बागलुङमा घट्दै कोरोना संक्रमित, निकाे हुने दर ८७ प्रतिशत

आदर्श अनलाइन, बागलुङ

जिल्लामा कोरोना संक्रमणको दर लामो समयदेखि एक हजार हाराहारीमा थियो । कोरोना संक्रमण दर नघटेकोमा धेरैले चिन्ता व्यक्त गरेका थिए । तर, पछिल्लो एक हप्तामा बागलुङमा कोरोना संक्रमणको दरमा ह्वात्तै कमी आएको छ ।

अहिले जिल्लामा संक्रिय संक्रमितको संख्या ५ सय १ रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा ८५ वडा मध्ये २६ वडा सक्रिय संक्रमित मुक्त वडा भइसकेका छन् । जिल्लामा कोरोना संक्रमणबाट निको हुनेको दर ८७.४ प्रतिशत, संक्रमण दर २७.२३ र मृत्यु दर १.१ रहको स्वास्थ्य कार्यालयमा कोरोना स्रोत व्यक्ति देव प्रकाश घिमिरेले जानकारी दिनुभयो ।

“कोरोनाको जोखिम केही घटेको छ, परीक्षण दर समेत घटेको छ, अस्पतालमा आकस्मिक बिरामी कम आएका छन् भने, लक्षण देखिएर परीक्षणमा आउने क्रम समेत ह्वात्तै घटेको पाइएको छ” घिमिरेले भन्नुभयो “कोरोना घट्नु सुखद् पक्ष भए पनि सतर्कता भने अपनाउन आवश्यक छ ।” कोरोना संक्रमण दर घटाउन जिल्ला प्रशासन कार्यालयले अझै असार पहिलो साता सम्म निषेधाज्ञा लम्बाएको प्रमुख जिल्ला अधिकारी शिव कुमार कार्कीले बताउनुभयो । उहाँका अनुसार बैंक, सहकारी तथा वित्तीय संस्था भने केही खुकुलो हप्तामा चार दिन आइतबार, मंगलबार, बिहीबार र शुक्रबार सञ्चालन गरिनेछ ।

जिल्लाको ८५ वडामा अहिले कोरोनाको उच्च जोखिममा २१ वडा छ । एक हप्ता अगाडि उच्च जोखिममा जिल्लाका ४७ वडा रहेको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । स्वास्थ्य कार्यालय बागलुङले सार्वजनिक गरेको तथ्याङ्क अनुसार जिल्लामा कोरोना संक्रमण दरमा कमी आएको जनाएको छ । जिल्लाका ४ नगरपालिका र ६ गाउँपालिका मध्ये सबै भन्दा बढी जोखिममा बागलुङ नगरपालिका र सबैभन्दा कम जोखिम भएको तमानखोला गाउँपालिका रहेको छ ।

जोखिमका आधारमा पालिकाका वडालाई छुट्याउँदा २१ वडा उच्च जोखिममा, ३८ वडा मध्यम र २६ वडामा संक्रमण शुन्य देखिएको छ ।

बागलुङ नगरपालिकाका १४ वडा मध्ये ८ वटा वडा उच्च जोखिममा रहेको र ४ वटा वडामा मध्यम जोखिम र २ वडामा शुन्य संक्रमण रहेको छ । बागलुङ नगरपालिकाको वडा नम्बर २,३,४,६,९,१०,१२ र १४ वडा उच्च जोखिममा, वडा नम्बर १,७ र १३ मध्यम र वडा नम्बर ८ र ११ शुन्य संक्रमण रहेको छ । नगरपालिकामा जिल्लामै सबैभन्दा बढी १६८ जना सक्रिय संक्रमित छन् । एक हप्ता अगाडी यो संख्या दोब्बरले बढी ३८६ थियो ।

गलकोट नगरपालिकाको ११ वडा मध्ये ४ वटा वडा उच्च जोखिममा र पाँच वटा वडा मध्यम र दुई वटा वडामा शुन्य संक्रमण छ । गलकोटको वडा नम्बर २,३,४र ११ उच्च जोखिम, १,५,६,७ र ८ मध्यम र वडा नम्बर ९ र १० मा शुन्य संक्रमण छ । गलकोटमा हाल ८४ सक्रिय संक्रमित छन् ।

जैमिनी नगरपालिकाका १० वटा वडा मध्ये २ वटा वडाहरु वडा नम्बर ६ र ८ उच्च जोखिममा, पाँच वटा वडाहरु मध्ये १,२,७,९ र १० वडा मध्यम र वडा नम्बर ३, ४र ५ वडामा शुन्य संक्रमण छ । जैमिनीमा हाल ५४ सक्रिय संक्रमित छन् ।

काठेखोला गाउँपालिकाको ८ वटा वडा मध्ये तीन वटा वडाहरु वडा नम्बर ४, ७ र ८ उच्च जोखिममा र पाँच वटा वडा वडा नम्बर १,२,३,५ र ६ मध्यम जोखिममा रहेको पाइएको छ । गाउँपालिकाका कुनै वडामा शुन्य जोखिम छैन । काठेखोलामा ८९ संक्रिय संक्रमित छन् ।

जिल्लाको बडिगाड गाउँपालिकाका १० वटा वडा मध्ये एक वटा वडा वडा २ उच्च जोखिममा, चार वटा वडा नम्बरहरु १, ४, ५ र ८ मध्यम जोखिममा र पाँच वटा वडा वडा नम्बरहरु ३, ६,७, ९ र १० मा शुन्य संक्रमण छ ।

जिल्लाको तमानखोलाको ६ वटा वडा मध्ये वडा नम्बर तीनमा उच्च् संक्रमण र वडा नम्बर १ मा मध्यम संक्रमण र अन्य वडामा शुन्य संक्रमण रहेको छ । तमानखोलामा हाल जम्मा ९ जना संक्रिय संक्रमित छन् ।

जिल्लाको ढोरपाटन नगरपालिकाको ९ वटा वडा मध्ये कुनै वडामा पनि उच्च संक्रमण छैन भने वडा नम्बर १, २, ३, ७ र ९ मा मध्यम तथा वडाहरु ४,५,६ र ८ मा शून्य जोखिममा रहेको पाइएको छ । ढोरपाटनमा जम्मा १२ जना संक्रिय संक्रमित रहेका छन् ।
बरेङ गाउँपालिकाका पाँच वडा मध्ये १ नम्बर वडा कोरोनाको उच्च जोखिममा, २र३ मध्यम र ४ र ५ मा शुन्य जोखिम रहेको छ । बरेङमा अहिले ३८ जना सक्रिय संक्रमित छन् ।

ताराखोला गाउँपालिकाको पाँच वडा मध्ये वडा नम्बर १,२,४ र ५ मा मध्यम र ३ मा शुन्य जोखिम छ भने कुनै वडामा उच्च जोखिम छैन । गाउँपालिकामा अहिले जम्मा १० जना सक्रिय संक्रमित रहेका छन् ।

निसीखोला गाउँपालिकाको ३ नम्बर वडा कोरोनाको उच्च जोखिममा छ । ७ वटा वडा रहेको गाउँपालिकामा २, ४ र ६ नम्बर वडा मध्यम जोखिममा र वडा नम्बर १,५ र ७ शुन्य जोखिममा रहेको छ । यस पालिकामा अहिले जम्मा २० जना संक्रिय संक्रमित छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *