राजन पाइजाः कोरोना संकट र संक्रमितको सारथी

डम्मर बुढा मगर, बागलुङ
बागलुङ बडिगाडका राजन पाइजाको परिचय एक कुशल खेलाडीको रुपमा स्थापित थियो र हुन् पनि । तर, पछिल्लो एक वर्ष यता विश्वव्यापी रुपमा सुरु भएको कोरोना महामारीमा उहाँको त्यो परिचयमा थप केही बदलाव आएको छ ।

अहिले उहाँ खेलाडीको रुप्मा भन्दा पनि कोरोना कालमा साहसी सवारी चालक र सहयोगीको रुपमा क्रियाशील र समर्पित हुनुहुन्छ । केही समय अगाडि सम्म खेल खेल्ने, प्रशिक्षण दिने र खेलाडी उत्पादन गर्ने पाइजाका दैनिकीहरु अहिले पुरै फेरिएका छन् । गाउँपालिकाको गाडी चालक रहनुभएका पाइजा केबल त्यतिमै सिमित रहेको भए सायद अहिले उहाँको खोजी, चर्चा र प्रंशसा पनि सायदै हुन्थ्यो । तर, यतिखेर कोरोना संक्रमितलाई बोकेर अस्पतालमा पु¥याउनेदेखि स्वाब संकलन गर्ने र गाउँ–गाउँका नागरिकलाई सचेत बनाउने र संक्रमितको शव अन्त्येष्टिमा समेत साहसका साथ समर्पित भएकाले उहाँको भूमिकाको चर्चा भइरहेको छ ।

कोरोना संकट सुरु भएदेखि गाडी चलाउने मात्रै होइन, स्वास्थ्यकर्मीको काममा समेत सघाउनु भएको छ । गाउँपालिकाका स्वास्थ्यकर्मी जहाँ पुग्छन्, उहाँ पनि त्यही पुग्नु हुन्छ । गाउँपालिकामा सिमित जनशक्ति भएको हुँदा स्वास्थ्यकर्मीले गर्ने काम पनि आफैले गर्दै आउनु भएको छ ।

गाउँपालिकामा बैशाख लागेपछि संक्रमितको संख्या ह्वात्तै बढ्यो । संक्रमण सिंगो गाउँभरी फैलियो । पाइजा स्वास्थ्यकर्मीसँगै गाउँ–गाउँमा पिपिइ लगाएरै स्वाब संकलन अभियानमा हिँड्नु भयो । स्वाब संकलन गर्ने र आफै गाडि चलाएर स्वाबलाई प्रयोगशालासम्म पु¥याउँदै आउनु चएको छ । त्यति मात्रै होइन, संक्रमितको मृत्यु भयो भने त्यसको व्यवस्थापनमा देखिने समस्या पनि उहाँ जोखिम मोलेरै अग्रसर बनेर जाने गर्नुभएको छ । पाइजाले अहिलेसम्म होम आइसोलेशन तथा अस्पतालमा मृत्यु भएका पाँच संक्रमितको शव व्यवस्थापन पनि आफै गर्नुभयो ।

पाइजा गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाका छोरा हुनुहुन्छ । व्यावसायिक कृषि उत्पादनमा सक्रिय पाइजा परिवारलाई खान लाउन कठिन छैन । संकटको बेला घरमै सुरक्षित भएर बस्न पनि सकिने अवस्था भए पनि मनले नमानेर संकटमा सेवामा अझै दृढताका साथ समर्पित भएको राजनको भनाई छ । ‘उहाँमा व्यक्तिगत स्वार्थ छैन । सानैदेखि समाजसेवामा समर्पित पाइजा यस्तो महा संकटमा कसरी घरमा थुपुक्क बस्न सक्नुहुन्थ्यो र ? आजभोली उहाँलाई एकैपछि पनि फुर्सद छैन । संक्रमित बोक्ने, स्वास्थ्य सामग्री ओसारपासर गर्ने र अन्य व्यस्थापनमा निकै तल्लिन हुनुहन्छ,’ बडिगाड गाउँपालिका स्वास्थ्य शाखा प्रमुख चुडामणी कंडेलले भन्नुभयो ।

‘महामारी १/२ जनाले नियन्त्रण, न्यूनिकरण गर्न खोजेर मात्रै सम्भव छैन, सबैले आ–आफ्नो स्थानबाट सहयोग गरियो भने मात्रै सम्भव हुने हो, म गाउँपालिकाको कर्मचारी र नागरिकको हिसाबले काम गरि रहेको छु’ राजन भन्नुहुन्छ ‘मैले नागरिकले पूरा गर्नु पर्ने जिम्मेवारी मात्रै बहन गरि रहेको छु, हामीले सकेको काम गर्दा कोरोना न्यूनिकरण हुन्छ भने किन नगर्नु र ?’

उहाँले गत वर्षभन्दा यस वर्ष कोरोना नियन्त्रण गर्न केही समस्या भए पनि आफूहरु न्यूनिकरणका लागि निरन्तर लागि रहेको बताउनुभयो । पाइजाले गत वर्ष बाहिरी मुलुकबाट आउनेहरुमा जोखिम हुने गरेको र यस वर्ष पालिका भित्रैका नागरिकहरुमा समेत संक्रमण बढिरहेकाले थप जोखिम रहेको बताउनुभयो ।

‘गत वर्ष केही सहज थियो, किनकि पालिका भित्र भन्दा पनि बाहिरी मुलकबाट आउनेहरुबाट संक्रमण फैलिने डर थियो तर यस वर्ष गाउँका नागरिकमा समेत संक्रमण पुष्टि भएको हुँदा थप चुनौति भएको छ, यद्यपि हामी निरन्तर प्रयासमा छौँ,’ पाइजाले भन्नुभयो ‘आम नागरिकले सरकारको निर्देशनलाई पालना गरिदिएको भए अहिले यस्तो समस्या साहेद आउने थिएन होला ।’

उमेर ३६ वर्षीय पाइजा अन्तर्राष्ट्रिय एसियन करातेका प्रशिक्षक समेत हुनुहुन्छ । बडिगाडमा कराते खेलाडीहरु उत्पादन समेत गर्दै आउनु भएको छ । २०५२ सालदेखि कराते सिक्नु भएका पाइजाले २०५८ सालदेखि आफ्नै गाउँ ठाउँमा खेलाडी उत्पादनमा सक्रिय हुनुभयो । अन्तर्राष्ट्रिय एसियन करातेको प्रशिक्षक बनेको अहिले ४ वर्ष भएको उहाँको भनाई छ ।

पाइजलाई नचिन्ने बडिगाडमा सायदै होलान् । साना बालबालिकादेखि बयस्क, बृद्धसम्मका प्रिय हुनुहुन्छ पाइजा । विश्वरभर महामारीको रुपमा फैलिएको कोरोना रोकथाममा पाइजाले बडिगाडमा महत्वपूर्ण भूमिका खेल्नु भएको छ । संकटमा नागरिकको जीवन रक्षा गर्नु आफ्नो कतव्य सम्झिएको उहाँ बताउनुहुन्छ । यस्तो महासंकटमा कर्मचारी मात्र नभई नागरिकका हिसाबले समेत मानवीयता सहित सामाजिक उत्तरदायित्व समेत बहन गरिरहेको पाइजा बताउनुहुन्छ । यसरी जोखिम मोलेर काम गर्दा साथी संगीदेखि स्थानीयले दिएको धन्यवादले आफूलाई थप काम गर्न उत्प्रेरणा मिलेको उहाँको भनाई छ ।

यो पनि पढ्नुहोस्