पश्चिम बागलुङमा संक्रमण घट्दो

आदर्श अनलाइन, बागलुङ
जिल्लाको पश्चिम क्षेत्रमा कोरोना संक्रमणको जोखिम क्रमशः कम हुन थालेको छ ।
बैशाख दोस्रो सातादेखि कोरोनाको दोस्रो भेरिएन्टबाट नागरिकहरु संक्रमित हुने क्रम बढे पनि पछिल्ला दिनमा संक्रमण घट्दै जान थालेको छ ।

स्थानीय पालिकाले जिल्ला प्रशासनको निर्देशन पालना गर्दै निषेधाज्ञा जारी गरेर परीक्षणको दायरालाई बढाए सँगै ढोरपाटन नगरपालिका, निसीखोला र तमानखोला गाउँपालिकामा संक्रमण दरमा कम आउन थालेको हो ।

यस क्षेत्रमा बैशाख अन्तिम सातादेखि जेठ तेश्रो सातासम्म संक्रमणको दर उच्च देखिएको थियो । पालिकाले निषेधाज्ञामा कडाई, परीक्षणको दायरा बढाउनुका साथै नागरिकलाई सचेत बढाउँदै गएपछि अहिले संक्रमणको दर घट्दै गएको छ ।

दोस्रो लहरमा ढोरपाटन नगरपालिकामा ८९ जना संक्रमित बनेका छन् । त्यसमध्ये अधिकांश निको भएको हाल २० जना सक्रिय संक्रमित रहेको ढोरपाटन नगरपालिकाका स्वास्थ्य शाखा संयोजक घनश्याम शर्माले जानकारी दिनुभयो ।

पछिल्लो केही दिन यता बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पनि शंकास्पद लक्षण भएका बिरामी कम आउने गरेको स्वास्थ्य केन्द्र प्रमुख डा. मिलन मल्लले जानकारी दिनुभयो । पछिल्लो समय पिसिआर विधि परीक्षण गर्न छोडिएको छ । एन्टिजेन विधिबाट तत्काल रिपोर्ट प्राप्त हुने र बिरामीमा संक्रमण पुष्टि भए नभएको थाहा हुने हुँदा एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्यकर्मीको भनाई छ ।

कोरोना संक्रमण भएका मध्ये चरणमा बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा १७ जना जटिल प्रकारका बिरामी राखेर उपचार गरिएको थियो । जसमध्ये १ जनाको आइसोलेशनमा उपचारको क्रममा ज्यान गएको थियो । ४ जनालाई थप उपचारका लागि बागलुङ, पोखरा रिफर गरिएको डाक्टर मल्लको भनाई छ । हाल निसीखोला गाउँपालिकाका दुई जना र ढोरपाटन नगरपालिकाका दुई जना गरि जम्मा चार जना सक्रिय संक्रमित उपचाररत रहेको डा.मल्लको भनाई छ । उनीहरुलाई अक्सिजन दिएर उपचार गरिएको उहाँको भनाई छ ।

निसीखोला गाउँपालिकामा हालसम्म ४६ जना कोरोना संक्रमित भएका छन् । उनीहरु मध्ये ३० जना निको भइसकेको र १६ जना उपचाररत रहेका गाउँपाकिलाका स्वास्थ्य शाखा संयोजक टोपबहादुर चन्दले जानकारी दिनुभयो । उहाँ अनुसार प्रभा माविको आइसोलेशनमा ९ जना, कोभिड अस्पतालमा ३ जना र होम आइसोलेशनमा ४ जना उपचाररत छन् । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको चन्दले बताउनुभयो ।

गत वर्ष कम संक्रमित भएको तमानखोलामा यस वर्ष बढी संक्रमित भएका छन् । बैशाख अन्तिम सातादेखि जेठ दोस्रो हप्तासम्म संक्रमण दर बढ्दो भएको र अहिले क्रमशः घट्दै गएको गाउँपालिका अध्यक्ष जोकलाल बुढा मगरले जानकारी दिनुभयो । कोरोना संक्रमित होम आइसोलेशनमै बसेर निको हुने क्रम बढ्दै गएको र संक्रमितको संख्या कम हुँदै जान थालेको अध्यक्ष बुढा मगरको भनाई छ ।

तमानखोलामा १ सय ३९ जना संक्रमित भएका थिए । हाल १४ जना मात्रै सक्रिय संक्रमित रहेको उहाँको भनाई छ । अध्यक्ष बुढाको अनुसार ३ जना बागलुङ र पोखरामा उपचाररत छन् । अन्य ११ जना होम आइसोलेशनमा रहेका छन् । गाउँपालिकाको वडा नम्बर १, ३ र ४ मा संक्रमितको संख्या बढेको थियो । तमानखोलामा संक्रमणबाट दुई जनाले ज्यान गुमाएका छन् ।

संक्रमणलाई शुन्यमा झार्ने गरी व्यवस्थापन गरिरहेको अध्यक्ष बुढा मगरको भनाई छ । उहाँले वडा–वडामा पुगेर परीक्षण गर्ने, शंकास्पद लक्षण भएका बिरामीलाई वडा मार्फत सम्पर्कमा ल्याएर तत्काल एन्टिजेन्ट विधि मार्फत परीक्षण गर्ने अन्य व्यवस्थापनलाई समेत तीव्रता दिएको गाउँपालिकाले जनाएको छ । केही दिन यता गाउँपालिकामा कोरोनाको शंकास्पद लक्षण भएका बिरामी पनि कम हुँदै गएको अध्यक्ष बुढा मगरको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *