स्याङ्जाका सहकारीकर्मीलाई नीति निर्माण तालिम

आदर्श अनलाइन, बागलुङ
राष्ट्रिय सहकारी बैंक लिमिटेड वालिङ र पुतलीबजार शाखाको आयोजना सहकारीमा वार्षिक योजना तथा बजेट निर्माण तर्जुमा सम्बन्धी एक दिने तालिम मंगलवार सम्पन्न भएको छ ।

वालिङ र पुतलीबजार शाखा अन्तरगत स्याङ्जा जिल्लामा सञ्चालित सहकारी संघ संस्थाका सञ्चालक तथा कर्मचारीहरुलाई लक्षित गरी भर्चुअल माध्यमबाट तालिम सञ्चालन गरिएको थियो । तालिममा स्याङ्जा जिल्लामा क्रियाशिल सहकारी संघ संस्थाका १ सय १० जना सहकारीकर्मीहरुको सहभागिता रहेको थियो ।

सहकारी संघ संस्थालाई व्यवस्थित रुपमा सञ्चालनका लागि नीति, योजना तथा बजेट तर्जुमा आवश्यक रहने भएकाले तालिमको आयोजना गरिएको बैंकको वालिङ शाखाका प्रमुख टिकाराम अधिकारीले जानकारी दिनुभयो ।

तालिमको शुभारम्भ गर्दै बैंकका अध्यक्ष के.बी.उप्रेतीले कोरोना संक्रमणको वर्तमान अवस्थामा सबै भन्दा पहिला आफु र आफ्ना सदस्यहरुलाई सुरक्षित रहने गरी अगाडि बढ्न सुझाव दिनुभयो । उहाँले लकडाउनका कारण सहकारी संघ संस्थाको सेवा प्रभावित भएको समयमा घरमै बसेर योजना निर्माणमा सहयोग पु¥याउन सहकारी बैंकले योजना निर्माण तालिम सञ्चालन गरेको बताउनुभयो ।

सहकारी व्यवसायलाई मर्यादित र व्यवस्थित गराउनका लागि वार्षिक रुपमा योजना बनाएर काम गर्नु पर्नेमा जोड दिदै उहाँले योजना निर्माण लगायत सहकारीको समग्र अवस्थामा सुधार ल्याउनका लागि सहकारी बैंकसंग सहकार्य गर्न आव्हान गर्नु भयो ।

कार्यक्रममा बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले योजना बिनाको कामले गन्तब्यमा पुग्न नसकिने भएकाले सबै सहकारी संघ संस्थालाई रणनीतिक योजना निर्माण गरेर अगाडि बढ्न आव्हान गर्नु भयो । सहकारी बैंकको लक्ष्य सहकारीहरुलाई दीगो रुपमा अगाडि बढाउने हो भन्दै उहाँले सहकारीहरुको दीगोपनाका लागि बैंक सदैव सहयोगीका रुपमा रहेको बताउनुभयो ।

बैंकको तालिम विभागका अधिकृत नारायण बेलवासेले सहकारीमा योजना तथा बजेट निर्माण प्रक्रिया, संस्थाको उद्देश्य तथा लक्ष्य निर्धारण, प्रभावकारी अनुगमन तथा मूल्यांकनका लागि आवश्यक विषयहरु लगायतका विषयमा सहजीकरण गर्नु भएको थियो ।

बैंकको पुतलीबजार शाखाका प्रमुख पुष्पा क्षेत्रीले स्वागत गरेको तालिम कार्यक्रमको सञ्चालन तालिम विभागका वरिष्ठ अधिकृत मिना शर्माले गर्नु भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *