सरोजराज पन्त
नेपाल आकारमा सानो भएता पनि विविधता भित्र एकता र आंफ्नो छुट्टै मौलिक पहिचान भएको एक सुन्दर राष्ट्र नेपालको भु संरचना अनुसार कतै समथर फाँट कतै अग्ला पहाडहरु रहेका छन । हिमाल पहाड र तराईको हावा पानी र भुगोल अनुसार त्यहाँका मानिसहरुले अँगालेको पेशा र व्यवसाय फरक रहेको छ । हिमाली क्षेत्रमा पशुपालन पर्यटन तथा जडिबुटी संकलन पहाडी प्रदेशमा पशुपालन फलफुल र तरकारी खेती र नेपालको अन्न भण्डार मानिने तराई प्रदेशमा कृषि पेशा अगाल्ने मानिसहरुको बाहुल्यता रहेको छ । तथापि हामी अहिलेसम्म खाद्यान्न, दलहन, तेलहन तथा तरकारी उत्पादनमा समेत आत्मनिर्भर छैनौ ।
वर्तमान समयमा देशमा बेरोजगार युवाहरु दिन प्रतिदिन बिदेशिने क्रम बढदो छ । दक्ष जनशक्ति विदेश पलायन हुँदा गाउँमा वुढावुढी र भुराभुरी मात्रै रहेका छन । आफ्नो देशमा केहि गर्न सक्ने वातावरण नभए पछि धेरै वर्ष बिदेशिएर आफ्नो गाउँ फर्केका युवाहरु कृषि तथा पशुपालनमा सक्रिय भएको पाइन्छ । पशुपालन व्यवसाय अङ्गालेर दुध उत्पादन गरी गाउँदेखि स्थानीय बजारसम्म दुध निर्यात गरी राम्रो आम्दानी गर्न सकिने उदाहरण दिँदै पहिचान बनाउन सफल गाउँ हा,े बिहुँ जहाँ मानिसहरु पशुपालन र दुध उत्पादनमा क्रियाशील छन ।
काठेखोला गाउँपालिका वार्ड नं ६ बिहुँ कृषि उत्पादनको दृष्टिले अत्यन्तै महत्वपुर्ण मानिन्छ । यहाँ कृषकहरु बिगत देखिनै दुध र फलफुल क्षेत्रमा लागि परेको, उत्पादनबाट आत्मनिर्भर बन्दै गएको पाइन्छ । बिगतमा सबैजसो मानिसहरु कृषि पेशामा लागे तापनि यस काँठेखोला गाउँँपालिका कृषकहरुले ब्यवसायिक रुपमा दुध उत्पादन गरी नमुना दुध सहकारी संस्थामा दुध संकलन गर्ने गरेको पाइन्छ । समुदायका महिलाहरु शिक्षा तथा रोजगारीका अवसरबाट बञ्चित भएतापनि आँफै मेहनत गरी राम्रो आर्थिक आयआर्जन गर्ने गरेको पाइन्छ । वर्तमान समयमा विकास भएको सञ्चार तथा यातायातको विकासले गर्दा गाउँमा उत्पादित दुध तथा अन्य स्थानीय उत्पादनहरु बजारसम्म पु¥याउने सहज वातावरण बनेको छ ।
नेपालभित्रको नेपाल बागलुङ, झोलुङ्गे पुलको जिल्ला, कम्बल तथा हुक्कानली, छाउने ढुङ्गा, ढोरपाटन, ताराखोला क्षेत्रमा आलु राडिपाखी, टायल, तामा, फलाम ,सिसा, कोइला तथा स्लेट ढुङगाका खानिहरु तथा अन्य क्षेत्रमा तरकारी, फलफुलहरुमा सुन्तला, नास्पति, केरा, दुध, घ्यू, कफि, मह विभिन्न प्रकारका जडिबुटिहरु उत्पादनको लागि प्रख्यात छ । यद्यपि उचित भण्डारण र बजारिकरण गर्न नसकेको कारण अपेक्षित काम हुन सकेको छैन । तथापि व्यवसायिक पशुुपालनको प्रचुर सम्भावना रहेकोले यस क्षेत्रमा कृषकहरुलाई उत्साहित गर्न सकेमा ठुलो फडको मार्न सक्ने देखिन्छ । बागलुङ जिल्ला बिकासको प्रमुख आधार पर्यटनका कालिका मन्दिरमा पर्यटकिय सेवा सुबिधा र आर्कषण थप गर्ने, पञ्चकोट धामसम्म पुग्ने केबलकार सञ्चालन, घुम्टेमा ब्यबस्थित पैदलमार्ग र बसोबासको सुबिधा एवं ढोरपाटनसम्म पुग्न सहज मोटरबाटो निर्माणसँगै यहाँका वन पैदावारको उचित प्रयोग गरि फर्निचर उधोग सञ्चालन, निकासी प्रर्बधन, सल्लाको खोटो सङकलन र प्रसोधन, अल्लोको कपडा, सिस्नोको पाउडर, हातेकागजको उत्पादन बजारिकरण तथा उच्च भेगहरुमा पाईने जडिबुटिहरुको सङकलन र प्रसोधन गर्न सकेमा आर्थिक समृद्धि ल्याउन, आयात प्रतिस्थापन गर्न, औधोगिक विकास र रोजगारीको सृजना गर्न, होटल, लज र जंगल सफारिका लागि सुविधाहरुको बिस्तार गर्न सके आन्तरिक तथा बाह्य पर्यटनहरु भित्राउन सकिन्छ ।
आठवटा वडाहरु रहेको यस गाउँपालिकाको जनसख्या २६०८३ रहेको छ । जसमा कुल १०९६३ महिला र १५१२० जना पुरुषहरु रहेका छन । सबै मानिसहरुले हिन्दु धर्म मान्न्दछन् । पाला, सिगाना, भिमपोखरा, तङग्राम, रेश र लेखानीसँग सीमाना जोडिएको विहँुमा करिब ५२७ बर्षको ऐतिहासिक पृष्ठभुमी बोकेका २ वटा कोटहरु साविक वार्ड नं ४ मा रहेका छन । काठेखोला गाउँपालिका वार्ड नं ५ र ६ को सिमानामा रहेको ऐतिहासिक बिहँुकोट शिबालय, ब्रह्मलिन १००८ स्वामी परमानन्द सरस्वती महाराजको जन्मभूमिमा अवस्थित राम मन्दिर साबिक वडा नं ३ मा रहेको छ । साबिक वडा नं १ को चौरिमा लक्ष्मीनारायण मन्दिर र साबिक बिहँुकोट २ किम्बोटमा गणेश मन्दिर, भिमसेन क्याम्पसका तटमा जोडिएको सरस्वती मन्दिर विहँुका धार्मिक तथा ऐतिहासिक स्थल हुन ।
मध्य पहाडी लोकमार्ग यस क्षेत्रको मुख्य सडकको रुपमा रहेको छ भने अन्य सडकहरुमा इनारपानी हटिया देखि धुवाखोला देउराली सडकखण्ड, दोबिल्ला किम्बोट सडकखण्ड, किम्बोट फापरचौर सडकखण्ड आदिले गर्दा सम्भावनाहरु थपिएका छन । यस काठेखोला वार्ड नं ६ मा १ स्वास्थ्य चौकी, १ आर्युबेदिक स्वास्थ्य चौकी, ४ वटा निजी क्लीनिकहरु रहेका छन । यस क्षेत्रका मानिसहरु सामान्य उपचार गाउँमा नै गर्दछन भने गम्भीर प्रकृतिको चोटपटक र रोगको लागि बागलुङ बजार तथा अन्य स्थानमा जाने गर्दछन । यस काठेखोला गाउँपालिका वडा नं ६ विहँुमा एउटा क्याम्पस श्री भिमसेन क्याम्पस र ६ वटा बिद्यालयहरु रहेका छन । चार ओटा बाल विकास केन्दहरु्र तथा २ ओटा दुग्ध उत्पादक सहकारी, चार ओटा ऋण तथा बचत सहकारी र ३ ओटा व्यावसायिक महिला कृषि सहकारी रहेकोले यहाँको विकासमा महिला सहभागिता वढदै गएको पाइन्छ ।
बागलुङ जिल्लाको अन्य क्षेत्रभन्दा यस क्षेत्र कृषि उत्पादनको हिसाबले अत्यन्तै महत्वपूर्ण रहेको छ । विशेषगरी दुधजन्य पदार्थ उत्पादन र फलफुल खेतिको लागि उपयुक्त रहेको यो क्षेत्रमा धेरै मानिसहरु बैदेशिक रोजगारमा गएको पाइन्छ । यद्यपि गाँउमा रहेका युवाहरु दुध उत्पादन र फलफुल खेतिप्रति आर्कषित भएर जीविको पार्जन गरेको पाइन्छ । यहाँ खाद्यान्न, दलहन, तेलहन तथा तरकारीहरु कम मात्रामा उत्पादन हुने भएपनि यहाँ सुन्तला खेति तथा दुध उत्पादनको प्रशस्त सम्भावना रहेको छ । खानेपानीको राम्रो सुविधा रहेपनि यस वडामा ठूला पानीका मुहानहरु नरहेको र सिचाईको लागि काठेखोला तथा भुदिखोलाबाट पम्पिङ गर्नु बाहेक अन्य विकल्प नरहेकोले सिँचाइको सहज हुन सकेको छैन । आकाशे पानीको भरमा यहाँका किसानहरु खेति गर्न विवश छन् ।
विकासमा यस क्षेत्रले विस्तारै फडको मारेको छ । सबै घरधुरीमा केन्द्रिय प्रसारणको विधुत सेवा उपलब्ध छ । लोडसेडिङको समस्याको कारण धेरैजसो घरधुरीमा सोलर तथा इन्भटरको समेत ब्यवस्था गरेको पाइन्छ । यहाँका सबै मानिसले मोबाइल फोन प्रयोग गर्दछन । गाउँमा केबल टिभी तथा इन्टरनेट सेवा विस्तार भएको छ । यहाँका युवाहरु रोजगारीका लागि जापान, अमेरिका, अष्ट्रेलिया गएका छन भने नेपालमा जागिर गर्नेहरु प्राध्यापन र कृषि पेशामा संलग्न छन । गाउँमा रहेका जनशक्तिहरुले सुन्तला खेति र दुध बिक्रि गरेर राम्रो आयआर्जन गरिरहेका छन ।
आफ्नो उपभोगको लागि मात्र भनेर पशुपालन गरिरहेका कृषकहरु अहिले उत्पादित दुध डेरीमा संकलन गर्ने र मासिक रुपमा राम्रो आम्दानी गरेर सहकारीमा बचत गर्ने गरेका छन । सहकारीमा बचत तथा ऋणको कारोबार गर्दै श्री नमुना दुध उत्पादक सहकारी संस्था मार्फत तालिम गरेका छन । बागलुङ बजारबाट करिब १० कि.मीको दुरीमा रहेको यस संस्थाको मुख्य कार्यालय बिहँुकोट २ किम्बोटमा र अन्य शाखाहरु भिमपोखरा, दपासा तथा तंग्राममा रहेको छ । यस क्षेत्रका मानिसहरु पशुपालनमा आर्कषित हुनुमा सहकारी संस्थाको महत्वपूर्ण भूमिका रहेको छ ।
यस क्षेत्रमा कृषि तथा पशुपालनका निकै सम्भावनाहरु रहेका छन । अन्नबालि तथा फलफुलका लागि उपयुक्त माटो भएका कारण यस क्षेत्रका मानिसहरु यस पेशाप्रति आर्कषित भएका हुन । यस क्षेत्रमा कृषिको सम्भाबनाहरु रहका छन जसबाट आयातलाई पूर्ण प्रतिस्थापन गरी राष्ट्रिय अर्थतन्त्रमा योगदान हुन सक्ने, उत्पादन तथा उत्पादकत्व बृद्धि गरि केहि मुलुकहरुमा निकाशि प्रर्बधन गर्न सकिने, राष्ट्रलाई आत्मनिर्भर बनाउन यो क्षेत्र निकै बलियो आधार स्तम्भ हुन सक्ने, उत्पादकत्व कम रहेको वर्तमान अबस्थामा उचित प्रबिधि अबलम्बन गरी उत्पादकत्वमा उल्लेख्य सुधार गर्न सकिने देखिन्छ । पहिला कृषि तथा पशुपालनमा आधुनिक प्रबिधिको अबलम्बन गर्न नसक्नु, शिक्षा तथा सञ्चारको पहुँचबाट टाढा रहनु, यातायातको समस्या, उत्पादित कृषि उपजले राम्रो बजारभाउ नपाउनु आदि कारणले खासै अपेक्षित उपलब्धि हुन सकेको थिएन तर वर्तमान समयमा शिक्षा तथा सञ्चारको पहँुच, यातायातको सुविधा आदि कारणले यस क्षेत्रको आर्थिक उन्नति हुनुमा महत्वपूर्ण भुमिका खेलेको पाइन्छ । मानिसहरु अझै मेहनती तथा परिश्रमी हुनु, थोरै मात्रामा भएपनि आफुले कमाएको पैशा बचत गर्नुपर्छ भन्ने बानीको विकास हुनु, रोजगारी सृजना तथा आयआर्जनका अबसरमा बृद्वि हुनु अआदि कारणले गर्दा यो क्षेत्र अझै पहिचान बढाउन सकेको छ ।
यस क्षेत्रलाई दुध र फलफुलको पकेट क्षेत्रको रुपमा विकास गर्ने उदेश्यका साथ गाउँपालिकाबाट बिभिन्न कृषिसम्बन्धि तालिम तथा अनुदान र बेला बेलामा कृषि औजारहरु समेत बितरण गर्दै आईरहेको पाइन्छ । जसबाट यस पेशाप्रति अझ आर्कषित र झनै प्रतिबद्ध भएर लागिरहेको देखिन्छ । वर्तमान समयमा युवाहरुको बिदेश पलायन दिन प्रतिदिन बढिरहेकोले गाउँमा युवाहरुको संख्या कम हुदा विकासका धेरै सम्भावनाहरु भएपनि दक्ष युवा शक्तिको कमिको कारण सोचेजस्तो उपलब्धि हुन सकेको छैन । मानिसहरुको जिबिको पार्जनको मुख्य आध।र मानिने कृषि पेशामा आधुनिक कृषि औजार तथा प्रविधिको विकास तथा प्रयोग हुन नसक्दा देशले आर्थिक विकासमा फड्को मार्न सकेको छैन । परम्परागत प्रविधि तथा खेतियोग्य जमिन मासिदै जाने प्रवृृतिले गर्दा देशको आर्थिक विकासको मुख्य धरोहरको रुपमा रहेको कृषि पछाडि पर्दै गइरहेको छ । उब्जाउशील जमिन तथा कृषकहरुले गरेको मेहनतको कारण कृषि तथा पशुपालनमा आत्मनिर्भर बन्दै गएको छ । निर्बाहमुखी खेति प्रणालीबाट जिविकोपार्जन गर्न मुिस्कल भएको, युबाहरुको बिदेश पलायन बढिरहेको जमिन बाझो राख्ने प्रचलन दिनानुदिन बढ्दै गएको छ । आधुनिक खेती प्रणाली अबलम्बन गरी आत्मनिर्भरता तथा केहि मात्रामा भएपनि आयात प्रतिस्थापन तथा निर्यात प्रर्बधन गर्नमा सहयोग पुगेको छ ।
अहिले परनिर्भता बढ्नुमा स्वदेशमा प्रशस्त उद्योग धन्दा, कलकारखाना नहुनु, कृषि क्षेत्रमा क्षमतावान, पढेका व्यक्ति संलग्न नहुनु र हुन नखोज्नु, कृषिबाट जिविको पार्जन गर्न ग्राहो हुन, शिक्षालाई भन्दा धनलाई बढी प्राथमिकता दिने प्रकृति हावी हुनु, राज्य स्तरबाट रोजगार सृजना गर्न र जनशक्ति व्यवस्थापन गर्ने रणनीति बनाएर कार्यक्रम नल्याउनु, पाठ्यक्रम परम्परागत ढंगको नहुनु, युगीन माग र आवश्यकता अनुरुप शिक्षालाई व्यवस्थित गर्न नसक्नु, दातृ निकाय केन्द«ीत शिक्षा नीति नबनाउनु, माग केन्द«ीत, आवश्यक केन्द«ीत शिक्षा तर्फ सरोकार निकाय मौन हुनुका कारण आज सर्वसाधारण कृषि कार्य बोझिलो, क्रृणको पोको बन्न पुगेको छ । यस्तो अवस्थामा बिहँमा नगदे वाली, वेमौसमी खेती, केरा र मेवा, सुन्तला, लप्सी, अलैची, चिया, कफी आदि खेती, बाख्रा, कुखुरा, मौरी, आधुनिक गाई, भैसी पालनमा राज्यले लगानी बढाउने र आवश्यक तालिम दिन बिशेष ध्यान दिनु पर्ने देखिन्छ ।
त्यसो त परम्परागत कृषि प्रणालीलाई छोडेर यस क्षेत्रका धेरै मानिसहरु बिस्तारै आधुनिकता तर्फ उन्मुख हुदै गएका छन । कृषकहरुको पहल तथा यस क्षेत्रको आबश्यकतालाई मध्यनजर गर्दै काठेखोला गाउँपालिका कार्यालयले यस क्षेत्रका मानिसहरुलाई सहयोग गर्दै आएको छ । घाँस काट्ने मेसिन, मिनिटेलर हलो तथा फलफुल खेतिको लागि चाहिने औजार र बिऊ, मल आदि गाउँपालिकाले सहुलियत मुल्यमा कृषकहरुलाई उपलब्ध गराउदै आएको छ । यसका साथै पशुपालन गर्न चाहाने कृषकहरुको लागि यहाँको सहकारीबाट सहुलियत ऋणको व्यवस्था समेत गरेको भएपनि अझै कृषिका आधुनिक प्रविधिहरु भित्राउन र अबलम्बन गर्न, नमुना तथा व्यावसायिक कृषि फार्महरु स्थापना गर्ने तथा व्यावसायिक दृष्टिकोणबाट लाभदायक देखिएका सुन्तला, केरा, कागति,अकबरे खुर्सानी, अलैची आदि फलफुल खेति गर्ने कार्यहरुमा यहाँका मानिसहरुको आर्कषण बढ्दै गइरहेकोले कृषि तथा पशुपालनमा आधुनिकिकरण गर्नु आजको आवश्यकता हो ।
सुन्तला लगाएतका फलफुलको लागि कोलस्टोर बनाउने र दुधबाट उत्पादन हुने विभिन्न परिकारहरु जस्तैः छुर्पि, पनिर, चिज, ललिपप आदि गाउँमै बनाउन सकेमा अझै यो ठाँउले पहिचान बढाउन सक्दछ । यस्तै सिंचाइको अवस्था, माटोको परिक्षण गरी परम्परागत रुपमा लगाएको बालीनाली आदिलाई आधुनिक ढंगले सन्चालन गर्न थप अध्ययन अनुसन्धान तथा परीक्षण गरी त्यसको आधारमा कुनकुन ठाउँमा, के कस्ता बाली लगाउनु उपयुक्त हुन्छ, सोको पहिचान गरी खेती तथा व्यवसाय गर्न सकेमा र उन्नत जातका गाई भैसी, बाख्रा पालन गरी सहज रुपमा जिविको पार्जन गर्न सकिन्छ । कृषिका आधुनिक प्रविधिहरु अवलम्वन गरी नमुना तथा व्यवसायिक कृषि फर्महरु स्थापना गर्न सरकारले थप विभिन्न तालिम तथा अनुदानको व्यवस्था गर्न र आत्मनिर्भर बन्न सबैलाई प्रेरित गर्न सम्बन्धित निकायले समय सापेक्ष रुपमा सहयोग गर्न जरुरी छ ।