लक्षण भएकाले अनिवार्य पिसिआर परीक्षण गराऔं

सम्पादकीय
कोरोना भाइरस (कोभिड १९)को दोस्रो भेरियन्टको असर नेपालमा डरलाग्दो देखियो । गत वर्ष देखिएको पहिलो भेरियन्टले नयाँ हुँदाको भयावह र त्रास बढी भए पनि मानवीय क्षति कम भयो । तर, दोस्रो भेरियन्टले देशव्यापी रुपमा महामारीको रुप लियो । हजारौं नागरिकले अकालमै ज्यान गुमाउन बिबश भए । अहिले पनि लाखौं नागरिक अस्पतालका शैयामा कोरोना जित्न संघर्षरत छन् । कति मानिसहरु अक्सिजन सहितको बेड नपाएर छटपटिएका खबर पनि छन् । कति मानिसहरु देशका अधिक स्थानमा भएको बन्दाबन्दी –लकडाउन)कारण रोजीरोटी गुमाएका छन् । भोकभोकै दैनिकी बिताउनु पर्ने बाध्यतामा छन् । कोरोना रोकथाम, उपचार र नियन्त्रणका लागि सरकारले करिब एक महिना यता लकडाउन गरिरहेको छ । देशव्यापी रुपमा कोरोना तथ्यांक हेर्दा पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या केही घटेको छ । यसले अब कोरोना भयाबह कम हुने या नियन्त्रण उन्मुख अवस्थामा आएको आँकलन गरिरहेका छन् । तर, संक्रमण गाउँ गाउँमा फैलिएको अनुमान छ ।

देशव्यापी तथ्यांकमा कोरोना संक्रमण घटे पनि बागलुङ जिल्लाको तथ्यांक अझै सन्तोषजनक अवस्थाको छैन । पहिलो भेरियन्टमा कोरोनाका कारण जम्मा ११ जनाको मृत्यु भएकोमा अहिलेको दोस्रो भेरियन्टले ३२ जनाको मृत्यु भइसकेको छ । ३६ सय बढी संक्रमित भइसकका छन् । २४ सय जतिले कोरोना जितिसकेका पनि छन् । अझै १२ सय हाराहारीमा अहिले जिल्लाभर संक्रिय संक्रमित छन् । यो लामो लकडाउन भएको मिति यता एक हजारकै हाराहारीबाट संक्रमित संख्या घट्न सकिरहेको छैन । यसमा सरकारले परीक्षण नै घटाउन थालेको हो कि भन्ने शंका र संशय पनि कायमै छ । किनभने अब आर्थिक वर्षको अन्तिम समय आउँदैछ । सरकार परीक्षण घटाएर संक्रमण जोखिम भन्दै लगाएको निषेधाज्ञा हटाउने रणनीतिमा पनि हुन सक्छ । भलै अहिले सरकारले पिसिआर र एन्टिजिन परीक्षणको दायरा फराकिलो बनाएको बताइरहको छ ।

बागलुङमा केही साता यता एक हजार भन्दा बढी सक्रिय संक्रमित छन् । कोरोना संक्रमण बढ्नुमा पिसिआर समयमै जाँच नगर्ने प्रवृत्तिको फैलिँदो रुप हो भने पिसिआर नै नगर्ने, लक्षण सहितका बिरामीहरुले पनि रोग लुकाउने, आनाकानी गर्ने कारण अर्को हो । कोरोना रोक्न सरकारले अहिले लकडाउन गरिरहेको छ । सरकारले यति मात्रै होइन, समयमै खोप व्यवस्थापन देखि यथोचित परीक्षण र उपचारको प्रबन्ध गर्नुपथ्र्यो । सरकार यो महत्वपूर्ण जिम्मेवारीमा फितलो देखियो । अब सरकारलाई मात्र गाली गरेर संक्रमित नागरिकको ज्यान बाँच्दैन । यसका लागि स्वयम् नागरिकहरु पनि सचेत, सुरक्षित र जिम्मेवार बन्नुपर्दछ । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको छ भने समयमै पिसिआर परीक्षण गराऔ । परिवारमा पनि छुट्टै आइसोलेशनमा बसौ । तब मात्र कोरोना कम हुँदै नियन्त्रणको अवस्थामा पुग्नेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *