पाँच स्थानीय तहमा चिकित्सक सहित कोरोना अस्पताल

आदर्श अनलाइन, बागलुङ
बागलुङ जिल्लामा कोरोना संक्रमण बढ्दो छ । कोरोना रोकथाम र नियन्त्रणका लागि स्थानीय तहले सिमित स्रोत र साधनका बीच यथासक्य काम गर्दै आएका छन् । यद्यपि नागरिकमा सचेतनामा कमी र लापरवाही हुँदा दुरदराजका गाउँहरु कोरोनाका हट स्पट बन्दै गइरहेका छन् । अहिले बागलुङका दश स्थानीय तह मध्ये पाँच स्थानीय तहले डाक्टर, अक्सिजन सहितको सुविधा सम्पन्न कोभिड अस्पताल सञ्चालनमा ल्याएका छन् ।

जिल्लामा सबै स्थानीय तहले अक्सिजन सहितका आइसोलेशन कक्ष स्थापना गरे पनि पाँच स्थानीय तहमा मात्रै डाक्टर रहेका छन् । सरकारले अस्थायी कोरोना अस्पतालका लागि एक पालिकामा एक डाक्टरको दरबन्दी तोके पनि पाँच वटा स्थानीय तहले डाक्टर नियुक्ति गर्न नसकेको जिल्ला प्रशासन कार्यालय बागलुङका प्रशासकीय अधिकृत गणेश गौतमले जानकारी दिनुभयो ।

“डाक्टरको अभाव जिल्लाको धौलागिरी अस्पतालमा समेत छ, केही स्थानीय तहले सेवा सुविधा थप गरेर समेत डाक्टर राख्नुभएको छ” गौतमले भन्नुभयो “बागलुङ नगरपालिकाको आइसोलेशनमा अस्पतालकै डाक्टरले सेवा दिएका छन्, अन्य चार पालिकामा भने डाक्टर नभए पनि नर्सहरुले सेवा दिएका हुन् ।” डाक्टर सहितको कोरोना अस्पताललाई मान्यता दिए पनि अन्यले समेत कोरोना कहरमा सेवा दिइरहनु राम्रो भएको गौतमको भनाई छ । डाक्टर र एम्बुलेन्स सहितको आइसोलेशन प्रभावकारी हुने र अन्य आइसोलेशनले बिरामीको सामान्य हेरचाह मात्रै गर्न सक्ने जिल्ला प्रशासनको ठहर छ ।

जिल्लामा डाक्टर, अक्सिजन र एम्बुलेन्स सहितका १२० शैयाको कोरोना अस्पताल र ३७ शैयाको अक्सिजन सहितको अस्पताल गरी जिल्लामा जम्मा १५७ बेडको अस्थायी कोरोना अस्पताल रहेको जिल्ला प्रशासनको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

जिल्लाको धौलागिरी अस्पतालमा ३५ शैयाको आइसोलेशनमा २१ जना डाक्टर कार्यरत रहेको र १० स्थानीय तह मध्ये १० बेडको ढोरपाटन अस्थायी कोरोना अस्पतालमा तीन डाक्टर र दुई नर्स, बागलुङ नगरपालिकाको रात्माटामा रहेको ३५ बेडको आइसोलेशनमा धौलागिरी अस्पतालका डाक्टरहरुले नियमित हेरचाह गरिरहेको, ताराखोला गाउँपालिकामा एक चिकित्सक, अक्सिजन तथा एम्बुलेन्स सहित १५ शैयाको अस्पताल, जिल्लाको बरेङ गाउँपालिकामा एक चिकित्सक, अक्सिजन तथा एम्बुलेन्स सहित पाँच शैयाको अस्पतालले सेवा दिइरहेका छन् ।

यस्तै जिल्लाको बडिगाड गाउँपालिकामा एक चिकित्सक, चार नर्स सहित १० शैया र गलकोट नगरपालिकामा दुई चिकित्सक सहितको अस्पताल सञ्चालनमा रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यस्तै निसीखोला गाउँपालिकामा पाँच शैयाको कोरोना अस्पताल सञ्चालनमा आएपनि चिकित्सक छैनन् । जिल्लाको जैमिनी नगरपालिकामा १२ शैयाको कोरोना अस्पताल सञ्चालनमा ल्याउने तयारी भएपनि डाक्टरको करार सकिएकाले केही ढिलाई भएको छ । तमानखोलामा ५ शैयाको कोरोना अस्पताल र काठेखोलामा ५ शैयाको कोरोना अस्पताल सञ्चालनको तयारीमा रहेको छ ।

जिल्ला प्रशासनको तथ्याङक अनुसार डाक्टर सहितका ६ अस्पतालमा १२० शैया, नर्स सहितको चार अस्पतालमा ३७ वेड सञ्चालनमा रहेको तमानखोला गाउँपालिका र निसीखोला गाउँपालिकाले सञ्चालन गरेको अस्पताल बाहे सबै अस्पतालमा एक/एक वटा गरी ९ वटा एम्बुलेन्स समेत व्यवस्था गरिएको छ । यस्तै जिल्लाका सबै कोरोना अस्पतालमा ३० डाक्टर ७६ नर्स तथा ३३१ वटा अक्सिजन सिलिण्डर रहेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *