नौमती र पञ्चेबाजा जोगाउन ढोरपाटन नगरपालिकाको साथ

सुमन सुनार, बुर्तिबाङ

परम्परागत नौमती र पञ्चेबाजा लोप हुन थाले पछि ढोरपाटन नगरपालिका वडा नं. १ को कार्यालय यसको संरक्षणमा जुटेको छ ।

मौलिक बाजा नौमती पञ्चेबाजा पश्चिमा संस्कृतिको प्रभावले लोप हुने अवस्थामा पुगेको भन्दै वडा कार्यालयद्धारा यसको संरक्षण थालिएको हो ।

विवाह, व्रतबन्ध, विभिन्न पर्व, उत्सव तथा शुभकार्यमा बजाइने पञ्चेबाजाको संरक्षणका लागि भन्दै वडा कार्यालयले वडामा रहेको एक मात्र पञ्चेबाजा समुह बुर्तिबाङ पञ्चेबाजा समुहका लागि पोशाक उपलब्ध गराएको छ । १० जनाको समुह रहेको उक्त पञ्चेबाजा समुहलाई प्रतिव्यक्ति एकएक सेटका दरले करिब रु. ४० हजार बराबरको (ट्रयाकसुट) पोशाक उपलब्ध गराइएको वडा अध्यक्ष चित्र बहादुर भण्डारीले बताउनुभयो ।

आज ढोरपाटन नगर कार्यपालिका कार्यालयमा एक कार्यक्रमका विच पञ्चेबाजा समुहलाई पोशाक वितरण गरिएको छ । पोशाक वितरण गर्दै नगर प्रमुख देवकुमार नेपालीले आधुनिकतासँगै पश्चिमा संस्कृतिको प्रभावका कारण गाउँघरमा पञ्चेबाजा बजाउने मानिस नै भेटिन छोडेको भन्दै यस्तो अवस्थामा यसको संरक्षणमा सबै लाग्नुपर्ने बताउनुभयो । पञ्चेबाजालाई बदलिदो समयसंगै व्यवसायीक बनाउन नसक्दा यस तर्फ युवाहरुको आकर्षण घट्दै गएको र दलित समुदायको आफ्नो पहिचान मेटिन थालेको भन्दै नगर प्रमु्ख नेपालीले दुःख व्यक्त गर्नुभयो । शिक्षाको स्तर सुधार हुँदै गएपछि मौलिकता हराउँदै गएको भन्दै नेपालीले आधुनिकता बढ्यो भन्दैमा आफ्नो पहिचान नै बिर्सन नहुने बताउनुभयो ।

पञ्चेबाजा संरक्षणका लागि आवश्यक पूर्वाधार तयार गर्ने तथा थप योजना बनाएर अगाडि बढ्ने वडा अध्यक्ष भण्डारीको भनाई छ । मौलिकता र संस्कृतिको संरक्षणका लागि कुनै एक जात विशेषले मात्र गरेर नहुने भन्दै वडा अध्यक्ष भण्डारीले सबैले संरक्षणका लागि जागरुक हुनुपर्ने बताउनुभयो ।
पञ्चेबाजा बजाउनेको पेसागत प्रतिष्ठा, पारिश्रमिक र भविष्य लगायत कुराको कारण देखाउँदै दलित समुदायका नागरिकले पञ्चेबाजा बजाउन छोड्दै गई रहेको अवस्थामा बुर्तिबाङमा रहेको पञ्चेबाजा समुहले भने यसलाई निरन्तरता दिँदै आएको छ ।

उक्त समुहले कसैको विवाह, व्रतबन्ध सहित विभिन्न शुभकार्यमा पञ्चेबाजा बजाए बापत स्थान हेरेर रु. १० हजार देखि ५० हजार सम्म लिने गरेका छन् । निमन्त्रणा पाएसम्म उनिहरु बाजा बजाउन ढोरपाटन नगरपालिका सहित अन्य छिमेकी पालिकाका विभिन्न स्थानहरु सम्म पुग्ने गरेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *