बागलुङमा नघटेको संक्रमण दर र खतरा

सम्पादकीय
बागलुङ जिल्ला पहिलो लहरमा पनि सुुरुमै देशव्यापी रुपमा भयावह बेहोर्ने जिल्ला बन्यो । गत वर्षको चैत्र दोस्रो साता राजधानीमा कोरोना संक्रमण पहिलो पटक देखिए सँगै विदेशबाटै फर्किएका बागलुङका दुई जनामा संक्रमण पुष्टि भयो । नेपालको पाँचौ र छैठौं संक्रमितको रुपमा जिल्लाका एक किशोरी र ६५ वर्षीया बृद्धामा पुुष्टि भए पछि जिल्लाभर त्रास पैदा भयो । छिमेकी जिल्लाहरुले बागलुङे भन्न साथ फरक व्यवहार गर्न थालिसकेका थिए । जिल्लामा प्रवेश निषेध नै गर्ने घोषणा गर्दा जिल्ला भित्रै पनि कोभिडको उपचार गर्ने धौलागिरी अस्पताल, स्वास्थ्य कार्यालय, एम्बुलेन्स चालक सबै भयभित अवस्थामा देखिएका थिए । संक्रमितलाई पहिलो पटक अस्पतालको आइसोलेशनमा ल्याउने क्रममा एम्बुलेन्स चालकनै फरार भएको घटना यसको एक ज्वलन्त उदाहरण हो ।

अहिले पनि दोस्रो लहरको नयाँ भेरियन्टले पनि बागलुङलाई ग्रस्त बनाइरहेको छ । पछिल्लो केही महिना यता १ हजार भन्दा बढी सक्रिय संक्रमित छन् । कोरोना भाइरस (कोभिडड १९) संक्रमणबाट निको हुने दर बढे पनि सक्रिय संक्रमितको यो संख्यामा अझै अपेक्षित रुपमा कमी आउन सकेको छैन । गाउँ गाउँमा कोरोना संक्रमण बढ्दो क्रममा छ । पछिल्लो २४ घण्टामा मात्रै १ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दोस्रो भेरियन्ट सुरु भए यता ३८ सय नागरिक जिल्लामा कोरोना संक्रमित बनिसकेका छन् । यसमध्ये २४ सय ८१ जना निको भएका छन् । कोरोनाबाटै ४३ जनाको ज्यान गइसकेको छ । आजको दिन सम्ममा १२ सय ६९ जना कोरोना जित्नका लागि संघर्षरत छन् । लक्षण सहितका बिरामीहरु घर घरमा देखिन थालेका छन् । कोरोना रोकथाम, उपचार र नियन्त्रणका लागि देशभर लकडाउन त गरिएको छ । तर, यस अवधिमा पनि कोरोना संक्रमण नरोकिनु गम्भीर कुरा हो ।

कोरोना संक्रमण र मृत्यदुर जुन अहिले बढ्दो छ । यसको रोकथाम र नियन्त्रणको अचुक उपाय भनेको तत्कालका लागि बन्दाबन्दी नै रहेछ । त्यो नेपालका लागि मात्र होइन, अरु विकसित देशहरुले गरेको अभ्यास पनि यही छ । फरक यति मात्रै हो कि अरु विकसित देशहरुले लकडाउन गरेर त्यही अवधिमा कोरोना नियन्त्रणको यथेष्ट तयारी गरेर आज भयाबहबाट जोगिने अवस्थामा पुगेका छन् । तर, हामी र हाम्रो देश नयाँ भेरियन्टको आगमन सँगै सयौं नागरिकले ज्यान गुमाउने, हजारौ नागरिक संक्रमित हुने र थप संक्रमणको खतरा कायमै छ । सरकार र राजनीतिक दलहरु यस्तो खतरा रोक्ने भन्दा सत्ताको दाउपेचमा छन् । कोरोना रोक्न लकडाउन त गरिएको छ । लकडाउनमा पनि कोरोना संक्रमण दरमा कमी नआउनुको कारण के हो ? यसबिचमा गर्ने भनिएको चेन ब्रेकको अवस्था के छ ? के हाम्रा यस अवधिका पहल र प्रयासहरु असफल सिद्ध भएका हुन् ? कि लकडाउन फितलो हुँदा संक्रमण फैलिरहेको हो ? यसमा नागरिक पनि स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन आनाकानी र खेलाँची गरिरहँदाको समस्या हो ? यसमा समिक्षा, बहस चिन्तन मनन गरौं । हामी सबै सचेत र जिम्मेवार बनौ । सरकारलाई मुख्यतः जवाफदेही बन्न खबरदारी गरौ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *