मुख्यमन्त्री पोखरेललाई हार्दिक बधाई

सम्पादकीय
पाँच वर्षका लागि निर्वाचित भएको गण्डकी प्रदेश सरकार साढे ३ वर्षमै अस्थिर राजनीतिको कोपभाजनमा परेको छ । विगतका पुराना खराब व्यवस्था बदलेर पात्र र प्रवृत्ति समेत बदल्ने अठोट सहित ठूलो संघर्ष,बलिदान र त्यागबाट देशमा संघीय लोकतान्त्रिक गणतन्त्र ल्याइएको थियो । यही व्यवस्थासँगै ऐतिहासिक रुमपा निर्माण गरिएको नयाँ संविधान कार्यान्वयनका क्रममा केन्द्र, प्रदेश र स्थानीय गरेर तीन तहको चुनाव गरियो । निर्वाचनबाट नेकपा एमाले तीनै तहमा उल्लेख्य जीत हासिल गरेर पहिलो दल बन्यो । तत्कालीन समयको पहिलो पार्टी दोस्रोमा खुम्चियो । यो निर्वाचनमा बामपन्थी गठजोडको पनि ठूलो रटान र नारा लगाइयो । जसले गर्दा नेकपा माओवादी केन्द्रसँगको चुनावी एकताबाट बामपन्थी जनमन दुई तिहाई हाराहारी आयो । यो कम्युनिष्ट आन्दोलन र इतिहासमा एक ऐतिहासिक उपलब्धी थियो । तर, यो जित र अवसरको यथोचित हिसाबले नेतृत्वले उपयोग गर्न नसक्दा कम्युनिष्ट सरकार, नेतृत्व नै बोझ बन्न थालेको नागरिकको गुनासो छ ।

सत्तारुढ दल आफै आन्तरिक कचिंगलमा छ । न जुट्न सक्ने, न फुट्न सक्ने अवस्थामा छ । यस बाहेकका माओवादी केन्द्र, जनता समाजवादी पार्टी पनि बिभाजनकै अवस्थमा छन् । राजनीतिक स्थिरता कायम हुने अपेक्षा गरिएको तीन वर्षकै हाराहारीमा फेरी पुरानै व्यवस्था र फोहोरी खेलहरुको चौतर्फी पुनरावृत्ति हुन थालेको छ । सत्ता जोगाउन र गिराउनका लागि जे पनि गर्ने अवस्थाले देशको राजनीति तंरगित छ । पाँच वर्षका लागि प्रमुख प्रतिपक्षी भएर बस्ने उद्घोष गरेको नेपाली कांग्रेस अहिले सरकारको नेतृत्व गर्ने र कतै सरकारमा सहभागी हुने अवस्थामा पुगेको छ । गण्डकी प्रदेश सरकार यही राजनीतिक कचिंगलको पहिलो सिकार हुन पुग्यो र मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ डेढ वर्ष अघि नै सत्ताबाट विदाई हुनुप¥यो । भलै मुख्यमन्त्री गुरुङ देशका ७ वटै प्रदेशमा संघीयताको कार्यान्वयन गर्ने र प्रदेश सरकारलाई अब्बलताका साथ अघि बढाउनेमा अग्रपंक्तिमा भएको अधिकको प्रतिक्रिया छ । त्यो धेरै हद सम्म व्यावहारिक रुपमै देखिएको पनि छ । लामो रस्साकस्सीका बिच गण्डकी प्रदेश सरकारको बागडोर नवलपुरका कृष्णचन्द्र नेपाली पोखरेलले सम्हाल्नुभएको छ ।

पोखरेल कांग्रेसको लामो राजनीतिक संघर्षबाट स्थापित नेता हुन् । उनले जिल्लामा पार्टी नेतृत्वदेखि केन्द्रीय सदस्य र अरु कार्यबाट आर्जेको ज्ञान, अनुभव, सिप, कला कौशल अब गण्डकी प्रदेशलाई थप समृद्ध बनाउनेमा केन्द्रित गर्नुपर्छ । अहिले राजनीति प्रति आम रुपमा तीव्र बितृष्णा छ । सरकारहरु आन्तरिक राजनीतिक किचलोमा केन्द्रित हुने र जनताको समस्या भावना अपेक्षा बेवास्ता गरेको आभाष छ । कोरोना महामारी चलिरहेको बेलामा जे जस्ता एजेण्डा या नारा लिएर सत्ता असमयमै परिवर्तन गरिएको छ, अब त्यसको औचित्य पुष्टि मुख्यमन्त्री पोखरेल नेतृत्वको प्रदेश सरकारले गर्न सक्नुपर्छ । नत्र ‘जुन जोगी आए पनि कानै चिरेको’ भने जस्तै हुनेछ । केवल सत्ता स्वार्थ र राजनीतिक दाउपेचमै सिमित हुने हो भने त्यसले कांग्रेस नेतृत्वको सरकारले पनि भोली ठूलै मूल्य चुकाउने अवस्था आउने निश्चित छ । यि सबै चुनौतिलाई छिचोलेर अघि बढ्न सफलता मिलोस्, मुख्यमन्त्री कृष्णचन्द्र पोखरेललाई हार्दिक शुभकामना ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *