सरोजराज पन्त
पहिले समाजमा अन्तरजातीय विवाह गर्नेलाई हेयको नजरले हेर्ने, कुरा काट्ने, व्यंग्य गर्ने, होच्याउने गरेकोमा अहिले शिक्षाको प्रभाव, सस्ंकृितको प्रचारप्रसार, देशविदेशी कामले विवाह संस्कारमा नचाहिने विधिहरू छोटिदै गएको, विना अर्थ गरिने खर्च घट्दै, परम्परागत भेषभुषा, पहिरन, गरगहना, बाजागाजा, दाइजो प्रथा, भोजभतेरमा फजुल खर्च गर्ने पद्धतिमा कमि आएको छ ।
विवाह महिला र पुरुषका बिच आपसी सम्बन्ध स्थापित गर्न गरिएको करार वा सम्झौता हो । केटा पक्षले केटी पक्षलाई वा केटी पक्षले केटा पक्षलाई आफ्नो जीवन साथीको रुपमा विधिगत तरिकाले स्वीकार्ने कार्य विवाह हो । विवाहलाई साँस्कृतिक संस्थाका रुपमा विश्लेषण गर्दा लोग्ने स्वास्नी बिच यौन सम्बन्ध र बालबच्चा जन्माउन सामाजिक स्वीकृति प्राप्त गर्ने अवस्थाका रुपमा प्रष्ट पारिएको छ । प्रत्येक समाज र संस्कृतिमा विवाहका भिन्न प्रकारहरु रहेका छन् । विवाह प्रत्येक सामाजिक, साँस्कृतिक परिवेशमा फरक भएता पनि प्रत्येक विवाहमा विपरित लिङ्ग बिच यौन सम्वन्ध र यसवाट बालबच्चाको अपेक्षा गरिएको हुन्छ । यद्यपि आजको विज्ञान र प्रविधिले युक्त विश्व जगतमा समान लिङ्ग बिच समलिङ्गी विवाह हुने गरेको पाइन्छ । अहिले विवाहको लागि स्त्री र पुरुषनै नचाहिने समान लिंगी बिच विवाह हुने गरेको छ । सन्तान उत्पादनको लागि स्त्री वा पुरुष बिच विवाह आवश्यक भए पनि वर्तमान समयमा समलिंगी विवाहलाई कानुनी मान्यता दिने परिपाटीको विकास भएको छ ।
अहिले रोर्वटलाई नागरिकता प्रदान गर्ने र उसले समेत वैवाहिक सम्वन्ध स्थापित गर्न चाहेको कुरा विभिन्न संचार माध्यममा प्रसारण भइ सकेको छ । यसरी हेर्दा विभिन्न समाजमा विवाहलाई फरक फरक तरिकाले व्याख्या गरिएको छ । नेपाली समाजमा विवाहलाई महत्वपूर्ण सामाजिक संस्कारको रुपमा लिइन्छ । परिवारको आधारभुत पक्षको रुपमा विवाहलाई दुई आत्माको मिलनको रुपमा लिने गरिन्छ । विवाहको महत्वपुर्ण पक्षको रुपमा सन्तान उत्पादनलाई तथा यसको माध्यमवाट परिवार परिवार बिचको अन्तर सम्वन्धवाट समाजको स्थापना हुने गर्दछ । परापुर्वकाल देखिनै विवाहलाई एक महत्वपूर्ण पक्षको रुपमा लिने गरिन्छ । वैदिक कालमा विवाहको चर्चा परिचर्चा निकै गरिएको र हाम्रो समाजमा विभिन्न जातजाति, धर्म र सम्प्रदाय अनुसार विवाह कर्ममा केही फरकफरक संस्कारहरू आएको पाइन्छ ।
समाज परिवर्तनशील भएकोले समाज र समयको परिवर्तनलाई रोक्न सकिदैन । परिवर्तन नियमित र निरन्तर अगाडि बढी रहने प्रक्रिया हो । यही परिवर्तनको क्रममा वर्तमान नेपाली समाज विश्वाव्यापिकरणको प्रभावसंगै पाश्चात्य समाजवाट प्रभावित भएको छ । हिन्दु धर्म र त्यसमा आधारित समाज क्रमशः परिवर्तन हुदै गएर एउटा मिश्रित संस्कृतिमा परिणत हुन पुगेको छ । आज नेपाली समाजमा विभिन्न धर्म संस्कार मान्ने र स्वीकार गर्नेहरुलाई संख्यात्मक हिसावले परिवर्तित समय क्रममा नेपालमा भएका आमुल परिर्वतनले सम्पूर्ण क्षेत्रलाई समानताको दृष्टिले हेरेको पाइन्छ । जुन नेपालको संविधानमा उल्लेख छ ।
अन्तरजातीय विवाह भिन्न जाति समुदायकाका नारी एवं पुरूष बिचको विवाह हो । यस्तो विवाहमा जातिगत कुनै वन्धन हुँदैन । जातीय विभेद एवम् छुवाछुत जस्ता कुरीतिहरूलाई नष्ट गर्ने एक मात्र उपाय अन्तरजातीय विवाह हो । महात्मा गान्धीले अरू जातिसँग बसेर खाँदैमा र अन्य जातिमा छोरीको विवाह गर्दैमा मानिसको जातिमा परिवर्तन हुँदैन । नेपाली समाजमा व्याप्त जातीय विभेद उन्मुलनमा अन्तरजातीय विवाहको महत्वपूर्ण योगदान हुन्छ । वर्षोदेखि जातीय विभेदको सिकार बन्दै आइरहेका र सामाजिक, सांस्कृतिक, धार्मिक, राजनैतिक र आर्थिक मुलधारबाट बहिष्कृत रहेका अन्तरजाती विचको विवाहलाई नेपाली समाजले स्वीकार गर्ने क्रम वढ्दो छ । हिन्दू ग्रन्थलाई केलाउने हो भने वेदमा मानिसको जन्म जस्तो भए तापनि उसलाई कर्मले चोखो र उत्कृष्ट बनाउन सकिन्छ भनिएको छ । मनुस्मृति दशौं मण्डल अनुसार रामका गुरु वशिष्ठले अक्षमाला नाम गरेकी शूद्र कन्यासँग विवाह गरे राम्री कन्या, मिठो बोली, रत्न, ज्ञान तथा सम्पत्ति शूद्रहरूबाट लिन हुँदो रहेछ । तर, पछि आएर वेदको लेख्य र वशिष्ठले गरेको विवाहले सार्थकता राखेको पाइँदैन । कर्मअनुसार वर्ण व्यवस्था कायम हुनुपर्ने वेदले औंल्याएको भएता पनि अभ्यासमा त्यस्तो भए गरेको पाइदैन ।
नेपालको संविधानले जातीय विभेदको अन्त्य गरिसकेको सन्दर्भमा उमेर पुगेका यूवा यूवतीको बिचमा कुनै पनि जात, वर्ण, धर्म आदिका कारण विवाहमा रोक लगाएको नभएतापनि वर्ण व्यवस्था अनुसार अन्तरजातीय विवाहलाई अंकुशमा पार्न अनेक कठोर नियमहरू रहेका छन् । सामाजिक कठोर नियमहरूले गर्दा जानीजानी आफूभन्दा तल्लो जातिलाई जुवाई वा बुहारी बनाउन कुनै पनि बाबुआमा भरसक तयार हुँदैनन् । धर्म, वर्ण, लिङ्ग, आदिबाट कसैले नछुट्याउन ऐनले व्यवस्था गरेको छ । यद्यपि अन्तरजातीय विवाहको जतिसुकै पक्ष लिए तापनि धर्मप्राण नेपालीहरू यस किसिमको विवाहलाई रूचाउदैनन् । अहिले जातिप्रथालाई उपेक्षा गरी अन्तरजातीय विवाहलाई प्रोत्साहन पार्ने कारकहरूमा पाश्चात्य शिक्षा, पेशा, व्यवसाय, सहशिक्षा, प्रेमलाप, दाइजो, जातिप्रथाका विरोधी कारणलाई लिन सकिन्छ । समानताको सिद्धान्त, राष्ट्रिय आन्दोलन, यातायात र संचार साधनको विकास, औद्योगिकरण, महिला आन्दोलन, व्यवसायमा महिलाको प्रवेश, ढिलो विवाह, शिक्षाको प्रचार प्रसारलाई यसका कारकतत्वको रूपमा लिन सकिन्छ ।
वर्तमान नेपाली समाजले सजातीय विवाह भन्दा अन्तरजातीय विवाहलाई शिक्षित परिवारले रूचाएको देखिन्छ । तथापि पाश्चात्य शिक्षा एवं संस्कृतिको प्रत्यक्ष सम्पर्कमा आएपछि मात्र नेपाली समाज अन्तरजातीय विवाहप्रति उन्मुख भयो । अन्तरजातीय विवाहको फाइदाहरू पनि छन् । फाइदाको दृष्टिकोणले विश्लेषण गर्ने हो भने जातिवादको उन्मुलन, सामाजिकीरण र राष्ट्रिय एकता, दाइजोप्रथाको रोकथाम लगायत छन् । आधुनिकिकरणको प्रभावले वर्तमान समाज परिवर्तन भएको छ । पहिले समाजमा अन्तरजातीय विवाह गर्नेलाई हेयको नजरले हेर्ने, कुरा काट्ने, व्यंग्य गर्ने, होच्याउने गरेकोमा अहिले शिक्षाको प्रभाव, सस्ंकृितको प्रचारप्रसार, देशविदेशी कामले विवाह संस्कारमा नचाहिने विधिहरू छोटिदै गएको, विना अर्थ गरिने खर्च घट्दै, परम्परागत भेषभुषा, पहिरन, गरगहना, बाजागाजा, दाइजो प्रथा, भोजभतेरमा फजुल खर्च गर्ने पद्धतिमा कमि आएको छ । पहिले पहिले प्रेम गर्नु अपराध हो, पाप हो भन्नेहरू आज प्रेम पछि विवाह उचित मान्न थालेका छन् । पहिलेको तुलनामा प्रेम विवाह, अन्तरजातीय विवाह बढ्दै गएको पाइन्छ । अन्तरजातीय विवाहको एक अर्कामा नजिकिन र मनका भावना आदान प्रदानका लागि सामाजिक संजाल एवं आधुनिक प्रविधिहरु सहयोगी भूमिका बनेको देखिन्छ ।
समाजशास्त्री चैतन्य मिश्रका अनुसार “माक्र्सलाई चिन्न पर्ने र माक्र्सबाट सिक्नु पर्ने तीनवटा मूलभूत कुराहरू छन् । जसमा पहिलो सामाजिक विश्लेषण गर्दा कुन पद्धति अपनाउनु पर्छ भन्ने हो । दोस्रो पँुजीवाद र पँुजीवादको विश्लेषण कसरी गर्न सकिन्छ भन्ने कुरा हो र तेस्रो, वर्गीय अन्तरविरोध के हो र पुँजीवादले ल्याउने शोषणबाट मुक्ति पाउनका लागि के गर्नुपर्छ भन्ने कुरा हो ।” समाजका प्रत्येक अंगहरू कुनै न कुनै रूपमा द्वन्द्व भइरहन्छ, जसले नयाँ सामाजिक व्यवस्थाको जन्म हुन्छ । सिंगो सामाजिक प्रक्रिया, समाज तथा यसभित्रका सामाजिक संस्था, मूल्यमान्यताहरू आदिमा परिवर्तन हुन्छ । यस्ता परिवर्तनले मात्र नयाँ समाज, सामाजिक संस्था, मूल्य मान्यता, राजनीतिक परिपाटी, सांस्कृतिक संरचना, परिवार, समुदाय, विवाह पद्धति आदिमा परिवर्तन हुन्छ ।
समयको परिर्वतन र जनचेतनाको स्तरमा वृद्धिसंगै परम्परागत रूपमा चल्दै आएको बालविवाहमा परिवर्तन भएको छ । कानुनी रूपमा विवाह योग्य उमेर महिलाको हकमा १८ वर्ष र पुरूषको हकमा २१ वर्ष तोकेको छ । परम्परागत रूपमा वा संस्कारगत रूपमा यसले प्रचलन पाएता पनि आधुनिक समाजमा प्रेम विवाह र अन्तरजातीय विवाहको प्रचलन बढी रहेको छ । यद्यपि परम्परागत संस्कार, प्रचलनका कारण अन्तरजातीय विवाह तुरून्त स्वीकार नगरेको, संघर्ष गर्नु परेको र केही समयपछि मात्र स्वीकार गर्ने गरेको पाइन्छ । अहिले पनि पितृक.कार्यमा अलग गर्नु पर्ने, छुन नहुने, छुट्टै बस्नु पर्ने, आपूm भन्दा तल्लो जातको केटी भए घरतर्फ र माइतीतर्फ पितृ कार्यमा अलग रहने अझ दलित र गैरदलितको विवाहमा घरमा बस्न नहुने चलन अझै पनि केही ठाउँ र परिवारमा रहेको देखिन्छ । आधुनिकताको प्रभावले शिक्षित व्यक्ति र परिवारले परम्परागत कुरीति, कुसंस्कारको परिमार्जन गर्दै आएको पाइन्छ ।
मागी विवाह र अन्तरजातीय विवाहका सकारात्मक तथा नकरात्मक पक्षहरु रहेका छन् । जस्तो सुकै विवाह गरे पनि घर परिवारले कसरी लिन्छ भन्ने व्यवहारबाट यसको परिणाम देखिने गर्दछ । बुहारीलाई पढाउने वा घरमा राख्ने, छोरा पढ्न वा कमाउन वा वैदेशिक रोजगारमा जाने, बुहारीको पढाइमा पूर्ण बिराम लाग्न दिने वा नदिने आदिसँगै घरव्यवहार, खेतीपाती, सासु ससुराको स्याहार, सुसार गर्न, गाईवस्तु, मेलापात गर्न, घाँस दाउरा गर्न बुहारीलाई लगाउने चलनले जागिरको अवसर नहुँदा आर्थिक अवस्था कस्तो हुने भन्ने रहन्छ । यस्तै, विवाह पछि श्रीमान वा श्रीमती वैदेशिक रोजगारमा जाँदा घर परिवारमा विचलन आएको तथा पठाएको रकम सदुपयोग हुन नसकेको, घर फर्किए पछि परिवारको साथ नपाएको अवस्था छ । अहिले यी बिषय नेपाली समाजमा दर्दनाक एवम् कारुणिक बनेको छन् । कहि.अन्तरजातीय विवाह पछि घरपरिवारले नस्विकारेर खेतीबाली गरेर जिविकोपार्जनसँगै संर्घषमय जीवन बिताएको र कतै विवाह पछि अन्यत्रै बसे पछि कमाई गर्नुपर्दछ भनी पढेर, जागिर खाएर सहज जीवन बनेको, बिदेश गएपनि युवा युवतीहरुले त्यहाँ हासिल गरेका ज्ञान, सिप, दक्षता स्वदेशमा प्रयोग गरेर विदेशमा रहँदा र फर्केपछि पनि उनीहरूको आत्मबल बढाउने, क्षमता अभिवृद्धि गर्ने र सीपलाई पूर्ण रूपमा हासिल गरेर स्वावलम्बी, आत्मनिर्भर स्वरोजगार सिर्जना गर्ने गरेको अवस्था छ । मन मिलेर विवाह गरेपछि विवाह पश्चात् पढ्ने अवसर मिलेको, समाजमा पढेको बुहारी, पढेको जुवाईलाई हेर्ने दृष्टिकोणले फरकपन ल्याएको देखिन्छ ।
हाम्रो समाजमा शक्ति साधन र स्रोतको नियन्त्रणमा व्यक्ति, व्यक्ति वा समुदाय समुदाय बिच लामो समयदेखि असमानता वा विभेद रहेकोमा अहिले सोच, व्यवहार र शैलीमा आएको परिवर्तनले त्यस्ता विभेद अन्त्य हुर्दे आएका छन् । शिक्षा, पेसा व्यवसाय, बसाइ सराइ, सामाजिक विविधताले कुरीति र परम्परागत रूढिवादीलाई समय अनुसार परिमार्जन गर्दै जानु पर्ने कुरा मानिसहरुमा पर्न थालेको छ । अब यसरी नै सामाजिक, सांस्कृतिक विविधता, पेशा, बसाइसराइ, शिक्षा, सचेतना, सामाजिक सञ्जाल, परसंस्कृतिको प्रभावले रुपान्तरण हुर्देजादा अन्तरजातीय विवाह गर्ने कार्य बढने देखिन्छ । समयको माग अनुरुप यदि गतिमा रुपान्तरण हुने हो भने ब्राम्हणको छोरा मगरको छोरी माग्न जानु, तामाङको छोरा क्षेत्रीको छोरी माग्न जानु, जैसीको छोराले ब्राम्हणको छोरी विवाह गर्नु, नेवारको छोराले गुरूङको छोरी विवाह गर्नु अन्तरजातीय विवाह प्रति आकर्षण हुँदै जानु कुनै नौलो हुने छैन र समाजमा अन्तरजातीय विवाहको सकारात्मक सूचक भएको पाइने छ । अब केटा वा केटी कुन जात जातिको भन्ने भन्दा केटाले÷केटीले कति पढेको छ ? कुन पेशामा रहेको छ ? आयआर्जन कस्तो छ ? भन्ने प्रश्न तथा जिज्ञासा व्यतिm र परिवारले राख्ने, अन्तरजातीय विवाहले समाजमा सकारात्मक धारणा तथा प्रभाव पर्दे जाने देखिन्छ ।
अन्तरजातीय विवाहको प्रभावमा समाजमा बहिस्कार हुनु पर्ने, विभिन्न शारीरिक तथा मानसिक यातना खप्नु पर्ने, बुवाआमाको सहमति सजिलै नपाउने, घरमा स्वीकार्य नभए अन्यत्र गएर बस्नुपर्ने, शिक्षा र जागिरको अवसरका लागि संघर्ष गर्नु पर्ने, प्रोत्साहन नमिल्ने गरेको पाइन्छ । विवाह संस्कारलाई शैक्षिक, आर्थिक, सामाजिक, राजनीतिक, धार्मिक र सांस्कृतिक आदि पक्षले प्रभाव पारेको छ । शिक्षा नै विकासको मूल आधार भएकोले परिवार, समाजलाई विकासको गतिमा अघि बढाउन जातभातको घेरामा अल्मलिनु भन्दा शैक्षिक अवसरको खोजी गर्दै व्यक्तिलाई स्वतन्त्रता पूर्वक जिउन, विवाह प्रति स्वतन्त्र निर्णय गर्न र उज्ज्वल भविष्य निर्माणमा सरकार, समाजसेवी, बुद्धिजिवी, नागरिक समाज, मानव अधिकारवादी संघ संस्था, समाज, परिवार र अन्य सरोकारवाला निकायहरूले आ–आफ्नो क्षेत्रबाट सही पहल तथा सहयोग गर्नु पर्ने देखिन्छ ।