‘माननीयहरु’ले बिर्सिरहने मर्यादाका बारे

सम्पादकीय
‘मर्यादा’, ‘नैतिकता’ जस्ता कुरा नेपाली राजनीतिमा दुर्लभ जस्ता बन्न थालेका छन् । शव्दमा सबैजसोको ओठबाट अभिव्यक्त भए पनि यसको व्यवहारिक प्रयोगमा पनि धेरै कम मात्र देख्न पाइने अवस्था बिद्यमान । नेपालमा पुराना विकृत व्यवस्थाहरु फेरिएर नयाँ उन्नत व्यवस्था आएकोमा खुसीयाली मनाइए पनि अहिले पुरानै पात्र र प्रवृत्तिको दैनिक पुनरावृत्तिले जनतामा निराशा बढ्दो छ । यसमा समाज र देश बदल्न जनताले अभिमत दिएर पठाएकाहरुबाटै अझ बढी समस्या र संकट सिर्जना गरिएको छ । जसका कारण नेताहरुले ‘मर्यादा’, ‘नैतिकता’ बिर्सिदै जान थालेका छन् । र आफ्नो व्यक्तिगत, पार्टीगत स्वार्थका लागि राजनीतिक देउपेचमा सिंगो देश र व्यवस्थालाई नै घृणित बनाउने खेल भइरहेको छ ।

यस्तो अवस्था आउनुमा वर्तमान सरकार धेरै हिसाबले जिम्मेवार छ । दुई तिहाइ जनमत प्राप्त सरकारले जे जस्तो हिसाबले जनअपेक्षा अनुसार कर्म गर्नुपथ्र्यो, त्यसको विपरित एक पछि अर्को कदम चाल्दै जाँदा आज सरकार स्वयंम् संकटमा छ । सरकारका जिम्मेवार प्रधानमन्त्रीदेखि मन्त्री, सांसदहरुको बोली व्यवहार उत्तिकै उदेक लाग्दो अवस्थामा देखिन्छ । विपक्षीमा रहेका दल र तीनका जिम्मेवार नेताहरुको बोली, व्यवहार र शैली पनि उस्तै प्रवृत्तिले ग्रस्त देखिएको छ । हिजो मात्रै वागमती प्रदेश सभा सदस्य नरोत्तम वैद्यले संसदमै प्रधानमन्त्री केपी शर्मा ओलीलाई मार्न नाथुराम गोड्से जस्तो व्यक्ति चाहिएको र त्यसका लागि अरु कोही तयार नभए आफू तयार रहने अभिव्यक्ति दिए । यो आपत्तीजनक अभिव्यक्तिको सर्वत्र निन्दा भयो । यद्यपि, त्यही संसदको रुलिङ गरिरहेका सभामुख र अघिल्लो पंक्तिमा रहेका सांसदहरु भने यस्तो गम्भीर विषयमा मुकदर्शक बने । भलै बैद्यले कांग्रेसको निर्देशनमा अभिव्यक्ति फिर्ता लिँदै माफी मागेका छन् । नाथुराम गोड्से तिनै व्यक्ति हुन् जसले महात्मा गान्धीको गोली हानी हत्या गरेका थिए ।

कुनै सार्वजनिक पदमा आसिन व्यक्ति संस्था सँग हाम्रा गुनासा, आक्रोश, मत भिन्नताहरु हुन सक्छन् । त्यसलाई अभिव्यक्त गर्ने तौरतरिकाहरु छन् । जसले नेपाली समाज, लोकतान्त्रिक व्यवस्थाको सुन्दरता पनि झल्काउँछन् । तर, यसलाई हामीले अपनाउँछौ कि अराजक बाटो र विकल्प खोजेर व्यवस्थालाई नै बदनाम बनाउँछौ ? र आफू स्वय्म बदनामित हुन्छौ ? हामीले व्यवस्था बदले पनि अवस्था बदल्न नसक्नुको नियति नेपाल र नेपालीले वर्षौदेखि भोग्दै आएका छन् । अरु बदलिनु पर्ने, बदलिएको देख्न चाहने तर आफू चाही बदलिनु नपर्ने समस्याले समाज र लोकतन्त्र गणतन्त्र पनि कलुषित भएका छन् । आफू र आफ्नो पक्ष र पार्टीकाले भन्ने गर्ने हर चिज सही अरुले गर्ने खराब भन्ने र सोँच्ने प्रवृत्ति पनि आजको सबै भन्दा ठूलो समस्या र संकटको कारक हो । अतः यस्ता पात्र र प्रवृत्तिलाई प्रश्रय दिने सबैलाई हर विवेकशील नागरिक एकमत भएर निरुत्साहित गरौं ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *