मनपरी सडक खन्दा टुनीबोट बस्ती पहिरोको मारमा

डम्मर बुढा मगर, बागलुङ


गत बुधबार राती बागलुङको बडिगाड गाउँपालिका वडा नम्बर ७ स्थित टुनिबोटमा पहिरोसहित बाढी आयो । बाढीले आठ घर परिवार विस्थापित भए । घर माथिदेखि भलसहित आएको बाढीले स्थानीय मन बहादुर दमाई, नर बहादुर दमाई, खिम बहादुर दमाई, नवीन दमाई, गम्मर सिङ गुरुङ, भुपाल गुरुङ, शेर बहादुर रोका र नर बहादुर गुरुङको घर बाढीले बस्नै नमिल्ने गरि क्षति पु¥याएको छ ।

विस्थापित भएका गम्मर सिङ गुरुङ, भुपाल गुरुङ, शेर बहादुर रोका र नर बहादुर गुरुङ आफन्तकोमा आश्रय लिएका छन् भने अन्य चार परिवार गाउँको खाली गोठमा छन् । विस्थापित चार दलित परिवारको अन्य कुनै जायजेथा नभएको बडिगाड गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष कृष्ण गुरुङले जानकारी दिनुभयो ।

अन्य चार परिवारलाई भने ठुलो समस्या नभएको उहाँको भनाई छ । बाढी पीडित नरबहादुर दमाइले बाढीले घरमा बस्नै नमिल्ने गरि क्षति पु¥याएपछि गाउँको खाली गोठमा बसेको बताउनुभयो । आफूहरुको घर बाहेक अरु सम्पत्ति नभएकाले अब के गर्ने भन्ने समस्या र चिन्तामा रहेको उहाँको भनाई छ । वर्षाको समयमा गतिलो ओतमा बस्नु पर्ने बेला गाउँलेको आश्रय लिनु परेको उहाँ बताउनुहुन्छ ।

‘हाम्रो अरु केही सम्पत्ति छैन, गरि खाने जग्गा जमिन पनि छैन, भएको यही घर मात्रै हो, घर पनि बाढीले बस्नै नमिल्ने गराई दियो, हामी माथि त दैव लाग्यो’ उहाँले भन्नुभयो ‘अब अर्को घर बनाउन भने पनि थातथलो छैन, अरुको गोठमा बसेर कति दिन पुग्छ र ?’

अर्का पीडित खिमबहादुर दमाईले साँझ विहानको छाक जसोतसो टार्नै मुस्किले परेका बेला घरनै जोखिममा परेपछि आफूहरुको बिचल्ली भएको बताउनुहुन्छ । उहाँले काम नगरि खान नपुग्ने भन्दै अब घर कसरी बनाउने भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

‘विहान बेलुकीको छाक टार्न धौ–धौ भएको बेला, यस्तो विपद् आइलाग्यो, अब कसरी बाँच्ने, बस्ने खाने नै नभएपछि कसरी बाँच्न सकिएला र ?’ दमाईले भन्नुभयो ‘घर बनाउने जग्गा जमिन समेत छैन, भएको घरको हालत यस्तो भयो, हामी जस्तो दुःखी पीडितलाई खै कसले सहयोग गर्छ ?’

वडा अध्यक्ष गुरुङले उनीहरुको अरु सम्पत्ति केही नभएकाले उनीहरुको व्यवस्था राज्यले गर्नु पर्ने बताउनुभयो । गुरुङले हाललाई गाउँमा छिमेकीहरुसँग सरसल्लाह गरेर खाली गोठ तथा घरमा व्यवस्थापन गरेको भन्दै उनीहरुको दीर्घकालीन व्यवस्थापनमा राज्यले नै ध्यान दिनु पर्ने बताउनुहुन्छ ।

‘पीडित मध्ये चार दलित परिवारको अवस्था निकै दयनीय छ, उनीहरुको अरु जग्गा जमिन पनि केही छैन, भएका यिनै घरहरु हुन्, घर पनि बाढीले क्षति पु¥याए पछि उनीहरुको अवस्था निकै पीडादायक बनेको छ,’ अध्यक्ष गुरुङले भन्नुभयो ‘अहिले त गाउँका खाली गोठ तथा घरमा व्यवस्थापन गरेका छौँ, अन्य आफन्तकोमा बस्नु भएको छ, वर्षातको समय छ, अन्य ठाउँमा व्यवस्थापन गर्न सक्ने अवस्था पनि छैन, उहाँहरुको उचित व्यवस्थापनको लागि हामीले पालिकामा पनि खबर गरेका छौँ, केन्द्र र प्रदेश सरकारको पनि तत्काल ध्यान जान जरुरी छ ।’

त्यस बस्ती भन्दा माथि सडक लैजाने क्रममा स्थानीय उपभोक्ताले जथाभावी सडक खन्दा यस्तो समस्या उत्पन्न भएको अध्यक्ष गुरुङको भनाई छ । घरहरु बाढीको उच्च जोखिममा पर्नुको कारण भित्रेनी गोथान मोटरबाटो हो । बिना इन्जिनियरिङ सडक निर्माणले यहाँका अन्य बस्तीहरु पनि जोखिममा पर्न सक्ने स्थानीयको भनाई छ ।

यस स्थानसँगै बडिगाड गाउँपालिका अन्य केही गाउँहरु पनि बाढी तथा पहिरोको जोखिममा रहेको स्थानीय बताउँछन् । स्थानीय सरकारले विकासको रुपमा मोटरबाटोलाई प्राथमिकता दिनु र जथाभावी रुपमा सडक खन्नुले गाउँपालिकका अन्य स्थानमा पनि बस्तीहरु जोखिममा परेको छ ।

मोटरबाटो निर्माण समितिलाई तत्काल जोखिम रहेको ठाउँमा तटबन्धन गरेर बस्ती जोगाउनका लागि आग्रह गरेको अध्यक्ष गुरुङको भनाई छ । समितिले बस्ती जोगानका लागि तत्काल काम अगाडी बढाउने सहमति जनाएको उहाँले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *