गौतम बुद्धको जन्मजयनती र सन्देश

सम्पादकीय
२५६५ औं बुद्ध जयन्ती, अरु बेला हरेक वर्ष वैशाख पूर्णिमाको दिन विशेष रुपमा मनाइने बुद्ध जयन्ती गत वर्ष र यसवर्ष भने सुनसान प्रायः बन्यो । विश्वव्यापी कोरोना भाइरस (कोभिड १९) महामारीका कारण कुनैपनि विशेष कार्यक्रम गरिएन । केबल सामाजिक सञ्जाल र गुम्बाहरुमा केही बिधिवत पुजाअर्चना मात्रैमा सिमित बन्यो । जन्मजयन्ती त नेपाली समाजमा धेरैको मनाउने प्रचलन छ । तर, भौतिक दुनियाँबाट विदा भएको यतिका वर्ष सम्म पनि आम नेपाली नागरिक र विश्व समुदायमा पृथक पहिचान र दर्शनका साथ जिवन्त भएर बाँच्नु सामान्य कुरा होइन । भगवान गौतम बुद्धलाई आज पनि नेपाली जनजनले विशेष रुपमा श्रद्धा र सम्झना गर्ने गर्दछन् । पुजाअर्चना गर्ने गर्दछन्, सायदै यतिको श्रद्धा, सम्मान र पुजाअर्चना अरु कुनै व्यक्ति र भगवानलाई गर्छन् होला ?

भगवान् सिद्धार्थ गौतम बुद्ध धर्मका प्रणेता समेत हुन् । अधिकांश बौद्ध परम्पराले उनीलाई हाम्रो कल्पका एक सम्यक सम्बुद्धको रूपमा मान्दछन् । बुद्ध भन्नाले बोधिप्राप्त वा अन्तिम सत्यको साक्षात्कार गरेको महामानव बुझिन्छ । गौतम बुद्धको बास्तबिक नाम सिद्धार्थ गौतम थियो । बालक सिद्धार्थको जन्म भएको ७ दिनपछि सौतेनी आमा गौतमी ले पालनपोषण गरेको हुनाले सौतेनी आमाको नामबाट बालकको नाम गौतम पनि रहन गएको हो । सिद्धार्थ बुद्धको जन्म र मृत्यु कहिले भयो भनी यकिनका साथ भन्न नसकिए पनि बिसौं शताब्दिका धेरैजसो इतिहासकार उनको जीवनकाल ५६३ ईशापूर्व देखि ४८३ ईशापूर्व रहेको भन्ने कुरामा एकमत देखिन्छन् । पछिल्लो समयमा भएका अनुसन्धान अनुसार उनको मृत्यु ४८६ देखि ४८३ ईशापूर्वको वीचमा रहेको मानिएको छ । तथापि सिद्धार्थ बुद्धको जन्म बैशाख शुक्ल पूर्णिमाको दिन हाल नेपालको रूपन्देही जिल्लाको लुम्बिनी ल्हुङ्गबेनीमा भएको थियो । उनले आफ्नो जीवनकालको पहिलो २९ वर्ष पिताद्वारा प्रदत्त राजसी सुखमा बिताए । तर पनि उनी सदा संसारमा व्याप्त दुःखको कारण र त्यसको निवारण के होला ? यही कठिन ध्यान र खोजको माध्ययमबाट दुःख निवारणको सत्यमार्ग पत्ता लगाउने उद्देश्यले २९ वर्षको उमेरमा गृहत्याग गरी तपस्या गरे । त्यसपछि शेष ४५ वर्षसम्म उनी भारत र नेपालका बिभिन्न ठाउँ पुगी दुःख निवारण सम्वन्धी आफूलाई प्राप्त महाज्ञान बाँड्न समर्पित भएका थिए ।

संसारमा दुःख छ, दुःखको कारण छ, र समाधान पनि छ । पागलपन जस्तो कुनै आगो हुँदैन, घृणा जस्तो कुनै अपराध हुँदैन, मुर्खता जस्तो कुनै जाल हुँदैन, लोभ जस्तो कुनै बाढी हुँदैन । भगवान गौतम बुद्धको यस्ता जीवन दर्शन आजका दिनमा पनि अनुकरणीय र प्रेरणादायक छन् । उनले आत्मसाथ गरेका र आम मानव समुदायमा छोडेका यि प्रेरक सन्देशलाई हाम्रो दैनिक जीवन व्यवहारमा उपयोग मात्र गर्न सक्ने हो भने पनि हाम्रा जीवनहरु निकै सुन्दर, सफल र सार्थक हुने निश्चित छ । जीवन मात्रै होइन, हिंसा मुक्त समाज र देश, तनाव मुक्त मन र रोग मुक्त शरीर पाउथ्यौं होला । बुद्ध जयन्तीमा सकरात्मक सोचका साथ यस्ता सत्कर्म र सत्विचारहरुमा मन्थन गरौं ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *