बस्ती नदीमा पुग्दाको दुखान्त नियति

सम्पादकीय
“हजारौं मानिस प्रेम विना बाँचेका छन्, तर पानी र प्रकृति बिना एउटै छैन’’–डब्लु एच उडेन । यो भनाई झट्ट सुन्दा केवल भावनात्मक विषय मात्रै हो कि भन्ने लाग्न सक्छ । तर, समयक्रमले प्रकृतिलाई हामीले प्रेम गर्न नसक्दा कस्ता नियति भोग्नुपर्छ ? प्रकृति मानव जीवनका लागि कति अपरिहार्य छ ? र यस प्रतिको मानव अतिक्रमणले प्रकृति कुन हद सम्म क्रुरता प्रदर्शन गरेर आउन सक्छ ? यो पछिल्लो केही दिन यता निरन्तर जारी वर्षासँगै आएको भेल बाढी, यसले निम्त्याएका कहाली लाग्दा घटना, यसका पछाडिका कारणहरु हेरे काफी पुग्दछ । पछिल्ला वर्षहरुमा प्रकृति माथिको मानव व्यवहार निर्मम देखिन्छ । चाहे त्यो डोजर लगाएर मनपरी पाखा पखेरा, खेतबारी छिचोलेर निर्माण गरिएको सडक होस् या खोला, नदी दोहन गरेर जर्बजस्त निर्माण गरिएका बस्ती होस् । यसले वर्षेनी नेपाली समाजमा हृदयविदारक कहाली लाग्दो घटना निम्त्याउने गरेको छ ।

|हालै सरकारले चुरे क्षेत्रको कच्चा पदार्थ भारत निकासी गर्न खुल्ला गर्ने निर्णयको व्यापक बिरोध छ । अरु पहाड र नदीहरुमा अवैध उत्खनन उस्तै छ । हाम्रै सम्मुखको कुरा गर्ने हो भने कालीगण्डकी नदीका किनारहरुमा बाह्रै महिना मनपरी दोहन छ । एउटा सत्य तथ्य यो हो कि हर भौतिक संरचना निर्माणका लागि नदीजन्य बस्तु जरुरी हुन्छ । यो अन्त कतैबाट नभई नदी किनारबाटै निकाल्ने हो । सडक सुविधा, दैनिकी सहजताका लागि खन्ने नै हो । तर, यसका पनि बिधि, निश्चित मूल्य मान्यता, नियम, ऐन कानुन जरुर छन् । नियम अनुसार उत्खनन् गर्ने विषयमा बिरोध या आपत्ति जनाउनु सान्दर्भिक होइन र हुँदैन । भलै यस्तो संवेदनशील विषयहरुमा बन्ने ऐन, नियम र कानुन पनि उनै अवैध कर्ममा रमाएकाहरुको चलखेलबाट प्रभावित भएको विषयलाई सामान्य आँकलन गर्नुहुँदैन । जे जस्ता अवैध या सत्ता शक्तिको आडमा प्रकृतिको संवेदनशीलता माथि चरम अतिक्रमण बढ्दो छ । यसले नै समाजमा अप्रिय घटना बढाइरहेको छ नै ।

अहिले बाढीले सिन्धुपाल्चोकको मेलम्ची बजार बगाएको घटना होस् या मनाङ सदरमुकाम चामे बजार डुबानमा परेको घटनाहरु किन नहोस् । यसको पछाडिको कारणहरुको समयमै खोजी गरौं । बस्ती र बजार बगेका स्थानहरु पहिले र अहिलेको तुलना गरि हेर्दा बाढीको बितण्डा सहित उर्लिएको नदी बस्तीमा पसेको होइन । बस्ती चाहीँ खोला, नदी छेउमा अतिक्रमण गर्दै बसेको हो भन्ने देखिन्छ । विकास या कुनै निश्चित स्वार्थ समूहका नाम या दबाब र प्रभावमा गरिने अबैध प्राकृतिक दोहनले निम्ताउने यस्तै अप्रिय कहाली लाग्दो विपद हो । हामी मानव प्रकृतिका उपज र अंग हौँ । विभिन्न जीवमध्ये हामी एउटा हौँ । जब सिंगो पर्यावरणीय प्रणाली स्वस्थ र सन्तुलित हुन्छ अनि मात्रै मानव जीवन र समुदाय सुरक्षित र स्वस्थ हुन सक्छ । प्रकृतिको समृद्धिसँग हाम्रो समृद्धि जोडिए पनि यस माथिको मनपरी दोहन र अतिक्रमण हानिकारक छ भन्ने बुझ्न बुझाउन अब कदापी ढिला नगरौं ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *