सहकारी क्षेत्रले तिरेको करको आधारमा सहकारी क्षेत्रको प्रवद्र्धन गर्नु पर्नेमा जोड

आदर्श अनलाइन, बागलुङ
राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कंडेलले सहकारी क्षेत्रले राज्यलाई भुक्तान गरेको करका आधारमा सहकारी क्षेत्रको प्रवद्र्धनमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनु भएको छ । राष्ट्रिय सहकारी बैंक लिमिटेडले बिहीवार आयोजना गरेको सहकारीमा कर विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष कंडेलले यस्तो बताउनु भएको हो ।

सहकारी अभियानको निरन्तरको लविङपछि करको दायरा कम भएको छ, अब कर भुक्तान गर्ने कुरामा सहकारी क्षेत्रले इमान्दारिता देखाउनु पर्छ अध्यक्ष कंडेलले भन्नुभयो– ‘सहकारी क्षेत्रले कर भुक्तानीमा प्रभावकारिता ल्याउने र सरकारले सहकारीको योगदानका आधारमा सहकारी क्षेत्रको प्रवद्र्धनमा ध्यान दिनु पर्छ ।’

महासंघका वरिष्ठ उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय सहकारी महासंघका बोर्ड सदस्य ओमदेवी मल्लले सहकारीले सञ्चालन गर्ने व्यवसायलाई प्रभावकारी बनाउदै राज्यलाई भुक्तान गर्ने कर भुक्तानलाई गौरवको विषय बनाउनु पर्नेमा जोड दिनुभयो । सहकारी क्षेत्रले राज्यलाई भुक्तान गर्ने करको विषयमा सबै सहकारीकर्मीहरुलाई प्रभावकारी रुपमा जानकारी गराउन बैंकले सञ्चालन गरेको कार्यक्रम उपयोगी भएको भन्दै उहाँले कर भुक्तान गर्ने सहकारीहरुलाई सम्मान गर्नु पर्नेमा जोड दिनुभयो ।

सहकारी बैंकका अध्यक्ष तथा महासंघका सञ्चालक के.बी. उप्रेतीले कोरोना महामारीमा सहकारीहरुलाई पर्ने समस्यामा बैंकले निरन्तर सहजीकरण गर्दै आएको बताउनुभयो । उहाँले समस्यामा सहकारीहरुलाई सहज रुपमा सदस्यलाई सेवा पु¥याउनका लागि बैंक लगायत अभियान सदैव सहयोगीका रुपमा रहने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

महासंघका सञ्चालक डि.बी.बस्नेतले बैंकले कोभिडको समयमा निरन्तर तालिम र शिक्षाका कार्यक्रमलाई निरन्तरता दिएको भन्दै यसलाई थप प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा वरिष्ठ चार्टर्ड एकाउण्टेण्ट, कर विज्ञ तथा लेखक शेषमणि दाहालले सहकारीमा करको व्यवस्था, संशोधनका सहुलियत, अन्य संशोधन, आयकर ऐन २०५८, मूल्य अभिवृद्धि ऐन २०५२, अन्त शुल्क ऐन २०५८ का मुल विषयहरु लगायतका विषयमा सहजीकरण गर्नु भएको थियो ।

कोभिडको समयमा भएको सहुलियत अनुसारको व्यवसायमा एक करोड सम्मको कारोबारमा ५० प्रतिशत छुट, करको दर आर्थिक वर्ष २०७७/०७८ मा भएको व्यवस्था तथा आ.व. २०७८/०७९ को बजेटमा भएको कर सम्बन्धी व्यवस्था, अनलाइन मार्फत गर्न सकिने कार्यहरु र आय वितरण संशोधनका विषय सहजीकरण गर्नु भएको थियो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री कुमार गुरागाईले सञ्चालन गरेको कार्यक्रममा बैंकका सदस्य सहकारी संघ संस्थाका पदाधिकारी, सञ्चालक तथा कर्मचारीहरु सहित १ हजार जनाको सहभागिता रहेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *