कोरोना कहरकै बीच मध्यपहाडी लोकमार्ग कालोपत्रे शुरु

आदर्श अनलाइन, बागलुङ

चरम ढिलासुस्ती र लापरवाहीले लामो समय जनतालाई निराश तुल्याउँदै आएको पुष्पलाल मध्यपहाडी लोकमार्गको बागलुङ बजार देखि–घोडाबाधे सम्मको सडक खण्डमा पछिल्लो समय केही प्रगति देखिन थालेको छ । लोकमार्गको बागलुङ खण्ड अन्तर्गतको बिहुँ घोडाबाधे तर्फ कोरोना कहर र लामो समयदेखि जारी निषेधाज्ञाका बीच सडक कालोपत्रे गर्न शुरु भएको छ ।

अहिले मध्यपहाडी लोकमार्गको बागलुङ बजारदेखि घोडाबाँधे सम्मको २५ किलोमिटर सडकमा कालोपत्रे गनँ बाँकी रहेकोमा अहिले बिहुँको घोडाबाँधेको गणेशनाथ घुम्तीबाट जिल्ला सदरमुकाम तर्फ सडक कालोपत्रे गर्ने क्रम सुरु भएको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतले जनाएको छ । स्वास्थ्य सुरक्षा मापदण्ड र मौजुदा कामदारको सहयोगमा कालोपत्रेको काम अघि बढाइएको छ । जिल्लाका नागरिकको निरन्तर दबाब र लोकमार्ग कार्यालयको ताकेता पश्चात निर्माण सम्झौता भएको पाँच वर्ष पछि यस खण्डमा सडक कालोपत्रे गर्न शुरु भएको मध्यपहाडी पुष्पलाल लोकमार्ग पर्वतका इन्जिनियर उज्वल शर्माले बताउनुभयो ।

अहिले बागलुङ बजारको उपल्लाचौरदेखि अक्षेते सम्म धमाधम वेस बिछ्याउने र ग्रेडिङ गर्ने काम भइरहेको छ भने बिँहु घोडाबाँधेबाट कालोपत्रेको काम शुरु भएको छ । मध्यपहाडीको उपल्लो खण्डको रुपमा रहेको घोडाबाँधेमा–६ किलोमिटर सडक ग्राभेल भई सोमबारदेखि कालोपत्रे गर्न थालिएको इञ्जिनियर शर्माको भनाई छ । “असार सम्म लोकमार्गको केही प्रगती देखिने निश्चित भयो, अहिले काम नगरी निर्माण व्यवसायीलाई सुखै छैन, अहिले निकै प्रतिक्षा गरेको बिहुँ खण्डमा कालोपत्रे हुने कुरा सुखद हो” शर्माले भन्नुभयो “पटक–पटक आयोजनाको ताकेता पछि अहिले लोकमार्ग कालोपत्रे शुरु भएको छ, तल्लो सदरमुकाम खण्डमा समेत धमाधम काम भइरहेको छ ।”

अहिले सदरमुकाम खण्ड र बिहुँ खण्डको दुबै क्रसर धमाधम चलिरहेका कारण आगामी केही महिनामा दुबै खण्डको २५ किलोमिटर सडक कालोपत्रे सकिनेमा यहाँका जनता आशावादी भएका छन् । सदरमुकाम खण्डको १३ किलोमिटर सडकमा कालोपत्रेको कामका लागि बेस हाल्ने काम भइरहेको सदरमुकाम खण्ड निर्माणको जिम्मा पाएको भारत सिद्धिसाई कन्ट्रक्सन प्रालिका प्रतिनिधि नवराज रावलले जानकारी दिनुभयो ।

तत्काल बागलुङ बजार देखि अछेते सम्मको ८ किलोमिटर र बिहुँ घोडाबाँधेको ९ किलोमिटर सडक कालोपत्रे गर्ने आयोजनाले जनाएको छ । निर्माण कम्पनीले १७ किलोमिटर सडक कालोपत्रे गरेमा अन्य बाँकी रहेको ८ किलोमिटर सडक असार सम्म कालोपत्रेका लागि काम गर्ने सम्भावना देखिएको छ ।

बागलुङको भविश्य संग जोडिएको लोकमार्गको २५ किलोमिटर सडक दुई भागमा विभाजन गरेर ठेक्का भएको थियो । उपल्लाचौर देखि अक्षेते–बिहुँ खण्ड २०७३ माघ १४ गते भारत÷सिद्धिसाई जेभीले १३ किलोमिटर र बिहुँ घोडाबाधे खण्ड २०७२ माघ १० गते एमपी÷एससिएफ÷इसीसी जेभीले १२ किलोमिटर सडक दुई वर्षमा सडक कालोपत्रे गर्ने ठेक्का सम्झौता गरिएको थियो । तर पटक पटक म्याद थप्दा समेत आयोजना अझै सकिएको छैन । तर बिहुँ घोडाबाधे खण्डमा कोरोना कहर र निषेधाज्ञाकै बीचमा कालोपत्रे शुरु हुँदा ढिलै भए पनि उत्साहित तुल्याएको स्थानीय खिमानन्द कँडेलले बताउनुहुन्छ ।

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको पुष्पलाल मध्यपहाडी लोकमार्गको बागलुङ खण्डमा गत मंसिर अन्तिम सातादेखि निर्माणले तिब्रता पाएपछि अहिले बिहुँमा कालोपत्रे गर्न थालिएको हो ।

निर्माण व्यवसायीलाई काम गर्न दिएको असार मसान्त अन्तिम पटक भएको मध्यपहाडी पुष्पलाल लोकमार्ग पर्वतका प्रमुख मेघराज मरासिनीले बताउनुभयो । कुल १७ सय ७६ किलोमिटरको लोकमार्गको बागलुङ खण्डमा मात्रै १ सय ४२ किलोमिटर पर्छ । जसमध्ये जम्मा ४६ किलोमिटर मात्रै सडक कालोपत्रे गर्न बाँकी भएको आयोजना कार्यालय प्रमुख मरासिनीको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *