शुभेक्षा पन्त
हामीले छोरी पढाऔँ, दाइजो हटाऔँ, छोरी बचाऔँ भन्ने कुरामा ध्यान दिनु पर्दछ । एउटी नारी आफ्नो आमाबुबा छाडेर आएकी हुन्छिन, यो भन्दा ठूलो दाइजो के हुन सक्छ र ?
विवाहको समयमा बेहुलीका बाबुआमा अथवा उनका आफन्तले बेहुला वा बेहुलाका परिवारलाई दिने नगद तथा जिन्सी सरसामानलाई नै दाइजो भनिन्छ । हाम्रो समाजमा दाइजोलाई दहेज तथा तिलक पनि भन्ने गरिन्छ । दाइजो भनेको कुनै पनि जात र समुदायमा छोरीको विवाहमा वर पक्षलाई दिइने गरगहना लगायतका चल अचल सम्पत्ति हो भने तिलक भनेको विवाहपूर्व छोरी पक्षले वर पक्षसँगको भेटमा दिने नगद, लुगाफाटा तथा गरगहना हो । सामान्यतः दैनिक जीवनमा चाहिने घरेलु सामानहरु जस्तैः फर्निचर, खाना पकाउने भाँडाकुडा, लत्ताकपडाहरु, सुन, चाँदी, हिरा, मोतीका महँगा गरगहना दाइजोमा लिने चलन छ । समयक्रमसँगै आधुनिक सुविधाका सामग्रीहरु जस्तैः टिभी, मोटरसाइकल, कम्प्युटर, कार, जस्ता सामग्रीहरु पनि दाइजोको रुपमा दिने र लिने गरिन्छ । वर्तमान समयमा यो प्रथा वा चलन भारत, बंगलादेश, अफगानिस्तान, इरान, टर्की, इजिप्ट, पाकिस्तान, नेपाल, श्रीलंका, बेल्जियम र सर्वियामा बढी मात्रामा अवलम्बन गर्ने गरेको पाइन्छ । दाइजो प्रथा भन्नाले दाइजो दिने वा लिने कार्य हो । पुरातन संस्कृति अनुसार छोरीलाई घरमा विवाह गरेर पठाउँदा, त्यहाँ पालनपोषण स्वरूप छोरीलाई नगद, वस्तु दिने तर्कका आधारमा सुरू भएको दाइजो प्रथा अहिले विकराल समस्याका रुपमा परिवर्तन भएको छ ।
आजको एक्काइसौँ शताब्दीमा पनि हाम्रो देशका महिला दाइजो, बोक्सी, छाउपडी, झुमा, देउकी, बहुपत्नी लगायतका कुप्रथा तथा अन्धविश्वासीबाट घरेलु हिंसा, यौनजन्य हिंसा तथा बलात्कारका साथै शारीरिक तथा मानसिक हिंसाको सिकार भइरहेका छन् । जसले गर्दा नेपाली नारीहरुलाई सम्मानपूर्वक बाँच्न पाउने आधारभूत मानव अधिकारबाट वञ्चित गरिरहेको छ । एक्काइसौँं शताब्दीमा आएर पनि हाम्रो सोच बदलिन सकेन । हामीले हाम्रो सभ्य धर्मसंस्कृति परम्पराका नाममा भित्रिएका कुप्रथालाई पछ्याउँदै जाँदा हामीले धेरै गलत अभ्यास गरिरहेका छौँ । हाम्रो नेपाली समाजमा दाइजो दिने र लिने चलन निकै पहिलेदेखि नै चलि आएको हो । यो चलनले नेपाली समाजमा दिन प्रति दिन नकारात्मक रुप लिएको देखिन्छ । समयको परिवर्तनसँगै दाइजो प्रथा कतै स्वेच्छिक छ भने कतै बाध्यात्मक रूपमा रहेका छन् । दाइजो प्रथाका किसिम जे जस्ता भएता पनि यसलाई मानव समाजले सामाजिक विसङ्गतिका रूपमा लिने गरेको छ । दाइजो प्रथाकै कारण समाजमा निकै समस्याहरु देखा परेका छन् । केटाहरुले दाइजो पाउने आशले दुई तीन ओटा विहे गरेको पनि भेटिएको छ । दाइजोलाई हाम्रो समाजमा उपहारको रुपमा पनि लिने गरिन्छ । उपहार त दिए पनि नदिएपनि हुन्छ । तर, दाइजो त सदियौँदेखि हाम्रो समाजमा एक बाध्यात्मक कुप्रथाको रुपमा जरा गाडेको छ ।
विवाह जीवनको एक महत्वपूर्ण पाटो हो । हर सुख दुःखमा साथ दिने र सहयोग गर्ने मान्छे भेटियोस् भनेर विवाह गरिन्छ । विवाहले मान्छेको जीवनलाई पूर्ण रुपमा परिवर्तन गर्ने गर्दछ । सोही विवाहमा हुने नकारात्मक प्रथा नै दाइजो हो । दाइजो दिनु र लिनु अपराध हो भन्ने थाहा हुँदा–हुँदै पनि अहिलेको पुँजिवादी समाजमा योे बढी रहेको पाएको छ । संविधान र विभिन्न कानूनले यो विषयलाई समेटे पनि कार्यान्वयन पक्ष फितलो र समाजको नै रीतिथिति यस्तै छ भनेर साथ दिँदा समस्या बढीरहेको छ । नेपालको धेरै क्षेत्रमा छोरीको जति उमेर बढ्यो त्यति नै बढी दाइजो दिनुपर्ने विकृति पनि छ । जसको कारण बालविवाह पनि बढिरहेको छ । दाइजोका कारण सयौं बिहे असफल हुन्छन् र चेलीबेटी माथि महिला हिंसा हुन्छ । महिला हिसांको जगको रुपमा दाइजोलाई लिने गरिन्छ । नेपालको तराई क्षेत्रमा आज भोलि यसको प्रयोग दिन प्रति दिन नकारात्मक रूपमा बढिरहेको छ । तराई मधेसका कतिपय ठाउँहरुमा त केटाको पढाइ र जागिरलाई दाइजोको रुपमा पनि लिइएको पाइन्छ । जति धेरै पढाइ वा जागिरको कमाइ, उति नै धेरै दाइजो दिनुपर्ने चलन छ । राष्ट्रिय महिला आयोगका अनुसार कतिपय महिलाहरु विवाहपछि दाइजो नल्याएको बहानामा कुटपिट, बहुविवाह लगायतका हिंसामा पर्ने गरेका छन् । यही प्रथाका कारण समाजमा अन्य थुप्रै सामाजिक कूरितिहरू निम्तिएका छन् । दाइजो पाइने आशामा कति पुरूषहरूले दोस्रो, तेस्रो विवाह गर्ने गरेका छन् । हुने खाने परिवारले त स्व–इच्छाले दाइजो देलान् र त्यसमा कसैको आपत्ति पनि नहोला । तर, यसलाई बाध्यता बनाइदा गरिब निमुखा परिवारले भने के गर्ने त ? दाइजो करकाप र डरले होइन इच्छाले दिइन्छ । कतिपय पुरूषले त दाइजो नल्याएको भन्दै आफ्नी श्रीमती, बुहारीलाई तथानाम गाली गर्ने, मानसिक तनाव दिने, कुटपिट गर्ने र घरबाटै निकाल्ने, जलाउने पनि गर्छन् । हामीलाई तातो तेलले पोल्दा त एकदम गाह्रो हुन्छ भने जिउँदो जलाउँदा कस्तो हुन्छ होला ?
हाम्रो समाजमा पढेका मानिसहरु नै दाइजोको लागि निकृष्ट रुपमा प्रस्तुत हुने गरेका छन् । हामीले छोरी पढाऔँ, दाइजो हटाऔँ, छोरी बचाऔँ भन्ने कुरामा ध्यान दिनु पर्दछ । एउटी नारी आफ्नो आमाबुबा छाडेर आएकी हुन्छिन, यो भन्दा ठूलो दाइजो के हुन सक्छ र ? जर्बजस्ती दाइजो लिनु भनेको डकैती गर्नु सरह हुन्छ । समय समयमा शिक्षित बुहारीहरू पनि अपेक्षित दाइजो नल्याएका कारण हिंसामा परेका मृत्युका घटनासम्म आउने गर्छन् । कतिपय महिलाहरुले त न्यायको ढोका घच्घच्याउन पुग्छन् र दाइजो लिनेलाई सजाय तोक्छ । तर सभ्य, भव्य र सुसंस्कृत अनि शिक्षित परिवारले सजिलै बुहारीलाई घर निकाला गर्न र देखिने गरि अमानवीय व्यवहार गर्न सक्दैनन् । उनीहरूका विभिन्न व्यवहारले ती सम्पन्न घरकी बुहारीले जीवनभरि नै यातना सहनु परेको छ । जवान छोरीलाई घरमा राख्नु भन्दा दाइजो दिएर विवाह गर्नु नै उत्तम हो भन्ने सोचाईका कारण पनि यो दिनदिनै बढिरहेको छ । विवाहित छोरीलाई खाली हात पठाउँदा समाजले के भन्ला अनि केटाको घरमा छोरीलाई के भन्लान् भन्ने चिन्ताबाट मुक्त हुन पनि दाइजो दिने गरिन्छ । कतिपयले त ऋण खोजेर, जग्गा बेचेरै भए पनि दाइजो दिने गरेका छन् । यसले गर्दा समाजमा असमानता, उत्पीडन, हत्या तथा हिंसा जस्ता जघन्य सामाजिक अपराधलाई पनि टेवा पु¥याएको छ । दिनानुदिन दाइजोका कारण ज्यान गुमाउने चेलीहरुको संख्या पनि बढि रहेको छ ।
वर्तमान शिक्षाले दाइजो लिनु दिनु सामाजिक अपराध हो भन्ने चेतना दिन सकेको छैन । यद्यपि, शिक्षा र चेतनाको अभावका कारण दाइजो प्रथा चलेको भनिए पनि शिक्षित र सम्पन्न परिवारमै यसको विकृति बढदै गएको छ । कानुनले दाइजोलाई गैरकानुनी ठहर गरे पनि दाइजो संस्कारकै रूपमा विकसित हुँदै जानु बिडम्बनापूर्ण हो । मुलुकी अपराध संहिता, २०७४ मा दाइजो माग्ने र दाइजोका कारण महिलालाई दुःख दिनेलाई कारबाही गरिने व्यवस्था छ । जसमा दाइजो माग्नेलाई वा लेनदेनको शर्त राखेको भेटिएमा ३ वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुन सक्ने ऐनमा व्यवस्था गरिएको छ । दाइजोको विकृति नियन्त्रणका लागि नेपालमा सामाजिक व्यवहार सुधार ऐन, २०३३ बनेको छ । कानुनी प्रावधान अनुसार विवाह हुँदा जीउमा लगाएको एकसरो गहना बाहेक आफ्नो कुल परम्परा अनुसार राजी खुसीले दिनेले पनि बढीमा दश हजार रुपैयाँसम्मको मात्र दाइजो पाउने व्यवस्था छ । त्यस्तै विवाह हुँदा तिलक लिन नहुने र तिलक लिनेलाई बिगो जफत गरी बाह्र हजारदेखि पच्चीस हजार रुपैयाँसम्म जरिवाना वा ३० दिनसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ । कानुनी व्यवस्था यति सुदृढ हुँदाहुँदै पनि हाम्रो देशमा दाइजो प्रथा एक विकृतका रूपमा मौलाउँदै गएको छ । करिब ३५ प्रतिशत महिला कुनै न कुनै कारणले हिंसामा परेको तथ्यांक अनुसन्धानले पनि बताउँछ । तैपनि लैंगीक समानताको बाटोमा हिँडेको समाजमा विवाहको समयमा भने दाइजो प्रथालाई प्रचलनमा ल्याइनु कानुन विपरितको कुरा हो । दाइजो प्रथा सभ्य समाजको ठूलो कलंकको रुपमा परिभाषित छ । दाइजो प्रथालाई सामाजिक अपराध हो भनेर निर्माण भएको कानुनलाई पानाहरूमा मात्र सीमित नराखी व्यवहारमै दाईजो प्रथालाई समाजबाट निराकरण गर्नु आजको आवश्यकता हो ।
शिक्षा र चेतनाको कारण आजभोलि यो प्रथा केही घट्दो त छ । यसलाई पूर्ण रुपमा हटाउनका लागि कडा भन्दा कडा नियम–कानुन बनाइनु र कार्यान्वयन गर्न पनि जरुरी छ । धेरैजसो दाइजो सम्बन्धी घटनाहरु बाहिर नआउने र आए पनि कानुनी दण्ड सजाय निकै कम रहेकाले पीडा पु¥याउने भन्दा पनि पीडित पक्ष थप मारमा पर्ने गरेको देखिन्छ । दाइजो लिने व्यक्तिहरूलाई सामाजिक बहिष्कारसम्म गर्ने अभियान सञ्चालन गर्न सके यो प्रवृत्ति केही हदसम्म निरुत्साहित हुनेछ । दाइजो प्रथा नराम्रो हो भन्ने ज्ञान हुँदाहँुदै पनि यो प्रथालाई प्रयोग गरिनु एक गम्भीर समस्या हो । यसलाई आपराधिक गतिविधिको रूपमा लिएको छ । दाइजोको विकृति न्यूनीकरणका लागि शिक्षा र चेतनाको अभियान सञ्चालन गर्नुपर्छ । अनि महिलालाई मात्र होइन, पुरुषलाई पनि यस विषयमा सजग गराउनु आवश्यक छ । पढेका, नपढेका, धनी, गरिब सबैले आवाज उठाउन जरुरी छ । २१ औं शताब्दीका हामी महिलाहरूले दाइजो लिएर होइन, अब्बल भएर अगाडि बढ्नुपर्छ । दाइजोलाई शानका रूपमा नलिएर यसलाई निरुत्साहित गर्नका लागि सदैव अगाडि बढ्नुपर्छ । दाइजो प्रथाका विरुद्ध कानूनका पानाहरूमा विभिन्न कुरा लेखिएका छन् । ती कुराहरुलाई कानूनमा मात्र सीमित नराखी समाजबाट निराकरण गर्नु आजको आवश्यकता हो । आज हामी नागरिकले दाइजो प्रथाले निम्त्याएका नकारात्मक पाटाहरुका बारेमा संवेदनशील हुन जरुरी छ । कुनै पनि चलन राम्रै उद्देश्यका साथ सूरु भए पनि यसको सही व्यवस्थापन गर्न नसक्दा समाजमा विकृति फैलिएको हो । दाइजो प्रथा नियन्त्रणका लागि व्यक्ति, परिवार र समाजको सोँचमा सकारात्मक परिवर्तन ल्याउन आवश्यक छ ।
संविधान र विभिन्न कानूनले यो विषयलाई समेटे पनि कार्यान्वयन पक्ष फितलो र समाजको रीतिथिति यस्तै छ भनेर साथ दिँदा समस्या दिन प्रतिदिन बिकराल बनिरहेको छ । दाइजोे समाधानका लागि सबै भन्दा कडा कानुन बनाएर त्यसको पूर्ण कार्यान्वयनका लागि विशेष पहल गर्नुपर्छ । छोरीलाई दाइजो होइन, शिक्षा दिऊँ भनेर सबैतिर थप चेतना फैलाउन जरुरी छ । दाइजो प्रथा विकराल बनिरहनुमा अशिक्षा, परम्परागत सोच, सामाजिक संस्कार, अन्धविश्वास, बालविवाह, बेरोजगारी, लैङ्गिक असमानता तथा विभेद मुख्य कारकहरु रहेकाले यसको अन्त्यका लागि सबै सरोकारवाला निकाय सजग र संम्बेदनशील बन्न ढिला भइसकेको छ । विवाहजस्तो पवित्र बन्धनलाई दाइजोको विकृतिबाट समाजलाई बचाउन सकिएमा मात्र अब दाईजोको नाममा चेलीहरु जिउदै जलाउन, शारीरिक, मानसिक तनावबाट मुतm भई दाम्पत्य जीवन दिगो तथा सफल बन्नेछ । यसो गरिएमा मात्र सभ्य, सुसंस्कृत, हिंसा रहित समाज निर्माण गर्न सहयोग पुग्नेछ ।