कहिले रोकिएला ? वर्षेनी बागलुङ बजार जलमग्न

डम्मर बुढा मगर, बागलुङ
बर्खामा मात्र होइन, हिउँद महिनामा समेत भारी वर्षा हुँदा बागलुङ बजार जलमग्न हुन्छ । बागलुङ बजारको विभिन्न चोकहरुमा ढलको पानी सडकबाट बग्छ । भलसँगै आएको पानी सडकमा मात्रै ताल बन्दैन, बजारवासीको घर, पसल भित्रै पुग्छ ।

यसबाट बागलुङ बजारको लालीगुरास चोक, शिवधारा चोक, धौलागिरी चोक, हल्लनचोक, गोदामचोक, समिक्षालय चोक, सिर्जनाटोल लगायतका स्थानका व्यापारी तथा स्थानीय वर्षौँदेखि हैरानी खेप्दै आएका छन् ।

बागलुङ नगरपालिकाले हरेक वर्ष नाली (ढल) व्यवस्थापनका लागि लाखौँ रुपैयाँ बजेट विनियोजन गर्छ तर ढल व्यवस्थापनमा अपेक्षाकृत सुधार देखिएको छैन । यसले स्थानीय त हैरानी छन् नै, बजारको सुन्दरता र सडकलाई पनि कुरुप बनाई दिन गरेको छ । वर्षा हुँदा साथ बजारको मुख्य चोकहरुमा पानीको ताल बन्छ । पैदल यात्रा गर्न समेत समस्या हुँदै आएको छ ।

वर्षातको समयमा नालीबाट सोझै घर भित्र पानी छिर्दा अन्नपात, लत्ता कपडा तथा पसलका समानहरु भिजेर नष्ट हुने गरेको सिर्जना टोलका राजेश हमालले बताउनुभयो । पानी पर्दा रातभर जाग्राम बस्नु पर्ने बाध्यता रहेको बताउनुभयो । ‘बर्खा लाग्यो अब रातभर जाग्राम बस्नु पर्छ, पानी नपर्दा त केही समस्या हुँदैन, जब पानी पर्छ तब नाली खोल्ने र भल तर्काउने बाहेक अरु काम हुँदैन, राति दिन पानी तर्काउनमै बित्छ,’ हमालले भन्नुभयो ‘नाली साँघुरो छ माथिबाट ठूलो भल आउँछ, नालीमा अटाउँदैन, कहाँ जाओस् ? सबै भल कोठा भित्रै बस्छ ।’

सडक तथा नाली निर्माण आवश्यकता र मापदण्ड अनुसार नहुँदा हरेक वर्ष बजारवासीले यस्तो समस्या भोग्नु परेको बजारवासीको गुनासो छ । यसमा नगरपालिकाले खासै ध्यान नदिएको उनीहरुको आरोप छ र्। वर्षेनी यही समस्या दोहोरी रहेको छ, तर दीर्घकालीन रुपमा समस्याको समाधान गर्न सकिराखेको छैन,’ हमालले भन्नुभयो ‘जबसम्म दीर्घकालीन रुपमा नाली व्यवस्थान हुँदैन, तबसम्म बजारबासीले फोहोर पानी तर्काउँदै वर्षात् बिताउनु पर्ने हुन्छ ।’

बागलुङ नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष जीवन आचार्यले मध्यपहाडी लोकमार्गका कारण बजार क्षेत्रमा हरेक वर्ष जलमग्न हुने गरेको बताउनुहुन्छ । उहाँले लोकमार्गबाट आएको भलले बजार क्षेत्रका नालीहरु पुरिँदा सडकमा पानी बग्ने र स्थानीयको घर भित्र पस्ने गरको बताउनुहुन्छ ।

‘लोकमार्गबाट भेलले ढुङ्गा गगे्रटा सोरेर ल्याउँछ, नागरिकले पनि घरहरु निर्माण गर्दा अव्यस्थित रुपमा निर्माण सामग्री राख्ने, सरसफाईमा ध्यान नदिँदा पनि यहाँको नाली थुन्दिन्छ, जसले गर्दा भलपानी बजारभरी हुन्छ र स्थानीयको घर पसल भित्र पस्ने अवस्था छ, लोकमार्गले समयमै काम नसग्दा यो समस्या आएको हो’ अध्यक्ष आचार्यले भन्नुभयो ‘भललाई तर्काउनका लागि पहल गरे पनि ठूलो वर्षा हुँदा पुरानै समस्या दोहोरिएको छ ।’

अध्यक्ष आचार्य केन्द्र सरकारले बजार क्षेत्रमा नाली निर्माणको लागि ठूलो योजना पारेको र समयमा काम सुरु नगर्दा पनि यो समस्या आएको बताउनुहुन्छ । उहाँले केन्द्रबाट बन्ने हुँदा आफूहरुले अर्को योजना सुरु नगरेको भन्दै माथिबाट काम सुरु गर्न ढिला गरेको बताउनुहुन्छ ।

हरेक बैशाख, जेठ महिनामा बजार क्षेत्रको नाली निर्माण तथा व्यवस्थापन गर्ने गरेको भन्दै यस वर्ष कोभिडका कारण गर्न नसकिएको उहाँले बताउभयो । आचार्यले वडाबाट हुने नाली व्यवस्थापन तथा सरसफाई गर्ने कार्य अहिले नगर फोहोर मैला तथा सरसफाई शाखा मार्फत हुन थालिए पनि समयमै काम गर्न नसकेको बताउनुहुन्छ ।

‘वडाबाट नाली व्यवस्थापन हुँदासम्म हामीले समयमै सक्थ्यौँ, अहिले फोहोर मैला तथा सरसफाई शाखा मार्फत हुन थालेको छ तर काम नै हुन सकेको छैन, यसले गर्दा पनि केही समस्या आएको छ,’ उहाँले भन्नुभयो ‘समयमै काम हुने हो भने यस्तो समस्या आउने थिएन, लोकमार्गको पनि अवस्था उस्तै छ, यहाँ पनि उस्तै, अहिले समान्य व्यवस्थापन त गरेका छौँ तर भारी वर्षा भयो भने उस्तै हुन सक्छ ।’ अध्यक्ष आचार्यले बजार क्षेत्रको नाली सरसफाई तथा व्यवस्थपनको लागि हरेक वर्ष नगरपालिकाबाट ५/६ रुपैयाँ विनियोजन हुने भन्दै त्यसले मात्रै अहिलेको समस्या समाधान हुन नसक्ने उहाँको भनाई छ ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *