फेसबुके मार्क जुकरबर्गलाई पत्र

मिति : २०७६ /०२/२८

श्री प्यारा भाइ जुकरबर्ग ! शुभुआशिष ! यहाँ हामी सपरिवार कुशल छौं र त्यहाँ तिमीहरुको कुशलताको कामना गर्दै दयालु भगवान् पशुपतिनाथसँग प्रार्थना गरि बसेका छौँ । विशेष पत्र लेख्नुपर्ने खास कुरा त केही पनि थिएन । तर उही तिम्रो माया र ममताले गर्दा यो पत्र लेखेको हुँ । मलाई थाहा छ तिमी मलाई बहुतै माया गर्छौँ । त्यसकारण तिमीले मसँगबाट मेरो समय, मेरो सिर्जना, मेरो क्षमता, मेरो दिल, मेरो संवेदना सबै खोसेका छौँ । यी सबैलाई खोसेर आफैमा बन्धक बनाएर राखेका छौँ । सुन्दैछु त्यही कारण तिम्रो निरन्तर उन्नति भएको छ रे ! हेर दुखको कुरा तिमीले जति माया गरे पनि यहाँ हाम्रो निरन्तर अधोगति भएको छ । तिमी धनी र बलिया छौँ भने म दिनप्रतिदिन झन्झन् गरिब हुँदै गइराखेको छु । तिमी खुशी र उल्लासित जीवन बाँचिरहेका छौँ भने म भने निरस र शुष्क जीवन बाँच्न विवश छु । यसरी निराश र शोषित जीवन बाँच्ने नेपाली संस्कार होइन । भाइबहिनीलाई अत्यन्त माया गर्ने र पारिवारिक शक्तिमा जोड दिने संस्कारमै हामी हुर्किएका हौँ । तिमीले पनि हामीबाट सिकेछौ । त्यसकारण बौद्ध दर्शनले भनेजस्तै तिमीप्रति मेरो कत्ति गुनासो छैन । आजकाल हामी बाआमा, छोराबुहारी, नातिनातिना, छोरीज्वाईले दिनभरका तीतामिठा कुरा साँझ बैठक कोठामा बसेर गर्ने बानीलाई कम गरेका छौँ । आजकाल हामी परिवारमा भावना साट्न भन्दा केवल निहुरीमन्टे न भएर बसेका हुन्छाँै । घरपरिवारका सदस्य बिमार पर्दा, दुख पर्दा पनि हामीलाई मतलब छैन । परिवारका सदस्यको पीडाले त हामीलाई दुख्दैन भने अरुको त कुरै नगरे भो । अरुका जल्दै गरेका चित्ता, जीवनका आखिरी दिन बिताइरहेका आफन्तहरु, कसैको शोकमा मूर्छित परेका मनप्रति हामीलाई कुनै वास्ता छैन । हामीलाई त केवल तिमी भए पुग्छ । घरमा पूर्वीय र पाश्चात्य दर्शनका थुप्रै किताबहरु छन् । नेपाली साहित्यका किताबहरु पनि पढेर नभ्याइने नै छन् । तर तिनी पढ्न पनि हामीलाई सिकाउने मान्छे को आउला र खै ? निरक्षर आमा बाहेक हामी सबै तिम्रा प्रियसी भएका छौँ । हामीलाई न सुत्दा चयन छ न शौचालय बस्दा सुख छ । जनै जस्तै भएका छौँ तिमी । साँझ निदाउन अघि र बिहान ब्युझँदा पनि तिमी सँगै हुन्छौँ । छोराछोरी पढाउनभन्दा तिमीलाई अँगाल्न हामीलाई आनन्द लाग्छ । तसर्थ हामीलाई तिमीले बनाइदिएको फेसबुक भए पुग्छ । लाखौँ करोडौँ स्वरुपका तिम्रो बयान गर्न त हजारौँ जिब्रेहरु चाहिन्छन् होला । तिम्रो अझै जयजय होस् । यो टाढाको दाईको शुभकामना !

अघि मैले दयालु भगवान् पशुपतिनाथसँग प्रार्थना गरेको कुरा उल्लेख गरें । तर ती पशुपतिनाथलाई के दयालु भन्नु ? मनले पटक्कै मान्दैन । ती त अत्यन्त कठोर रहेछन् । उनीभन्दा तिमी बरु अलि कोमल हौला । मागे त पानी खान दिन्छौ नि ? तर ती पशुपतिनाथले तिम्री भाउजूलाई उसको ३१ वर्षकै उमेरमा हामी सबैलाई टहुरा बनाएर खोसेर लगेका छन् । ६ वर्षको छोराको मुख पनि हेरेनन् । पानी सारेर खान नसक्ने बाआमाहरुको पुकार पनि सुनेनन् । प्राणप्यारो गर्ने दाइभाउजूहरुको अनुयनलाई पनि लोप्पा ख्वाइदिए । तिम्रो विज्ञानले गरेको चमत्कारलाई पनि प्याजका पत्र खोलेजस्तै गरेर पत्रपत्र निकाली खाली तुल्याइदिए । विज्ञानले प्रकृतिको छेउ पनि कोट्याउन नसकेको हैसियत पनि देखाइदिए । म सिर्जना हुँ, म मार्ग हुँ विज्ञान त केवल मेरो पछि मात्रै लाग्ने हो भन्ने बनाइदिए । कोसिस मात्र गर्ने सफलता अलिअलि न हो भन्ने गराइदिए । हुँदाहुँदा आफ्नै चरणको आर्यघाटमा उसको शरीर पञ्चतत्वमा मिलाइदिए । तापनि हामी बालकृष्ण समले भनेजस्तै बैगुनीको बैगुन मार्ने संस्कारमा हुर्किएका हुनाले उनलाई दयालु नै मान्दछौँ ।

तिम्री भाउजू बिरामी भर २०७६ को कार्तिकमा म दिल्ली पुगें । दिल्लीको राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एण्ड रिसर्च सेन्टरमा उसको टाउकोको ट्युमरको पहिलो अप्रेशन भयो । हाम्रो परिवार स्तब्ध र मौन थियौँ । त्यसकारण तिम्रो पछि लाग्न सक्ने अवस्था रहेन । त्यसपछि मैले यु टयुबमा फिल्म हेर्न सिकें । तिम्री भाउजूले एकपटक युटयुबमा फिल्म हेरको देखेर भनेकी थिई, ‘आफ्नै जीवन नै जटिल र बुझिनसक्नु दुखान्त फिल्म बनेका बेला अरुका फिल्म के हेर्नुहुन्छ सर ?’ मलाई रनन्न ती शब्दहरु आज पनि कानमा बजिरहन्छन् । आइसियुबाट तल जनरल वार्डमा सार्दा उसको कुरुवा तिम्रै भिनाजु बस्नुभएको थियो । तिमीलाई उसको निकै माया लागेछ । अनि भिडियो कल गरेछौँ । भिडियो कलमा बोल्न नसक्ने उसको सशरीर अनुहार हेर्ने इच्छा गरेछौँ । विचरा भिनाजुले देखाइदिनुभएछ । लाटा ! भिनाजुलाई के था ? तिमीले उसको फोटो खिचेर जताततै देखाउँछौँ भन्ने । रोगको बारेमा ‘वायप्सी’ रिपोर्ट भन्दा पनि फोटो प्रिन्ट गरेर सरकारी अफिसमा पु¥याएछौँ । कति माया गरेको है तिमीले भाउजूलाई ! भाउजूलाई माया गर्दा तिम्लाई रमाइलो पनि लागे होला है । एक खालको आनन्द पनि आयो होला । मजा मजामा मजाक पनि भए होला । आखिर माया गरेजस्तो देखाए पनि तिम्रो परपीडक स्वभावले म्याऊँ गरिछाड्यौँ है !

उपचारका क्रममा कैयौं पटक फरक फरक मुहारबाट तिम्ले फोन पनि ग¥यौँ । हामीले उठाउँदै पनि गयौँ । एकपटक हामी दिल्ली गेट बिन्दास पाराले घुम्न गयाँै । आइतबारको दिन दिल्लीमा बिदा हुँदोरहेछ । पवन दाइले घुम्न जाने प्रस्ताव लिएर आउनुभयो । आफ्नै गाडीमा कृष्ण दाई, पवन दाई, हरि दाई, ऊ र म भएर दिल्ली गेट घुम्न गयौँ । तिम्री भाउजू दिल्ली गेटदेखि राष्ट्रपति भवनसम्म चार पाँच किलोमिटर हिड्न सकेकोमा हामी सबै निकै खुशी भयौँ । दिल्ली गेटमा निकै फोटोहरु पनि खिच्यौँ । केही फोटोहरु मैले साँझ आएर तिम्लाई पठाइदिए । हामी उसलाई ऊ बिरामी भएको बिसाईदिने खोजीमा थियौँ । त्यसकारण हामी दिनदिन घुमाउन लैजान्थ्यौँ । नयाँनयाँ कपडा किनिदिन्थ्यौँ । नयाँनयाँ चिजबिजहरु ल्याएर ख्वाउँथ्यौँ । एकपटक जुम्लीहरुले बिरामी को हो भनेर हामी उभिएकाहरुलाई सोधेका थिए । उनीहरुले चिन्न नसकेपछि हामीले बताइदिन परेको थियो । अस्पतालको बाहिर एक प्लस टु पढेकी इन्डियन नानीले उसलाई आफू बिरामी हुँ भन्ने बिर्सेर विन्दास जीवन बाँच्न सल्लाह दिएकी थिइन् । त्यही सूत्रमा ऊ बाँचेकी थिई । तर तिम्लाई मैले के फोटो पठाइदिएको थिएँ तिमीले त उसलाई तँ बिरामी छस् चाँडो निको होस् भन्ने सयौँ सन्देश सार्वजनिक रुपमा सम्प्रेषित ग¥यौँ । बिरामी हामी हो कि तिम्रो दृष्टि र आचरण हो हामीलाई ठम्याउन गारो भयो ? नेपाली दिल आत्माबाट बोल्छ तर सार्वजनिक रुपमा कहिल्यै प्रर्दशन गर्दैन भन्ने तिमीले बुझेका रहेनछौँ । आफूले माया गर्ने प्रेयसीलाई कहिल्यै पनि ‘आइ लभ यु’ नभन्ने नेपाली चलन हो तर प्राण प्यारो गर्ने संस्कार हो । तसर्थ तिम्लाई हाम्ले कहिलेकाही मनका वह पोख्यौँ भने एकाध रोमान्टिक तस्वीरहरु दियौँ भने पनि तिमी उही कुवामा डुबुल्की मारिरहन्छौँ । तिम्ले हेर्ने दृष्टिकोण उही पूर्वधारणामा आधारित छ । त्यसकारण हामी तिम्रो मायामा लठारिने डरले तिमीदेखि भाग्यौँ ।

जुकरवर्ग भाइ ! यसपालि प्रकृतिसँगको लडाईं हाम्रा लागि निकै मंहगो प¥यो । हामी निकै दोधारे मानसिकतामा दिल्लीमा बस्न बाध्य भयौँ । प्रकृतिसँगको लडाईंमा ऊ दिनदिनै हार्दै गएकी थिई । हामी विवश थियौँ उसको पीडा भोग्न । कसरी उसलाई सजिलो जीवन दिने ? कसरी उसको सेवा गर्ने भनेर दिल्लीमा बस्ने आमाबुबा, मामामाइजु, दाईहरु, भाउजूहरु सहित हामी यताबाट म र उसको भाउजू अहोरात्र खटिएका थियौँ । पोहर साल जस्तो उसको स्वास्थ्य उकालो यात्रामा थिएन ओरालो यात्रामा थियो । तिमी यहाँबाट पटकपटक फोन गर्दथ्याँै । टेक्स्ट मेसेज र अडियोले मात्रै पुग्दैनथ्यो भिडियो नै गर्नुपथ्र्यो । पटकपटकका फोन कलबाट भाउजू दिक्दार हुनुहुन्थ्यो । एउटा रोचक कुरा पनि छ । तिमीले एकपटक फोन ग¥यौँ र हालखबर सोध्यौँ । दिनमा एकपटक होइन तिम्लाई साँझबिहान दुई चोटि नै सोध्नुपर्ने ! भाउजूले फोन उठाउनुहुन्थ्यो । फोन उठाउनुभयो ।

कुराकानीका बीचमा मैले तिमीसँग एकलाख रुपैयाँ मलाई अपर्ण गरेर तिम्रै नाममा बैंकमा राखिदिनु भन्ने सन्देश पु¥याउन भाउजूलाई आग्रह गरें । भाउजूले सो सन्देश मैले सुन्ने गरेर तिम्लाई पु¥याइदिनुभयो । तिमी त्यति कन्जुष हौला भन्ने मलाई लागेको थिइन् । त्यसपछि त तिमी भाग्यौँ । दिनको दुईचोटि कुरा गर्ने तिमी हरायौँ । भाउजू तिमी भागेको देखेर निकै छक्क पर्नुभयो । एक लाख दिन नसक्ने त तिमी थिएनौँ नि ! मैले चाहिएर मागेको पनि थिइन् । दाईले दिनुभएका दुई चारवटा क्रेडिट कार्ड र आफन्तहरुको आडआधार नै हामीलाई काफी थिए । तिम्ले त दिए पनि लिदैनथे । तर तिम्लाई त्यो ‘इन्जेक्सन’ लगाइदिनै पर्ने थियो किनकी तिम्रो मायाको मुखुण्डो उर्तानै पर्ने थियो । नभए हामीले हाम्रो खबर त तिम्लाई टेक्स्ट मेसेज वा भ्वाइस रेकर्ड र कहिलेकाही फोन कलमार्फत दिएकै थियौँ नि !

अन्तिम पटक उसलाई हामीले अस्पताल लगेको थियौँ, वैशाखको सात आठ गते । मलाई लाग्यो अब तिम्री भाउजू फर्केर आउनेछैन । उसको यात्रा अब त्यतैबाट आर्यघाटतिर हो भन्ने लाग्यो । त्यहीकारण तिम्लाई मैले उसको मोबाइलबाट बिदा गरिदिने निष्कर्षमा पुगें । भाउजू र बहिनीसँग सल्लाह गरें । उहाँहरु सहमत हुनुभयो । तिमीलाई कसरी लक गर्ने भनेर यु ट्युबमा हेरें । अनि बिदा गरिदिनु प¥यो भनेको तिम्रो पासवर्ड उसले फेरेकी रहिछ । भाउजूले एकाध पटक भन्नु पनि भयो तर उहाँले पनि एउटा अक्षर बिर्सनुभएछ । अनि म फरगट पासवर्डमा गएर तिम्लाई बिदा गरिदिने निर्णयमा पुगें । तर त्यहीबेला मेरो मनले ऊ जीवित हुँदै त्यति विधि माया गर्ने तिम्लाई बिदा गर्न मन मानेन । मलाई थाहा थियो ऊ मरेपछि तिम्ले उसका फोटाहरु आफै बाँडनेछौँ भन्ने । म त्यसो गर्न दिन चाहन्नथें । तिम्ले उसलाई ट्याग गरेर अर्थहीन श्रद्धाञ्जली पनि दिनेछौँ भन्ने थाहा थियो । मलाई ट्याग गरेर त्यसैगरी सताउनेछौँ भन्ने पनि थाहा थियो । बन्द गर्न नसक्नको अर्को कारण तिम्लाई उसले केही महत्वपूर्ण फोटोहरु, भिडियोहरु, लेखरचनाहरु राख्न दिएकी हुनसक्छ । ती सुरक्षित राखिदेउला भन्ने कामना जाग्यो । त्यहीकारण मैले तिम्लाई उसको मोबाइलबाट बिदा गर्न सकिन ।
नभन्दै वैशाख १४ गते तिम्री भाउजूले यो संसारबाट बिदा लिई । उसको मोबाइलमा सानी भान्जीले तिम्लाई निम्ता दिएकी रहेछिन् । आर्यघाटबाट फर्केपछि फ्रिजमाथि चार्ज गरेको मेरो मोबाइलबाट तिम्लाई सबैभन्दा पहिले लक गरें । अनि रातको सन्नाटामा हामी चुपचाप बस्यौँ । तिम्रो भिनाजुले बिहानै भन्नुभयो, ‘दाई जुकरबर्गलाई निम्ता नगर्नुस् है । हेरिनसक्नु छ ।’ अनि मैले पहिल्यै ढोका बन्द गरिदिएको कुरा बताएँ । अनि हामी बाटो लाग्यौँ । कहिलेकाही तिम्ले मन बहलाउने कुरा पनि दिन्थ्यौँ, समाचार पनि दिन्थ्यौँ तर आफै परेको चोटको बेला भने तिमी निकै निर्मम भयाैँ । तिम्रो भिनाजु मलाई तिम्रा बारेमा बताउने सेक्रेटरी नै हुनुभयो । बहिनी र भाउजू सहयोगी बन्नुप¥यो । उहाँहरुले बेलाबेला तिमी यतायता र उताउताबाट स्तब्ध भएको र आत्माको शान्तिको कामना गरेको समाचार सुनाउनुहुन्थ्यो । क्यान्डा हुने दाईभाउजू र छोरोलाई समाचार पु¥याउन पाइएको छैन । दिल्लीमा हुने आफन्तलाई केही भन्न पाइएको छैन । तर तिमी निकै हतारिएछौँ । भाउजूलाई खुब माया गरेछौँ । आर्यघाटमा चित्ता ननिभ्दै तिमी स्तब्ध भएछौँ ! तिम्लाई सम्हाल्न बहुत गारो भएछ । मेरो बिहे गरिदिएकी हामीलाई माया गर्ने दिदी ऊ बिरामी भएदेखि रोएर मर्न लाग्नुभएको थियो । उहाँलाई राति एकबजे कसैले फोन गरेर सुनाइदिएछ, तिम्रै स्तब्धताका आधारमा ! विचरा दिदी हक्कानिएर झन्डै बर्बाद भएनछ । गाउँमा एक्लै बस्ने दिदी हक्कानिएको थाहा पाएर छिमेकी आएर बार्दलीबाट छिरेर हेर्दा उहाँ बेहोसीमा बरबराइरहनुभएको रहेछ । मलाई उहाँको खुब डर थियो । नभन्दै उहाँले त्यो पीडा खप्न खुब गारो भएछ । त्यसैले तिम्रा लागि त्यो मृत्यु केही होइन होला तर आफन्तलाई त्योभन्दा मंहगो केही हुन्न भन्ने बुझ न ! तिम्लाई कतिखेर को मर्ला र स्तब्ध हुँला भन्ने सुर्ता हुन्छ । त्यही भएर नमर्दै आतिएर मृत्यु उत्सव मनाइदिन्छौँ । आफन्तहरु कोही बाटो, कोही खाना खाँदै, कोही मुटुका बिरामी कोही सुतिरहेका, कोही सहवास र कोही एकान्तबासमा होलान् । कोही बिरामी निको हुने आशामा नयाँ किरण देख्दै पनि होलान् । तसर्थ तिमी स्तब्धता र चिरशान्तिको मजाक छाड ह्यार ! तर तिम्लाई यसको प्रवाह भएन । मृत्यु हो नि ! अन्तिम कुरा हो । अलिकति त संवेदनशील होऊ न ह्यार ! यो कसैले पनि नचाहे पनि भोग्नै पर्ने कुरा हो । आफ्नो प्रिय मान्छे गुमाउँदाको पीडा हो । मैले बुझे नि प्राण हुँदा र नहुँदा कति फरक पर्दो रहेछ, जिन्दगीमा । ‘कान्छा’ भन्दा ‘हजूर’ भन्ने ऊ हुँदा र नहुँदाको पीडा आज म भोग्दै छु । तसर्थ म आफै सम्हालिन सकेको छैन । तर तिमी पो स्तब्ध भयौँ । कठै ! तर तिम्लाई पहिलो हुने हतार छ । शायद पहिलो भएर सबैभन्दा जान्ने हुन मन छ । तर यसरी जान्ने भइन्न । जान्ने भएको भा एउटै कुरा तिमीले सय ठाउँमा दोहोर्याउने पनि थिएनौँ होला । तर तिमी पहिलो हुन्छु भ्रममा छौँ । तिमी स्तब्धताको मजाक छाड ह्यार ! यही भ्रमको दौडले तिमी फ्लप पनि भएका छौँ । त्यहीकारण ट्वीटर, ह्वाटसअप, भाइबरतिर मानिसहरुको ध्यान तानिएको छ र तिम्रा मुहारहरु घट्दो क्रममा छन् । शक्तिको नियम अनुसार तिमी उकालो चढेर ओर्लने क्रममा आइपुगेका छौँ ।

जुकरवर्ग भाइ नरिसाऊ है ! तिमीले तिम्री भाउजूलाई कहिल्यै तपाईलाई कस्तो छ ? भनेर सोध्यौँ । औषधी खाने पैसा कसरी जुटाउनुभएको छ ? भनेर सोध्यौँ । मलाई सोध्यौँ कसरी तैले उसको उपचार गरिरहेको छस् ? कसरी थामिएको छस् ? वृद्ध बाआमा र नाबालक छोरालाई कसरी सम्हालेको छस् ? अहँ सोधेनौँ । मानसिक रुपमा कसरी जोगिएको छस् ? राति निदाएको छस् कि नाइ ? अहँ कहिल्यै सोधेनौँ । नजिकै भएर पनि आशा गरेर पनि तिमी भेट्न समेत आएनौँ । हिजो टाढा हुँदा आउँछु भनेका तिमी नजिकै आउँदा भाग्यौँ । कतैकतै त तिम्रो मुहार पनि अपरिचित थियो । तर भाउजू बितेको एक घन्टा नबित्दै तिमीले श्रद्धाञ्जलीका नाममा उत्सव मनायौँ । गोहीका आँसु बगायौँ । चिन्दै नचिन्दा पनि तिमी रौयौँ र फोटोसहित स्तब्ध भएर आयौँ । तिम्लाई मैले दुःख सहन गारो होला भनेर पो बोलाउन पठाएको तर तिमी सान्त्वना दिनभन्दा पनि उसको मृत्युमा उत्सव मनाउन पो अग्रसर भएछौँ । तर मलाई आजसम्म पनि एक कल फोन गरेका पनि छैनौँ । भाइ ! इन्डियातिर तिम्ले यति धेरै माया गर्दा रहेनछौँ । उसलाई स्याहार गर्नेहरु कसैलाई पनि तिम्ले माया गरेनौँ । कृष्ण दाई, पवन दाई, राजु दाइ र भाउजु, बुबाआमा, मामामाइजु, दाईहरु कसैले पनि तिमीलाई उसको मृत्युमा उत्सव मनाउन दिनुभएन । ज्ञवाली परिवारले पनि दिएन । तापनि तिम्ले छाडेनौँ । यस्तो माया चाहिदैन भाइ ! मैले आजसम्म मेरो मोबाइलमा भएको तिम्रो मुहारलाई फर्काएर हेरेको छैन । पहिलो दिन तिम्रो भिनाजुलाई खोल्न दिएर बल्ल अर्को दिन मैले लिएको हुँ । पीडामा पटकपटक चोबल्न छाड । यति धेरै माया नगर ! खाटा बसेको घाउलाई नउप्काऊ ! मेरा केही विद्यार्थीजस्तै शब्दमा आऊ फोटोमा नआऊ ! ऊ त मरेर गई मलाई बचाऊ ।

अन्तिममा मैले एउटा कुरा भन्नै पर्छ । हाम्रो घरमा साँझमा खाना खाएपछि सबैजना बस्ने एउटा कोठा छ । त्यो कोठामा हामी सबै सँगै छलफल गर्छौ । दुख सुखका कुरा गर्छौ । बाआमा छोरा बुहारी नातिनातिना छोरीज्वाई जो भए पनि खाना खाएपछि बाआमाको त्यो कोठामा पस्ने चलन छ । हामी सबैको बिचमा साथीत्व वा मित्रवत् व्यवाहर हुन्छ । निर्लज्ज मान्छेले आफूजस्तै ठानेर बा र मेरा बीचमा बेलाबेला कुरा छल्न खोज्छन् । अँ शिवसँग कुरा भयो भन्ने बासँग मसित बासँग कुरा भयो भनेर फाइदा लिने धूर्तहरु पनि छन् । यस्ता ठग र फटाहाका कुरा हामीले फेरि पत्ता लगाइहाल्छौँ र मरिमरि हाँस्छौँ । संयोगले भनौँ वा के भनौँ त्यो कोठामा हाम्ले तिम्रो प्रवेशलाई पूर्णत निषेध गरेका छाँै । त्यहाँ मानवीय संवेदना, भावना, सिर्जना र क्षमताको लेस बाँकी छ । यो राख्ने अन्तिमसम्म हाम्रो कोसिस रहेनछ भाइ । त्यहाँ पनि तिम्रो मायालु हस्तक्षेप बढ्दो छ र हामी निहुरिएका छौँ । तापनि हामी प्रयत्नशील छौँ ।

मार्क भाइ ! धेरै मातमा नउम्ल । त्यसो भयो भने तिम्रो दीर्घ जीवन रहला । जन्म, विजय र मृत्यु फरकफरक संस्कार हुन् भन्ने बुझ । तिमीले आफूमा मानवीय संवेदना भर । हाम्रो मुटुमा हान्न बन्द गर । तसर्थ यही संवेदनाको कमी छ तिमीमा । यो भन्दा के भन्न सक्छ र यो दुखी दाईले । अहिलेलाई यति नै । बाँकी अर्को चिठीमा !


उही तिमीलाई माया गर्ने दाई
शिवशरण ज्ञवाली

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *