अध्यक्ष ओलीद्वारा एमालेलाई जेठ २ मा फर्काउन तयार


आदर्श अनलाइन, काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू पार्टीलाई २०७५ जेठ ३ अघिको पूर्व अवस्थाबाट अगाडि बढाउन तयार रहेको भन्दै सबैलाई पार्टी एकतामा आउन आह्वान गर्नुभएको छ ।
ओलीले त्यसो गर्दा तत्कालीन नेकपाको केन्द्रीय कमिटीका सदस्यहरुमध्ये एकताको पक्षमा उभिएका नेताहरुसहित केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचनाहरु क्रियाशील हुने बताउनुभएको छ ।

ओलीले पार्टी कमिटी र जनसंगठनहरु पनि मूलभूत रुपमा २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्के क्रियाशील हुने बताउनुभयो । आइतबार पार्टी एकताका लागि ६ बुँदे अपिल जारी गर्दै ओलीले आफ्नो पार्टीको प्रधानमन्त्रीलाई पदबाट हटाई विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउने रिटबाट हस्ताक्षर फिर्ता हुनुपर्ने प्रष्ट पार्नुभएको छ ।

ओलीले यसबीचमा भएका कारवाही फिर्ता गरिने र कुनै पुर्वाग्रह र भेदभाव नराखिने समेत बताएपछि माभव नेपाल पक्षका पछिल्लो पुस्ताका नेताले उक्त बक्तव्यको स्वागत गर्नुभएको छ ।

यस्तो छ ६ बुँदे प्रस्ताव

१. नेकपा (एमाले) लाई २०७५ साल जेठ ३ गते पूर्वको अवस्थाबाट अगाडि बढाइने छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटीका सदस्यहरुमध्ये एकताको पक्षमा उभिनु भएका कमरेडहरुलाई आधार मानेर केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचना गतिशील हुने छन् ।

२. मातहतका पार्टी कमिटी र जनसङ्गठनहरु मूलभूत रुपमा २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्केर क्रियाशील हुने छन् ।

३. सङ्गठनात्मक क्षेत्रका यी निष्कर्षहरु कार्यान्वयन गर्ने क्रममा देखा पर्ने समस्या समाधानका लागि कार्यदलले काम गर्ने छ ।

४. आफ्नो पार्टीका अध्यक्षलाई प्रधानमन्त्री पदबाट हटाई विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाइयोस् भन्ने मागसहित सर्वोच्च अदालतमा प्रस्तुत रिट निवेदनमा प्रयोग गरिएको नेकपा (एमाले) का निवर्तमान सांसदहरुको हस्ताक्षर फिर्ता हुने छ ।

५. यस बीचमा विभिन्न कमरेडहरुबाट भएका गल्ती तथा कमी–कमजोरीलाई लिएर कुनै कार्बाही गरिने छैन, पूर्वाग्रह राखिने छैन र कुनै भेदभाव गरिने छैन ।

६. नेकपा (एमाले) लाई वैचारिक, सङ्गठनात्मक र भावनात्मक रुपले एकतावद्ध, अनुशासित र अझ सुदृढ बनाउन सबै कमरेडहरुले रचनात्मक योगदान गर्नु हुने छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *