टीको नेतृत्वलाई सत्ताच्यूत गर्न माधव नेपाल सहितका नेकपा एमालेका नेताहरुले शेर बहादुर देउबाको पक्षमा हस्ताक्षर गरी सरकार गठनको लागि राष्ट्रपति समक्ष प्रधानमन्त्रीको लागि दाबी पेश गरे । केपी ओलीलाई सत्ताच्यूत गर्न निरन्तर खेलो चलिनै रह्यो ।
कथा पुनः बदलिन्छ । राष्ट्रपतिले दुवै प्रधानमन्त्रीका दाबेदार केपी शर्मा ओली र शेर बहादुर देउबाले गरेको दाबी विवादित देखिएको उल्लेख गर्दै सरकारको सिफारिसमा संसदको पुनः भंग गर्दै देश पुनः मध्यावधि निर्वाचन तर्फ धकेलिएको छ । यस बिषयमा सर्बोच्च अदालतमा मुद्धा परिसकेको अवस्थामा सर्बोच्च अदालतको निर्णयकै आधारमा पुनः संसद पुनःस्थापना हुने वा देश मध्यावधि निर्वाचनमा जाने चाँडै नै प्रष्ट होला । सरकार रहने र नरहने भन्दा पनि सरकारलाई कुनै पनि हालतमा सत्तात्यूत गर्नको पछि मरिमेट्नुका पछाडि केही रहस्यहरु छन् जसलाई आम नेपाली जनताले प्रष्ट रुपमा बुझ्नु जरुरी छ ।
के हुन् त भित्री रहस्यहरु ?
(१) केपी ओलीलाई पार्टी नेतृत्वबाट अपदस्त गरेर प्रचण्डले साबिकको पार्टी नेकपालाई आफ्नो कब्जामा लिने प्रयास बिफल भएको छ । यसले प्रचण्ड समूह देशव्यापी रुपमा रक्षात्मक अवस्थामा पुगेको छ ।
(२) सबोच्च अदालतले क्रृषि कट्टेल समूहलाई नेकपा पार्टीको आधिकारिकता दिईसकेपछि नेकपा एमालेमा पुनः केपी शर्मा ओलीको पकड कायम रहनु र माओवादी केन्द्रबाट ठूलो संख्यामा नेता कार्यकर्ताहरु ओली पक्षीय नेकपा एमालेमा जाँदा प्रचण्ड पक्ष थप रक्षात्मक हुन पुगेको छ र कुनै पनि हालतमा नेकपा एमालले लाई कमजोर बनाउनुपर्छ भन्ने एक शुत्रीय एजेण्डामा प्रचण्ड र माओवादी केन्द्र लागेको देखिन्छ ।
(३) पार्टी एकताको कारणले देशव्यापी रुपमा साठी चालिस बाँडफाँडबाट ठूलो संख्यामा आफ्ना नेता कार्यकर्ताहरुलाई मन्त्रीमण्डलमा, संसदमा, राजदूतमा, पार्टीको केन्द्रीय नेतृत्व पंक्तिमा, प्रदेश, जिल्ला, स्थानीय निकाय एवम् गाउँ कमिटिसम्म स्थापित भएका नेता कार्यकर्ताहरु कमजोर माओवादी केन्द्रमा आफ्नो भविष्य देखिरहेका छैनन् । यो बिषय प्रचण्ड र माओवादी केन्द्रले नबुझ्ने बिषय रहेन । यो अवस्थामा कुनै पनि हालतमा केपीलाई सत्ताच्यूत गर्ने र माधव नेपाल समूह, नेपाली कांग्रेस एवम् अन्य राजनीतिक दलहरुसँग मिलेर केपीलाई अपदस्त गर्ने योजनामा प्रचण्ड निरन्तर लागिरहेका छन् ।
(४) सत्ताभन्दा टाढा बस्नुपर्दा आगामी निर्वाचनमा जनतासँग पुग्ने साधनस्रोतको अभावले चुनावमा लज्जाजनक हार बेहोर्नुपर्छ भन्ने कुरामा माओवादी केन्द्र प्रष्ट देखिन्छ । त्यसैले तत्कालै कुनै पनि चुनावलाई समर्थन गर्नुभन्दा देशलाई अस्थिरताको बाटो तर्फ धकेल्दा आँफुलाई फाईदा हुने रणनीतिका साथ माओवादी केन्द्र अगाडि बढेको छ । देशलाई घाटा नाफा हुने भन्दा पनि आँफ्नो दललाई घाटा नाफा हुने दाउमा माओवादी केन्द्र खेलिरहेको छ ।
(५) माधव नेपाल समूह ईतिहासमै सबैभन्दा कमजोर अवस्थामा पुगेको छ । नवौं महाधिवेसनमा निर्वाचन हारेको एवम् सरकार एवम् पार्टी संचालनमा केपी पक्षले गरेको पेलाईको बदला माधव नेपालले लिन चाहन्छन् । माधव पक्ष भित्र कुण्ठा पालेर बसेका केही नेताहरुले नेकपा एमालेलाई बर्बादी गरेर भएपनि आफ्नो कुण्ठा मेटाउन चाहन्छन् ।
(६) २०६२/६३ को जनआन्दोलन पश्चात नेपाली कांग्रेस सांगठनिक रुपमा अत्यन्त कमजोर भएको छ । नेपाली कांग्रेस भित्र फस्टाएका विभिन्न गुटहरु, अन्तरघात र आक्रोश व्यवस्थापनको लागि नेपाली कांग्रेसपनि ओली विरोधी मोर्चामा सहभागी भएको छ । मुलतः न त नेपाली कांग्रेसले विगतमा केही कामहरु गर्न सक्यो र न त आगामी दिनको लागि नै केही रचनात्मक एजेण्डाहरु नेपाली कांग्रेससँग छन् । मात्र सत्ता भन्दा टाढा रहँदाका पीडाहरु बोकेर नेपाली कांग्रेस यतिवेला उभिएको अवस्था छ ।
(७) ओली महन्थ ठाकुर साँठगाँठले तराई क्षेत्रमा रहेको आफ्नो पकड कमजोर हुँदै गएको प्रष्ट बुझेका उपेन्द्र यादव, बावुराम भट्टराई समूह आफ्नो अस्तित्व रक्षाको धर्म निर्वाह गर्दै केपी विरुद्ध खनिएका छन् ।
(८) यतिबेला मुलधारका राष्ट्रिय पत्रपत्रिकाहरु केपी सरकारको विरुद्धमा उभिएका छन् । केपी विरोधी देशी विदेशी शक्तिहरुले नेपालका मुलधारको मेडियालाई आँफू अनुकुल बनाउन ठूलो लगानी गरेका छन् । त्यसैले सरकारका राम्रा कामहरुलाई निरन्तर छायाँमा पार्न र देशलाई अस्थिरतातर्फ धकेल्नमा नै मुलधारका संचार माध्यमहरुले भूमिका निर्वाह गरेको देखिन्छ ।
के सरकारले काम नगरेकै हो त ?
संभवत नेपालकै ईतिहासमा केपी सरकारले अभूतपूर्व विकास निर्माणको काम गरेको छ । यतिमात्र हैन अन्तराष्ट्रिय स्तरमा पनि नेपालको छविलाई नयाँ उचाईमा पुर्याउन वर्तमान सरकार सफल भएको छ । संचार माध्यम एवम् विपक्षीहरुको एकशुत्रीय विरोध भन्दा बाहिर निस्केर निम्न कुराहरुलाई स्वतन्त्र ढंगबाट हामीले मुल्यांकन गर्नैपर्छ । केही महत्वपूर्ण सबालहरु यस प्रकार रहेका छन् ।
(१) के जनयुद्धको नाममा तत्कालीन माओवादीहरुले देशमा मच्याएको आतंक र बर्बरताको विरुद्धमा केपी ओलीले निरन्तर बोलेका हैनन् ?
(२) के आजको नेकपा एमाले निर्माण गर्न र बर्षौसम्म पनि पार्टीको शिर्ष नेतृत्वमा रहँदा हाल माधव नेपालले जस्तै अमर्यादित र गैरजिम्मेवार भूमिका केपी ओलीले निर्वाह गरेका हुन् त ?
(३) के पछिल्लो भारतीय नाकाबन्दीको समयमा नेपाली जनतामा उच्च मनोवल राख्दै नाकावन्दीलाई असफल पार्नमा केपी सरकारको भूमिका छैन ?
(४) भुकम्प पछिको पुनः निर्माण आज कुन अवस्थामा छ, लाखौं नेपालीहरुका ढलेका घरहरु निर्माण भएका छन् । लाखौं नेपालीहरुको मुहारमा पुनः खुशीयाली छाएको छ । के यो केपी सरकारको योगदान हैन ?
(५) हाल देशव्यापी रुपमा ठूलो संख्यामा फराकिला सडकहरुको निर्माण भैरहेको छ, देशका हरेक दुर्गम ठाउँहरु सुगम स्थानमा रुपान्तरित हुँदै गएका छन् , के यो केपी सरकारको योगदान हैन ?
(६) देशव्यापी रुपमा खानेपानी पूर्वाधारको क्षेत्रमा अभूतपूर्व बिकास भएको छ , के यो केपी सरकारको योगदान हैन ?
(७) कोशी, गण्डकी, कर्णाली लगायत उत्तर दक्षिण जोड्ने विभिन्न अन्तराष्ट्रिय महत्वका सडकहरुको निर्माण एवम् उत्तरी छिमेकी राष्ट्र चीन तर्फ प्रशस्त नाकाहरु खुल्दै छन् , के यो केपी सरकारको योगदान हैन
(८)ं देशका गाउँ गाउँमा अस्पताल पूर्वाधारहरु निर्माण भैरहेका छन् , के यो केपी सरकारको योगदान हैन ?
(९)ं तीन तहका सरकारका माध्यमबाट गाउँ गाउँमा बिकासको लहर चलेको छ , के यो केपी सरकारको योगदान हैन ?
(१०) सबै विद्राही शक्तिहरुलाई सरकारले राजनीतिको राष्ट्रिय मुलधारमा ल्याएको छ, के यो केपी सरकारको योगदान हैन ?
(११) कोभिड १९ विरुद्ध जुध्न सरकार निरन्तर लागिरहेको छ ।
(१२) अक्सिजनको निरन्तर आपूर्तिको व्यवस्था मिलाईएको छ ।
(१३) गरीब विपन्न एकल महिला बृद्धबृद्धाहरुलाई निरन्तर सामाजिक सुरक्षा दिईरहेको छ ।
(१४) जनयुद्धमा घाईतेहरुको उपचार एवम् सहज जीवनयापनको लागि सरकारले काम गरिरहेको छ ।
(१५) कोभिड विरुद्धको खोप अभियान चलिरहेको छ र निर्वाचन अगाबै बहुसंख्यक नेपालीलाई कोभिड खोप उपलब्ध गराउने प्रतिवद्धता सरकारले गरिसकेको छ ।
(१६) देशमा विभिन्न रुपमा विभेदमा परेका र अन्यायमा परेका नेपाली नागरिकहरुको पक्षमा सरकारले काम गरिरहेको छ ।
हो यस्ता प्रशस्त कामहरु वर्तमान सरकारले गरिरहेको छ । सरकारले गरेका राम्रा कामहरुबाट डराएर र देशी विदेशी शक्तिहरु समेतको ईसारामा अहिले पुनः देशव्यापी रुपमा बर्तमान सरकारको विरुद्धमा विपक्षी गठबन्धनहरु लागेको देखिन्छ । बाहिरी रुपमा विभिन्न बिषयहरु बिपक्षीहरुले देखाएता पनि भित्री रुपमा मुलतः प्रचण्ड समूह, माधव नेपाल समूह, उपेन्द्र भट्टराई समूह चुनावदेखि डराईरहेको र नेपाली कांग्रेस एवम् विपक्षी दहरुले मुलतः चुनावी सरकारको नेतृत्व आफ्नो हातमा नआउँदा नराम्रोसँग पुनः निर्वाचनमा जान डराएको अवस्था आम नेपाली जनताले बुझेकै बिषय हो ।
त्यसैले यस्तो अवस्थामा तथ्यगत रुपमा भन्दा पनि एकशुत्रीय रुपमा सत्ता भन्दा धेरै टाढा बस्नुपर्ने अवस्थाबाट डराउँदै देशलाई अस्थिरता तर्फ धकेलेर आफ्नो राजनीतिक अभिष्ट पूरा गर्न लागिरहेका विपक्षी दलहरुका गलत हर्कतहरुको विरुद्धमा आम नेपाली जनता, संचार माध्यम र वुद्धिजिवीहरु धेरै नै चाँडो जाग्नेछन् र गलत हर्कतहरुलाई नेपाली जनताले सहजै परास्त गर्नेछन् ।
कंडेल पिन गण्डकी प्रदेशको ईन्चार्ज हुनुहुन्छ ।