डाक्टर,इञ्जिनियर पढाउन सघाउँदै ताराखोला गाउँपालिका

आदर्श अनलाइन, बागलुङ
जिल्लाको ताराखोला गाउँपालिकाले उच्च शिक्षा अध्यापनका लागि विद्यार्थीलाई आर्थिक सहयोग गर्न थालेको छ । गाउँपालिकाले गत आर्थिक वर्षदेखि गाउँपालिकामा जन्मेर विभिन्न क्याम्पसहरुमा उच्च शिक्षा अध्ययन गरिरहेका विद्यार्थीहरुका लागि छात्रवृत्ति दिन थालेको छ ।

गाउँपालिकाले गत वर्ष ४ लाख रुपैयाँ ८ जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई उच्च शिक्षाका लागि छात्रवृत्ति स्वरुप प्रदान गरिसकिएको छ । चालु आर्थिक वर्षमा समेत छात्रवृत्तिका लागि विद्यार्थी छनौट गरिसकेको ताराखोला गाउँपालिकाले जनाएको छ । गाउँमा डाक्टर, इञ्जिनियर जस्ता प्राविधिक धारमा अध्ययन गर्न अभिप्रेरित गर्ने उद्देश्यले उक्त कार्यक्रम ल्याएको ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले जानकारी दिनुभयो ।

“गाउँकै मानिसले प्राविधिक पढेमा गाउमै सेवा गर्न सक्ने भए, गाउँमा गाउँपालिकामा डाक्टर तथा इञ्जिनियरका रुपमा अन्य स्थानका कार्यरत छन्, उनीहरुलाई हौसला दिएर अध्ययन गरे आफ्नै गाउँका डाक्टर इञ्जिनियर जस्ता प्राविधिक रुपमा गाउँपालिकामा सेवा गर्न पाउनेछन्” गाउँपालिका अध्यक्ष घर्तीले भन्नुभयो “प्राविधिक विषय निकै खर्चिलो छ, अध्ययनमा केही सहयोग पुगोस् भन्ने चहना हो, ३ जना अति विपन्न विद्यार्थीहरुलाई साधारण अध्ययनका लागि समेत उच्च शिक्षामा छात्रावृत्ति दिने गरेका छौं, जसका कारण गाउँमा उच्च शिक्षा अध्ययन गर्नेको संख्या बढोस् भन्ने हो ।”

अध्यक्ष घर्तीका अनुसार पशु प्राविधिक अध्ययनमा सहयोग गरेका गाउँपालिकाका आवान घर्तीले अहिले गाउँपालिकाको पशु शाखाबाट सेवा समेत दिइसक्नुभएको छ । यस्तै, विज्ञान विषयमा स्नातकोत्तर अध्ययन गरिरहनुभएका याम बहादुर रोकाले यसवर्ष प्राप्त ६८ हजार छात्रावृत्ति गाउँपालिकामा रहेको लोपोन्मुख जडिबुटी ‘पदमचाल’को विषयमा अध्ययन गर्न खर्च गर्ने बताउनुभयो ।

गाउँपालिकाले विशेष गरि डाक्टर तथा इञ्जिनियर अध्ययन गर्नेहरुका लागि उक्त शैक्षिक अनुदान कार्यक्रम केन्द्रित गरेको छ । गाउँपालिकाले यस वर्ष ८ जना विद्यार्थीलाई ४ लाख रुपैयाँ छात्रवृत्ति दिन छनौट गरिसकेको छ । छनौटमा परेका विद्यार्थीहरु मध्ये ५ जना एमविबिएस, विज्ञान संकाय तथा इञ्जिनियर अध्ययनरत छन् भने तीन जना अन्य विषय अध्ययन गर्ने रहेका छन् । गाउँपालिकाले निर्माण गरेको कार्यविधि अनुसार पाँच प्राविधिक र तीन साधारण अध्ययन गर्नेलाई छात्रवृत्ति दिने गरेको गाउँपालिकाका शिक्षा अधिकृत सविता कुमारी केसी पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकाले खुलाएको निवेदनमा १२ जनाको आवेदन परेकोमा गरिब, जेहेन्दार तथा योग्यताका आधारमा ८ जना विद्यार्थी छनौट गरेको छ ।

छनौटमा परेका याम बहादुर रोका मगरले त्रिभुवन विश्व विद्यालय किर्तिपुरमा अध्ययनरत हुनुहुन्छ भने अन्य विद्यार्थी स्नातक तहमा अध्ययनरत छन् । विद्यार्थीको अध्ययन गर्न लाग्ने खर्चका आधारमा बढीमा एक लाख र घटीमा २० हजार सम्म छात्रावृत्ति प्रदान गरिएको छ ।

याम बहादुर रोका मगरले ६८ हजार, नेपाल मेडिकल कलेजमा स्नातक अध्ययनरत मधुसुधन विकले एक लाख, त्रिचन्द्र कलेजमा स्नातक अध्ययनरत चन्द्र बहादुर विकले ४० हजार, त्रिभुवन विश्व विद्यालय इञ्जिनियरिङ अध्ययन संस्थानमा स्नातक तहमा अध्ययनरत पुरण पुनले ४० हजार, पुल्चोक क्याम्पसमा स्नातक अध्ययन गर्ने निखिल रोकाले ४० हजार र धौलागिरी बहुमुखी क्याम्पसमा स्नातक अध्ययनरत कमला विश्वकर्माले ३० हजार, सोविता सुनारले २५ हजार र बेल कुमारी पुनले २० हजार रुपैयाँ छात्रवृत्ति पाएको गाउँपालिकाले जनाएको छ ।

दुर्गम पालिकामा जन्मेर प्राविधिक सहित उच्च शिक्षा अध्ययन गरिरहेका विद्यार्थीलाई प्रोत्साहन स्वरुप रकम उपलव्ध गराइएको हो । गाउँपालिकाको सहयोगले विद्यार्थीहरुलाई उच्च शिक्षा अध्ययनमा मनोवलमा वृद्धि हुने अपेक्षा छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *