शिवशरण ज्ञवाली
म भाव शुन्य भएको धेरै दिन भइसक्यो । केही लेख्ने र डिलिट गर्ने क्रम निरन्तर चलिरहेकै छ । ऊ अस्पतालको ओन्कोलोजी वार्डको वेड नम्बर ४७ मा जीवनका आखिरी दिनमा अक्सिजनको सहारामा सास फेर्दै छ । म जान्छु हेर्छु अनि प्रायशः बाहिरै बस्छु । ऊ मृत्युको छत्रछाँयामा छ तापनि डाक्टर आउँदा मेरो मुटु ढुकढुक गरिरहन्छ । के भन्छन् ? डाक्टरले भनेर म प्रायशः डराइरहन्छु । महिमा नामकी डाक्टरले म सँग अम्बुज डाक्टरले अन्तिम अवस्थाका बिरामी राख्ने ठाउँका बारेमा केही भन्नु भा छ कि छैन भनेर एकदिन सोधेकी थिइन् । उनको त्यो सोधाइले मेरो मनमा थप कोलाहल मच्चियो । म डराएर डाक्टर अम्बुज आउने बेला अस्पतालबाट भागिसकेको थिएँ । जे सामना गर्ने हो ज्वाई गर्नुहुन्छ भनेर छाडिदिएँ । डाक्टर अम्बुजले तिन विकल्प दिए रे पहिलो अन्तिम अवस्थाका बिरामी राख्ने ठाउँमा लैजाने, दोस्रो घर लैजाने र तेस्रो अस्पतालमै राख्ने । शायद ज्वाईले अनुरोध गरेर अस्पतालमै राख्ने विकल्प रोज्नुभएछ । डाक्टरले त्यसलाई स्वीकार गरेर ऊ अस्पतालमा छ । आज डाक्टरले भने रे भाउजूसँग, ‘अब उहाँलाई कुनै औषधी चाहिदैन’ । केवल सास चलेको छ मुख बन्द भएको एकहप्ताभन्दा बढी भइसक्यो । नाकबाट पाइप लगाएर झोल खानेकुरा दिएको छ । अक्सिजन घटबड भइरहेकै छ । मलाई उसलाई दुखाइ छ कि छैन भन्ने जाँच्ने मन थियो । नभन्दै नर्सले स्लाइन पानी दिनका लागि उसको नसा खोज्दै थिइन् । मैले सकेसम्म नफेरौं भन्दा उनले होइन फेर्नुपर्ने भयो भनिन् । तर सुई घोच्न थाल्दा म त्यहाँ बस्न सकिन । फर्किएर भाउजूलाई सोधें, ‘सुई घोच्दा उसको कुनै प्रतिक्रिया थियो ?’ भाउजूले ‘नाइ’ भन्नुभयो । दुखाइ पनि सकिएछ । मलाई सकेसम्म रातमा र एक्लै पनि हिडडुल गर्न मेरा आफन्तले दिन छाड्नुभएको छ । आफन्तजनको ऊ प्रतिको समपर्ण मलाई धैर्य गर्ने र अगाडि बढ्ने अक्सिजन बनेको छ । हेर्छु अरुका एक बिरामी एक कुरुवा मात्रै हुन्छन्, त्यहाँ । तर हामी त हरेक दिन तिन चार जना जतिबेला पनि छौँ ।
यी पंक्तिहरु मैले ऊ बित्दै गर्दा लेखेको हुँ । शायद बितिसकेकी रहिछ । लेख्दै गर्दा अचानक सानिमाको छोरा भाइ मेरो रुममा आयो । उसले दाई अस्पताल जानुपर्ने भयो भन्दा मलाई कुरा बुझ्न बेर लागेन । ऊ अब यो संसारमा छैन भन्नेमा विश्वस्वत भएँ । बहिनी र भाउजू रुन थाले । म उनीहरुलाई सम्हालिन आग्रह गर्दै अस्पताल जान तयार भएँ । बाटोमा सोधेँ वास्तविकता के हो भाइ ? भाइले चतुरतापूर्वक भन्यो, ‘दाई अन्तिम धुकुरधुकर छ रे !’ धुकुरधुकर त म छँदै थियो । त्यसैले त्यो एउटा वहाना हो भन्नेमा म ढुक्क भएँ । म त्यति भावनामा बग्ने स्वभावकको होइन । परिवारै होइन । सबैजना यर्थाथको धरातलमै काम गर्दछौँ सधैं । भाइले बाइक पार्किङ गरेर आयो । अनि मेरो हात समात्यो । मलाई थाहा थियो । हात समात्नुपर्ने पनि केही थिएन । मैले उसका शरीरका सब अङ्गहरु मरेको देखिसकेको थिएँ । हात चल्दैनथे, खुट्टा चल्दैनथ्े, बोली बन्द थियो, शायद चेतनाको अंश पनि थिएन कि ? त्यसैले मैले उसको जीवन अब करिबकरिब समाप्त भइसकेको निष्कर्षमा म पुगिसकेको थिएँ । पश्चाताप र ग्लानीले हामी सबैलाई बेलाबेला पिरोल्थ्यो । सबै शक्ति लगाउँदा पनि उसलाई बचाउन सकेनौँ भन्ने ठूलो चिन्ता थियो । हामी प्रायशः घरमा अस्पतालमा मौन बस्दथ्यौँ । बहिनी लुकीलुकी पुराना फोटा हेरिहेरि रोएको मैले दुईचार चोटि भेटिसकेको थिएँ । क्यान्डाबाट भिडियोमा घन्टौँ मुख हेरेर गफ गर्नुपर्ने दाईले दिल्लीबाट हिडेदेखि अडियो कल गर्न थाल्नुभएको थियो ।
भाइले हात समातेर वार्डमा पु¥यायो । ज्वाई बाहिरै हुनुहुन्थ्यो । कतिबेला पनि भाउजूको साथ नछाड्ने ज्वाई बाहिर बस्नुभएको थियो । अब उसलाई साथ नचाहिने कुरामा म पहिल्यै विश्वस्त थिएँ । ज्वाईंले मलाई ‘दाई’ भन्नुभयो अनि बसिरहेको बेन्चबाट उठ्नुभयो । हामी दुवै वार्डको ढोकातर्फ लम्कियौँ । ढोकाबाट सिधै कुनामा रहेको बेडतर्फ ज्वाईंको संकेत थियो । हेरे सशरीर पूरै ढाकिएको थियो सधै उसैले ओढ्ने ब्लाङ्केटले । बेडमा संक्रमण हुन्छ भनेर लगाइएको पर्दा हटाइएको थियो । अब उसलाई कुनै संक्रमण हुँदैनथ्यो । ढोकाबाट भित्रको दृश्य देखेपछि म उल्टो पाइला पछि सर्दै गएर बेन्चमा थचक्क बसें । कसोकसो मन भरिएर आयो । सानो छोरो सम्झिएँ वृद्ध बाआमा सम्झिएँ । आमालाई थप दुख परेको जस्तो लाग्यो । छोरोले मसँग कुरै गरेन भनेर आमा रोएको खबर बाले केही घन्टा अगाडि सुनाउनुभएको थियो । हुनपनि के कुरा गर्ने भनेर आमासँग म धेरै भएको थियो नबोलेको ।
मेरो दायाँ र बाँया भाइ र ज्वाईं बस्नुभयो । हामी केहीबेर मौन भयौँ । धेरै मौन बस्न मिल्दैनथ्यो । त्यसैले मैले मुख फोरें । आखाँमा आँसु आउलान् झंै भए पछि म माथि सिलिङतिर हेर्थे । त्यहाँ पनि त्यही गरें । घर र ससुराल म आफै त्यो दुखद खबर सुनाएँ । बाँकी दाजुभाइलाई खबर गर्ने जिम्मा ज्वाईलाई दिएँ । दिल्लीमा लामो उपचार चलेको थियो । त्यहाँ मेरा दाईहरु र छिमेकी दाइलाई भाउजुले खबर गर्नुभएछ । मामामाइजुलाई पनि खबर गर्नु भएछ । बाँकी खबर बाबुराम दाईले गर्नुभएछ । एकछिनमा अस्पतालमा आफन्तहरु एकएक गर्दै जम्मा हुनुभयो । ज्वाईँले मलाई घाटमा जाने नजाने कुरा सोध्दै मेरो विचारमा तपाईं नजानु राम्रो हुन्छ भन्नुभयो । मैले अन्तिमपटक उसको मुख हेर्छु भने अनि ज्वाई र म बेड नजिक गयाँै । ज्वाईले नै ब्लाङ्केट हटाएर मुख खोल्दिनुभयो । मैले मुख हेरे । जस्ताको तस्तै थियो । दुर्भाग्य भनौं कि के भनौं म त्यसदिन अबेर घर जाने विचारमा थिएँ तर भइदियो के भने बहिनी र भाउजूले गाडी पाउनुभएनछ । त्यसकारण म घर जानुपर्ने भयो । बहिनीले एक मोटरसाइकल बुकिङ गरी भने मैले भाउजूलाई लिएर घर गएँ । त्यही बेला नै उसको प्राण गएछ । ज्वाईंलाई म घाटमा आउँछु तर घर गएर बहिनी र भाउजूलाई भेटेर आउँछु भने । मधुसुदनले घाटमा जाने हो भने किन कोठामा जाने भन्यो । मलाई किनकिन अस्पतालबाट भाग्न मन लाग्यो । त्यतिबेलासम्म ठूला ज्वाई पनि आइसक्नुभएको थियो । आजकाल सबैतिर राजनीतिक प्रभाव छ । त्यसैले मैले ज्वाईंलाई घाटमा कसैले मौनधारण लगायतका कुनै पनि कार्य गर्न खोजे ‘नगर्ने भन्नुहोला है’ भनेर म कोठातिर लागें । संयोग घाटमा कसैले पनि त्यो कुरा उठाएनछ ।
म एकदम डरपोक मान्छे हो । बिरामी देख्न सक्दिनथे, घाइते देख्न सक्दिनथे, चिच्चाएको रोएको देख्न सक्दिनथे तर अब मलाई डर हराइसकेको थियो । मेरो काँधले एउटा ठूलो दुख खपिसकेको थियो । म निकै स्वार्थी बनिसकेको थिएँ । आफै बेलाबेला आफैलाई भन्थे, ‘शिव तँ किन डराएको छस् ? आखिर मर्ने त होइन नि !’ म कति निष्ठुरी बने हुँला जस्तो लाग्छ । यही भन्दै मन बाँध्दै गर्थे । पछिल्लो पटक दिल्ली म बेहोसी अवस्थामै पुगेको थिएँ । कहि पनि मैले प्रष्ट देखिन । सधै धमिलो देख्थे किनकी म मुढो लिन जाँदै छु भनेर दिल्ली पुगेको थिएँ । यसै गरेरै म निडर बनेको थिएँ । नभए सानोमा आमा बिरामी हुँदा म भाग्थें तर आजकाल ‘भागेर कहाँ जाऊँ’ भन्दै म उसकै छेउमा सुत्थें । मृत्यु भएका मान्छेको अनुहार त म सितिमित्ति हेर्दैनथे । तर मलाई अब त्यस्तो डर लाग्न छाडिसकेको थियो । निडरतापूर्वक भिड्नु नै थियो । उपाय नै केही थिएन । त्यसकारण म घाटमा जाने निधोमा थिएँ । अस्पतालमा आफन्तहरु आइसक्नुभएको थियो । दागबत्ती जीवनलाई दिन भनेर अस्पतालबाट निस्किएँ । कोठामा पुगेर भाउजू, यमुना, निता भान्जी सबै भएर हामी घाटतिर लाग्यौँ । घाटमा पुग्दा शव गाडीबाट उतारेर ज्वाई र दाईहरुले ब्रह्मनालमा सुताइसक्नुभएको थियो । अनि म गएँ पानीको अँजुली दिएँ नमस्कार गरेर म फर्किए । अन्तिम माला र अबिर पनि लगाइदिए । अबिर लगाउँदा मेरो हात उसको निधारमा पुग्यो । पूरै चिसो निधारले म झसङ्ग भएँ । प्रचलन अनुसार शव बाँधिएपछि बोक्ने बेला आयो । म अगाडि नै थिएँ । एउटा काँध मैले हाले अर्को काँध ठूला ज्वाईंले हाल्नु भयो । काँध हालेको बेला कताकता ऊ मेरो श्रीमती मात्रै होइन आमा पनि रहिछ जस्तो लाग्यो । पछिल्लो काँध सुरुमा जीवनले पछि शायद सानिमाका छोराहरु विष्णु र गोविन्दले हाले कि ! बाबुराम दाई, अमर दाई पनि साथमै हुनुहुन्थ्यो । भतिज नवराज हामी परिवारका सदस्यहरु थियौँ । पछि चित्ताको परिक्रमा गराउँदा जीवन र ज्वाईहरुले गराउनुभयो कि ! छेउमा उभिएर म त्यो निर्मम दृश्य हेरिरहेको थिएँ । दागवती दिएपछि घाटमा काम गर्नेहरुले चित्तामा आगो बढाइदिएसँगै उसको शरीर आगो र धुवाँले छोप्दै लग्यो । आफैमा सानो शरीर धुँवाले छोपिन बेर लाग्ने कुरा भएन । पछि मैले खुट्टा जल्दै गरेको देखें । ती खुट्टाहरु जसले मलाई जीवनका दशवर्षमा अर्घाखाँची, गुल्मी र बागलुङमा आडआधार दिएका थिए । अब ती आर्यघाटमा जल्दै थिए । तिनै खुटाको वैशाखीमा म बागलुङमा उभिएको हुँ । खहरे पुगेर बोर्डिङ पढाएको मलाई राम्रै याद छ । अमृत पढाएको पनि याद छ । सरकारी सेवामा प्रवेशपछि उसले गरेका संघर्षहरु पनि मेरा लागि सम्झनामा छाडेर ऊ गई ।
वैशाखको आधाआधी भए पनि काठमाडौको मौसम चिसो थियो । हर कुराको जिम्मेवारी मेरो काँधमा थियो । भर्खर ६ वर्ष चल्दै गरेको छोरो र बाआमाको सम्झना आइरह्यो । दाईभाउजू साथमा भएको भा पनि अँगालो हालेर वा दाईको काखमा सुतेर चिच्चाइ चिच्चाइ रुने थिएँ नि भन्ने भयो । बहिनीहरुलाई मै सम्झाउनु पथ्र्थो । त्यसकारण मलाई रुने अवसर थिएन । घाटमा पनि हर प्रश्न आउँथे तिनको मैले उत्तर दिनुपथ्र्यो । त्यसकारण बेलाबेला यताउता गरिरहेको थिएँ । घाटमा आफन्त इष्टमित्र गरेर अठइस तिस जना जम्मा भएका थियौँ । विष्णु अंकल लगायत अन्य अंकलहरु पनि त्यहाँ आउनुभएको थियो । एक छिनपछि म विष्णु अंकलको छेउमा गएर बसें । चित्ता जलिरहेको छेउको बेन्चमा उहाँ बस्नुभएको थियो । काठमाडौँको रातको मौसम थोरै चिसो भइरहेको थियो । त्यही बसेका बेला कताकता त्यो चिताको आगोको रापले शरीर न्यायो भएको महसुस भयो । आबुई ! चित्ताको आगो पनि तापिदोरहेछ भनेर म झसङ्ग भएँ । शरीरको स्वभावलाई म बदल्न त कसरी सक्थें र ? अनि डराउनुपर्ने केही थिएन । जीवनमा बाँकी पनि केही थिएन । निडरता, ,निर्ममता र कठोरताको पहिचान मात्रै बाँकी थियो । दुई घन्टामा चित्ताको काम समाप्त भयो । अस्तु विर्सजनका लागि घाटेले जीवनलाई बोलाए । मैले हेरिराखें । जीवनले अस्तु विर्सजन गरेर चित्तामा पिण्ड दिने काम पनि गरे । पिण्ड सकेपछि अनायास मेरो मुखबाट निस्कियो, ‘सकियो’ । ज्वाईहरु मध्ये कसैले जवाफ दिनुभयो, ‘सबै सकियो ।’
हुनपनि हाम्रो डेढ वर्षदेखिका मेहनत, श्रम, सेवा, अस्पतालका यात्रा दिल्ली नेपालको चक्कर सबै सकिएको थियो । सबैभन्दा ठूलो उसले भोगेको दुख सकिएको थियो । चार्वाक दर्शनले भनेजस्तै उसको मुक्ति भएको थियो भने पड्दर्शनले भनेजस्तै उसको अझै अलिकति काम बाँकी थियो । तर मसँग भने केवल रिलजस्तै घुम्ने उसका सम्झनाहरु मात्रै थिए । ‘सिरानी मिलेन’ भन्दै बिस्ताराबाट उसले कहिले मलाई, कहिले बहिनीलाई, कहिले भाउजूलाई बोलाउने जस्तै थुप्रैथुप्रै यादहरु बाँकी थिए । अरु सबै सकिएको थियो । काम सकेर हामी राति घर फर्कियाँै करिब चार बजेतिर । घरमा पनि कोहाहल, चित्कारमात्रै बाँकी थियो, हामीसँग । भान्जा संकेत र कृतिले पनि त्यो रात उसकै नाममा अर्पित गरेका थिए । सारा विज्ञान फेल भएको दिन थियो ।
यी पंक्तिहरु लेख्दा म सुत्ने बिस्ताराको गोड्यानमा मेरो काठमाडौँबाट ल्याएको झोला रहेछ । ज्वाईं पनि आजकाल बहुत हुस्सु हुनुभएको छ । सारा बिर्सन थाल्नुभएको छ । झोला खोलेर हेरें, त्यहाँ उसको मृत्यु प्रमाणपत्र, घाटमा किनिएका सामानहरुको बिल रहेछन् । मैले त्यही झोलामै राखें । तर राति सपनामा उसको ब्लाङ्केट ओढाएको उसको मृत शरीर सपनामा मेरै घरको तुलसीको मइरोमा देखें । त्यसैले भोलिपल्ट मैले त्यो झोला त्यहाँबाट अर्को कोठामा सारिदिएँ । बिहेको सुटकेश त्यही कोठामा छ । त्यसभित्र भएको एल्बममा हाम्रा बिहेका तस्वीरहरु छन् । मलाई त्यो सुटकेशले बेलाबेला पिरोल्न थालेको छ । त्यो पनि नहटाई म राम्ररी निदाउन नसक्ने भएँ ।
एकपटक राजीव गान्धी क्यान्सर हस्पिटल रेडियसनका डाक्टर प्रवीण अग्रवालसँग उसलाई कब्जियत भएको विषयमा कुरा गर्न म गएको थिएँ । त्यतिबेला डाक्टरले अचानक भने, ‘यिसका आयु लम्बा नही’ । पछि उनले तिमी बिरामीको के पर्छौ भनेर सोधें । मैले म उसको लोग्ने हुँ भने । तर डाक्टरले भन्ने कुरा सबै सकिसकेका थिए । अचानक भोलिपल्ट बिरामी भएर भर्ना गरेको बेला पनि तिनै डाक्टरले भने, ‘मामला बहुत गम्भीर हे । यिसका आयु लम्बा नही’ । मलाई डाक्टरको कुरा पटक्कै विश्वास लाग्दैनथ्यो किनकी घर आएर हेर्दा उसको अनुहार चक्किलो नै थियो । यस्तो राम्रो मुहार छ भन्थ्यौँ हामी बेलाबेला । तापनि विश्वास गर्नै पथ्र्याे । मेरो कानमा बारम्बार ‘यिसका आयु लम्बा नही’ भन्ने अग्रवाल डाक्टरको भनाइ गुन्जिरहन्थ्यो । भाउजू आगामी दिनमा आउने त्रासदीका बारेमा तर्सिरहनुहुन्थ्यो म पनि त्रासदीको निर्मम परिदृश्य कुरिरहेको थियो । मनमा डर थियो, अन्त्य कसरी होला भन्ने ? अन्ततः डाक्टरले भनेजस्तै उसको आयु सकियो । मैले ‘कान्छा’ भन्ने र उसले ‘शिव सर’ भन्ने यो संवाद सदाका लागि सकियो । दुखको भागिरथी गंगा मलाई बोकाएर ऊ गई । बस् !