गलकोटका ७ सय विद्यार्थीले पुस्तक हेरेरै परीक्षा दिँदै

डम्मर बुढा मगर, बागलुङ
गलकोट नगरपालिकाले पालिका स्तरीय कक्षा ८ को वार्षिक परीक्षा अनलाइन प्रणाली मार्फत गर्न थालेको छ । लकडाउनका कारण विद्यार्थीहरुमा पढाई प्रति चासो घट्ने भन्दै अनलाइन मार्फत आन्तरिक मुल्याङ्कन गर्ने गरि परीक्षा संचालन गर्न थालेको नगर शिक्षा अधिकारी रुद्र नारायण सापकोटाले जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिले कक्षा ८ को मात्रै अनलाइनबाट परीक्षा गरिने छ । जिल्ला स्तरीय संचालन हुँदै आएको कक्षा ८ को परीक्षा नयाँ संघीय अभ्यास सुरु भएसँगै २०७४ सालदेखि स्थानीय तहले पालिका स्तरमा संचालन गर्दै आएको छ । परीक्षार्थीले नौँ वटा विषयको जाँच दिनुपर्ने छ । उनीहरुले नौ वटा विषयको परीक्षा पाँच दिन भित्र सक्नु पर्ने सापकोटाको भनाई छ ।

परीक्षा यही जेठ २१ देखि २५ गतेसम्म संचालन हुने नगरपालिकाले जनाएको छ । यो परीक्षा विद्यार्थीलाई पढाई प्रति आकर्षित गर्नका लागि मात्रै भएको नगर शिक्षा अधिकारी सापकोटाको भनाई छ । किनभने यस परीक्षामा विद्यार्थीले घरमा बसेर किताब हेरेर, आफन्तलाई सोधेर पनि उत्तर लेख्न पाउनेछन् । उनीहरुले आफ्नै पुस्तिकामा उत्तर लेख्ने छन् ।

‘लकडाउन छ, विद्यार्थीहरु यो समयमा पढाई तिर भन्दा बढी अन्य गतिबिधिमा लाग्छन्, पढाईलाई कम महत्व दिने हुँदा हामीले पढाई प्रति उनीहरुको ध्यानाकर्षण गराउनका लागि यो बिधि अपनाएका हौँ,’ नगर शिक्षा अधिकारी सापकोटाले भन्नुभयो ‘परीक्षा पाँच दिनको हुनेछ, पाँच दिनमा विद्यार्थीहरुले नौँ वटा विषयको परीक्षा दिनु पर्नेछ ।’

नगरपालिकाले लकडाउन अगाडि भौतिक रुपमै विद्यार्थीलाई उपस्थित गराएर परीक्षा दिने व्यवस्था गरे पनि कोरोनाको कारण लकडाउन भएपछि परीक्षा स्थगित भएको उहाँको भनाई छ । नगरपालिकाले जेठ ३ गतेदेखि १२ गतेसम्म परीक्षा संचालन गर्ने निर्णय गरेको थियो । नगरपालिका अन्तर्गतका सबै विद्यालका प्रधानाध्यपकसँगको बैठकले अनलाइन माध्यमबाट परीक्षा गर्ने निर्णय गरेको सापकोटाको भनाई छ । नगरपालिकाले पश्न पत्र तयार पारेर सबै विद्यालयमा पठाएको भन्दै विद्यालयले विद्यार्थीहरुलाई अनलाइन मार्फत प्रश्न वितरण गरिनेछ ।

‘कक्षा ८ को परीक्षा पालिका स्तरीय भएको हुँदा हामीले ३ गतेदेखि १२ गतेसम्म परीक्षा संचालन गर्ने निर्णय गरेका थियौँ, तर कोरोनाका कारण लकडाउन भयो, यसले गर्दा परीक्षा स्थगित भएको हो, परीक्षा गर्नका लागि हामीले सबै योजना बनाई सकेका थियोैँ, प्रश्न पत्र पनि तयार गरेका थियौँ, अहिले सोही प्रश्न विद्यार्थीलाई दिनेछौँ,’ उहाँले भन्नुभयो ‘यो परीक्षा फेला पासको होइन, हामीले विद्यार्थीको क्षमता अभिवृद्धि गर्न, पढाई लेखाई तर्फ केन्द्रीत गराउनका लागि मात्रै यो परीक्षा संचालन गर्न थालेका हौँ, यसको नतिजा जस्तो आए पनि विद्यार्थीको आन्तरिक मूल्याङकनबाटै शिक्षक साथीहरुले व्यवस्थापन गर्नुहुन्छ, यो त एउटा विद्यार्थीलाई पढाई प्रति ध्यान केन्द्रीत गराउने माध्यम मात्रै हो ।’

परीक्षामा सहभागी कुनै पनि परीक्षार्थीले परीक्षा बापतको फी तिर्न भने पर्ने छैन । यसका लागि गलकोट नगरपालिकाले छुट्टै बजेट बिनियोजन गरेको छ । परीक्षामा गलकोट नगरपालिका भित्र ७४९ परीक्षार्थी सहभागी हुँदै छन् ।

नगरपालिकाले यस वर्ष कक्षा पाँच र कक्षा आठको परीक्षा संचालनको लागि आन्तरिक स्रोतबाट तीन लाखलाई रुपैयाँ विनियोजन गरेको छ । उक्त रकम यस वर्ष खर्च नहुने शिक्षा अधिकारी सापकोटाले बताउनुभयो । उहाँले नेपाल सरकारले केन्द्रबाट प्रति परीक्षार्थी २५० का दरले रकम पठाउने हुँदा त्यहीबाट प्रश्न पत्र, प्रमाण पत्र, ढुवानी त्यहीबाट व्यवस्थापन हुने बताउनुभयो ।

‘गत वर्षमा हामीले कक्षा ५ र ८ को संचालन गर्दै आएका थियौँ, यस वर्ष ८ को मात्रै संचालन गर्ने भन्ने थियो, नगरपालिकाले आन्तरिक स्रोतबाट तीन लाख विनियोजन गरेको थियो तर परीक्षा नै नहुने भएपछि त्यो यस वर्ष खर्च हुँदैन’ सापकोटाले भन्नुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *