नेपाललाई थप १० लाख डोज खोप दिने चिनियाँ राष्ट्रपतिको घोषणा


काठमाण्डौं । चीनले नेपाललाई थप १० लाख डोज कोरोना खोप अनुदान दिने भएको छ । चिनियाँ राष्ट्रपति सी चिनजिङले बुधबार दिउँसो यस्तो घोषणा गरेको काठमाडौंस्थित चिनियाँ राजदूत होउ यान्छीले जानकारी दिनुभयो ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग टेलिफोन कुराकानी गरेलगत्तै चिनियाँ राष्ट्रपतिले यस्तो घोषणा गर्नुभएको हो । चीनले यसअघि नेपाललाई ८ लाख डोज कोरोनाविरूद्धको खोप अनुदान दिएको थियो ।

बुधबार दिउँसो राष्ट्रपति भण्डारीले चिनियाँ समकक्षी सी चिनफिङसँग पौने घन्टा टेलिफोन वार्ता गर्नुभएको थियो । राष्ट्रपति भण्डारीका सञ्चार विज्ञ टीका ढकालका अनुसार भण्डारी र चिनफिङबीच झन्डै पौने घन्टा कुरा भएको थियो । कुराकानीका क्रममा राष्ट्रपति भण्डारी नेपाल सबै नेपालीलाई पुग्ने खोप चीनबाट किन्न इच्छुक रहेको उल्लेख गर्दै त्यसका लागि पहल गरिदिन अनुरोध गर्नुभएको थियो ।

जवाफमा राष्ट्रपति चिनफिङले नेपालजस्तो मित्र राष्ट्रलाई सहयोग गर्न आफूले पहल गर्ने बताउनुभयो । दुई देशका राष्ट्रपतिबीच कुराकानी गराउन दुबै देशका परराष्ट्र मन्त्रालयले केही दिनदेखि तयारी थाल्नुभएको थियो ।

राष्ट्राध्यक्षको तहमा कुराकानी हुँदा सरकार र कूटनीतिक नियोगलाई पनि काम गर्न सजिलो हुने भएकाले राष्ट्रपति भण्डारीले दुबै देशका समकक्षीलाई खोपका लागि अनुरोध गरेको सञ्चार विज्ञ ढकालले बताउनुभयो । मंगलबार भारतीय समकक्षीलाई पठाएको पत्रमा राष्ट्रपति भण्डारीले भारतले यसअघि अनुदानमा दिएको खोपका लागि भारत र भारतीय जनतालाई धन्यवाद दिनुभएको छ ।

नेपाल सरकारले खोप किन्नका लागि मार्चमा रकम तिरिसकेको छ । राष्ट्रपतिले भने त्यही खोप र थप खोप पठाउने पहल गरिदिन आग्रह गर्नुभएको छ । भारतले यसअघि १० लाख खोप अनुदान दिएको थियो । त्यसपछि नेपालले २० लाख खोप किन्नका लागि भारतलाई रकम उपलब्ध गराएको थियो । त्योमध्ये १० लाख खोप आएको छ भने बाँकी १० लाख आएको छैन ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *