निसीखोला गाउँपालिकाः सबैभन्दा कम संक्रमण, शून्यमा झार्न पहल

डम्मर बुढा मगर, बागलुङ
जिल्लाको निसीखोला गाउँपालिकामा जिल्लामै सबैभन्दा कम संक्रमति छन् ।गाउँपालिकाले कोरोना नियन्त्रण तथा रोकथामका लागि गत वर्षदेखि नै आवश्यक पूर्ववत तयारी गरेका कारण संक्रमण कम भएको जनाएको छ ।

गत वर्षको पहिलो लहरमा पनि जिल्लामै सभैबन्दा कम संक्रमित थिए भने यस वर्षको दोस्रो लहरमा अहिलेसम्म ४६ जनामा मात्रै संक्रमण देखिएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक टोपबहादुर चन्दले जानकारी दिनुभयो । यो जिल्लामै सबै भन्दा कम संख्या भएको उहाँको भनाई छ ।

गाउँपालिकामा अहिले १७ जना सक्रिय संक्रमित छन् । जसमध्ये नौँ जना प्रभा माध्यमिक विद्यालयको आइसोलेशन, चार जना कोभिड अस्पताल र तीन जना होम आइसोलेशनमा रहेको चन्दले जानकारी दिनुभयो । उहाँले अरु पालिकामा जस्तो अहिलेसम्म धेरै संक्रमित नबढेको भन्दै सम्भावित जोखिमलाई मध्यनजर गर्दै आन्तरिक व्यवस्थापनलाई जोड दिएको बताउनुहुन्छ ।

सौभाग्य मान्नुपर्छ, हालसम्म निसीखोलामा संक्रमणबाट एक जनाको पनि मृत्यु भएको छैन । गाउँपालिकाले सुरुको दिनदेखि नै संक्रमण नियन्त्रणमा सक्रिय भएकाले अन्य पालिकामा जस्तो धेरै संक्रमण नफैलिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इश्वरलाल शाक्यले बताउनुभयो । गाउँपालिकामा भएका सबै नाकाहरु बन्द गर्नेदेखि बाहिरबाट आउने नागरिकहरुको सही व्यवस्थापन हुँदा संक्रमण बढी फैलिन नपाएको बताउनुहुन्छ ।

‘जिल्लाको अरु पालिकामा भन्दा निसीखोलामा धेरै कम संक्रमित हुनुहुन्छ, सुरुका दिनदेखिनै हामीले संक्रमण नियन्त्रणका लागि पहल र प्रयासहरु गरेका थियौँ, अघिल्लो वर्ष पनि धेरैमा संक्रमण फैलिएको थिएन, अहिले पनि त्यति धेरै संक्रमण भएको अवस्था छैन, हामीले न्यूनिकरणका लागि मेहेनत गरि राखेका छौँ’ प्रमुख प्रशासकीय अधिकृत शाक्यले भन्नुभयो ।

संक्रमण पहिचानको लागि कन्ट्रयाक टेसिङ गर्ने र शंकास्पद बिरामीको परीक्षण गरि रहेको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक टोप बहादुर चन्दल बताउनुभयो । उहाँले वडा–वडासम्म पुगेर कोरोना परीक्षणको लागि स्वाब संकलन गरेको र एन्टिजेन्ट मार्फत समेत परीक्षण तीव्र पारेको बताउनुभयो ।

‘हामीले अहिले कन्ट्रायक ट्रेसिङ र शंकास्पद बिरामीलाई लक्षित गरि परीक्षणको दायरा बढाएका छौँ, धेरैमा परीक्षण गर्दा थोरै–थोरैमा संक्रमण देखिएको छ, संक्रमण शून्य पार्ने गरि नै हामीले काम गरिरहेका छौँ,’ स्वास्थ्य शाखा प्रमुख चन्दले भन्नुभयो ‘केही परीक्षण गर्न आउन नमानेको अवस्था पनि छ । तर उहाँहरुलाई हामीले सम्झाई बुझई गरि परीक्षणको दायरामा ल्याएका छौँ ।’

‘अहिले त्यस्तो आत्ति हाल्ने अवस्था छैन, यो भन्दैमा व्यवस्थापनलाई फितलो बनाएको भन्ने होइन, व्यवस्थापन थप तीव्र पारेका छौँ, नागरिकहरुलाई सजक बनाउनेदेखि स्वास्थ्य सामग्री व्यवस्थापन, आइसोलेशन व्यवस्थापन लगायतका कामहरु गरिसकेका छौँ र संकटसँग सामना गर्न तयारी अवस्थामै छौँ,’ उहाँले भन्नुभयो ‘यो सँगै जिल्ला बाहिर तथा भारत लगायतका मुलुकबाट आउनेहरुको व्यवस्थापनमा पनि हामी लागेका छौँ ।’

यो समय खेतिपातीको भएको हुँदा धेरै नागरिकहरु एकै ठाउँ भएर काम गर्ने गर्दा संक्रमणको जोखिम रहेकाले गाउँपालिकाले खेतबारीमा काम गर्दा पनि सामाजिक दूरी कायम, माक्सको प्रयोग गर्न आग्रह गरेको छ । नागरिकमा थप चेतना बढ्दै गएको हुँदा अहिलेसम्म संक्रमण नियन्त्रण बाहिर नभएको र निकट समयमै शुन्यमा झार्ने गाउँपालिकाको लक्ष्य छ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *