याम बहादुर थापा मगर
विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई अभावले सधै थिचोरेको हुन्छ । सरकारी विद्यालयमा पढ्ने विद्यार्थी विपन्न, गरीब, दुखीका सन्तान हुन्छन् । त्यसैले भविष्यका कर्णाधारलाई शिक्षाको ज्योति दिनका लागि विद्यालय पवित्र सरस्वतीको मन्दिर हो । भत्तजन विनाको मन्दिरको अर्थ नभए जस्तै विद्यार्थी विनाको विद्यालय भताभुंग हुन्छ । त्यसैले विद्यालयमा विद्यार्थीहरुलाई निरन्तर भर्ना अभियानमा सरिक गराउनु पर्दछ । कसरी विद्यार्थीहरु अब्बल दर्जाको नागरिक बनाउने भन्ने महत्वपूर्ण भूमिका विद्यालय परिवारको हुन्छ । विद्यार्थीलाई देशको गहनाको रुपमा विकास गर्न सक्नु चूनौतिपूर्ण जिम्मेवारी राज्य, नागरिक,समाज, परिवार, विद्यालयको रहन्छ । विद्यार्थीलाई उत्प्रेरणा दिलाउनका लागि छात्रवृत्तिले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । सरकारको छात्रवृत्ति सिमित विद्यार्थीहरु बिचमा प्रतिस्पर्धाको हिसाबले वितरण हुन्छ । आम रुपमा समतामुलक हिसावले छात्रवृत्तिलाई वितरण गर्न राज्य कोषको अपूर्णता रहेको छ । त्यसलाई प्रत्येक विद्यार्थी जनजनमा पु¥याउनका लागि अति जरुरी छ । सानो धन्यवाद, स्याबास जस्ता शब्दले आत्मबल दह्रो बनाई उत्प्रेरणा भर्ने सोचले सिक्दै, अगाडि बढ्दै नगद वा जिन्सी रुपी छात्रवृत्ति प्रदान गर्ने हिसावले छात्रवृत्ति कोष निर्माणमा जुटौ भन्ने महान अभियानमा लागौ । विद्यालयमा छात्रवृत्ति कोष जेहेन्दार,न्युन आय भएकालाई मात्र छ । मध्यम स्तरका विद्यार्थीहरुका लागि छात्रवृत्ति कोष स्थापना भएको छैन भन्दा पनि हुन्छ । अब्बल दर्जा विद्यार्थी मात्र नागरिक हैनन् । सबै विद्यार्थीहरुलाई समेट्ने गरि गृहकार्य गर्न जरुरी भएको छ । त्यसैेले सबै विद्यालयहरुका लागि उपयोगी अभियान हुन सक्ला भनी आलेख तयार गरेको छु ।
विद्यालयलाई चन्दादान,श्रमदान,विद्यादान गर्ने महानुभावहरुले अब एक वर्ष छात्रवृत्ति कोष निर्माण दान अभियानमा लाग्नका लागि अभिप्रेरित गरोस् र जनजनको विद्यालयमा छात्रवृत्ति कोष मुद्धती खाता होस् भन्ने आशयका साथ लेख लेखिएको हो ।
छात्रवृत्ति कोष कसरी संकलन गर्ने ?
आफ्नो गच्छे अनुसार प्रत्येक परिवारले न्युनतम ५ हजार वा सो भन्दा बढी अधिकतम रुपमा बोलकबोल गर्न लगाउने र सो रकमलाई स्वर्गिय पुर्खाको नामाकरण गरी अक्षयकोष मुद्धती खातामा सहकारीमा जम्मा गर्नुपर्दछ । सो रकमको ब्याज रकमलाई पुरस्कार स्वरुप वितरण विद्यार्थीहरुलाई गर्ने हो । कुलपुजामा मात्र पुर्खालाई सम्झने नभई सरस्वतीको मन्दिरमा समेत पुर्खाहरुलाई सम्झने गर्नुपर्दछ । सहकारी संस्थाको कारोवार समेत वृद्धि हुन्छ । तिहारमा खेल्ने देउसी भैलोमा गरिने कात्तिके दान यो वर्ष छात्रवृत्ति कोषमा दान गरेर महादानवीरको अग्रमोर्चामा आफूलाई उभ्याउने हुनुपर्दछ । दानवीरहरुलाई विद्यालयले सम्मान प्रदान गर्ने र एक विद्यालयले सुरुवात गरेर पूर्ण सञ्चालनमा आएको असल अभ्यासको अनुशरण अर्को छिमेकी विद्यालय,गाउँ समाज समेत दुत बनेर सन्देश पु¥याउनु पर्दछ ।
उपयोग कसरी गर्ने ?
जेहेन्दार छात्रवृत्ति सबै विद्यालयमा हुनुपर्दछ । गरिब तथा न्युन आयमा जेहेन्दार समावेश भएर छात्रवृत्ति कोष वितरण हुँदै आएको छ । अब छात्रवृत्ति कोषलाई अत्तिरित्त क्रियाकलाप जोडेर अगाडि बढाउने गनुपर्दछ । फलाना छात्रवृत्ति कोषको उपलक्ष्यमा हाजिरी जवाफ प्रतियोगिता, बत्तृत्व कला प्रतियोगिता, निबन्ध, कविता, कथा, गजल, गीत प्रतियोगिता, लोक नाँच प्रतियोगिता, भलिवल प्रतियोगिता, फुटबल प्रतियोगिता, दौड प्रतियोगिता लगायत शैक्षिक क्रियाकलापसँग जोडिएका गतिविधि गर्नमा उपयोग गर्नुपर्दछ । प्रत्येक विद्यार्थीहरु कोही नछुटुन्, कोही नदोहोरिहुन् भन्ने मान्यताले समतामूलक शैलीको अब्बल गरेको उत्प्रेरणा विद्यार्थीहरुलाई भर्नाका लागि छात्रवृत्ति कोष उपयोगमा ल्याउने गर्नुपर्दछ । ताकि प्रत्येक विद्यार्थीहरुको व्यक्तित्व विकासमा थोर बहुत टेवा पुगोस् भन्ने चाहना पुरा हुन्छ । प्रत्येक अक्षय कोषको प्रमाण अनिर्वाय रुपमा वितरण गर्ने र भोलिका दिनमा दस्ताबेजीकरण भई अभिलेखीकरण भैरहोस् ।
क-कसले गर्ने ?
पराम्परागत मान्यतामा विद्यालय भनेको ओदान रुपी अवधारणा व्याख्या गरिन्थ्यो । विद्यार्थी,अभिभावक र शिक्षकको त्रिमुर्तिको संगम स्थल विद्यालय हो । तर, आधुनिक भर्चुअल युगमा विद्यालय भनेको राजनैतिक नेता, कृषक, गोठालो, पत्रकार,कर्मचारी,नागरिक समाज,व्यापारी,प्राविधिक,आमा समुह,संघ संस्था सबै पक्ष र निकायको भएकोले छात्रवृत्ति कोषमा योगदान सबै पक्षले गर्ने हो । सारथी र आडभरोसा पाएका विद्यालयबाट सबै पक्षको लगानी छात्रवृत्ति कोष मार्फत विद्यालयलाई हुनु जरुरी छ । विद्यालयमा लगानी गर्नु भनेको शिक्षा रुपी जुनतारामा लगानी गर्नु हो । सबै तह र निकायका महानुभावहरुले छात्रवृत्ति कोष स्थापना गर्नमा लगानी गरि अब्बल दर्जाको नागरिक उत्पादन गर्नमा सदैव लागि पर्ने स्वाभिमानी नेपाली हुनुको विकल्प छैन । प्रवासी,गैरआवासीय नेपालीहरुले समेत मज्जाले सहभागिता जनाउन सक्नेछन् ।
कहिले गर्ने ?
जन्मदिन, वैवाहिक उत्सव, दशै, नववर्ष, तिहार, ल्होसार, मृत्यु तिथि, माघे संक्रान्ति लगायत छैठी,विवाह,न्वारन,मृत्युसस्कार आदि ३ सय पैसठी दिन नै शुभबार र तिथि हुनेछ । व्यवस्थापनका हिसावले धेरै भन्दा धेरै छात्रवृत्ति कोष स्थापना दाता भएमा रोलक्रम अनुसार सुची तयार गरी योजनाबद्ध तरिकाले लाग्न सकिन्छ । धेरै भन्दा धेरै घरपरिवारमा सन्देश पुगी पायक पर्ने विद्यालयमा गर्न सकिन्छ । जय भोलि नभनी आजकै दिन शुभदिन मानिन्छ ।
अन्तमा, हुन त आजभोली विश्वव्यापी रुपमा कोभिड १९ ले मानव जगतलाई एैया र आच्छु पारेको छ । तर, कोरोना कहरका बिचमा पनि शिक्षाको विश्लेषण गर्दा राम्रै होला भन्ने आशा एवम् विश्वासका साथ लेख लेखिएको हो । विस्तृत विवेचना र सविस्तार योजनाबद्ध तरिकाले बताउन र जानकारी लिनका लागि विद्यालयले गोष्ठी अन्तक्रिया,छलफल कार्यक्रममा सहजकर्ता, प्रवचनकर्ताको रुपमा आमन्त्रीत भएको समयमा विस्तृत जानकारी हुन सक्छ । त्यसबाट अधिक बालबालिका प्रत्यक्ष लाभान्बित बन्न सक्छन् ।