कालीगण्डकी दोहनमा ट्वीस्ट: ‘माफिया’लाई छुट,पुल मर्मत गर्ने व्यवसायीलाई कारबाही

–खेमराज गौतम

वर्षौ अघि निर्माण गरिएको दुई जिल्ला पर्वत र बागलुङ जोड्ने मालढुङ्गाको मोटरेवल पुल मर्मत गर्नुपर्ने अवस्थामा पुगेको छ ।

पुलको पर्वत खण्डको मुख्य पिल्लरमा नदीको बहानबाट क्षति भए पछि सडक डिभिजन कार्यालयले मर्मत गर्न थालेको छ । तर, पुल मर्मत कार्य समेत कालिगण्डकी दोहन गर्ने माफियाको फन्दामा परेको कार्यालय स्रोत बताउँछ ।

निरन्तर रुपमा प्रहरी प्रशासनको आँखै अगाडि दोहन भइरहेको कालीगण्डकी नदीको अहिले धारै समेत परिवर्तन भइरहेको छ । दोहनमा संम्लग्नहरुलाई पक्राउ र कारबाही त कता हो कता, यही बिचमा नदीकै पुल मर्मत कार्य गर्ने प्रयासमा भने प्रहरीले अनावश्यक रुपमा सकस दिएको खुलेको छ ।

अहिलेको मध्यपहाडी लोकमार्गको पोखरा बागलुङ खण्डमा पर्ने पर्वत र बागलुङ जोड्ने मालढुङ्गाको मोटरेवल पुल मर्मत गर्न खटिएकालाई भने दोहन गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

ठेक्का सम्झौता पश्चात पुल मर्मतको कार्य थालेको निर्माण व्यवसायीलाई जिल्ला प्रशासन कार्यालय पर्वतले नदी दोहन गरेको आरोपमा पक्राउ गरेपछि पुल मर्मत कार्य रोकिएको छ । सडक डिभिजन कार्यालय बागलुङका अनुसार पुलको माथि ५ सय मिटर र पुलकोे तल एक किलोमिटर सम्म नदीजन्य बस्तु उत्खनन् गर्न नपाइने नियम छ । तर, मालढुङ्गाको पुलको एक सय मिटर भित्रै नदी दोहन हुँदा टुलुटुलु हेरेर बस्ने प्रहरी प्रशासन पुल मर्मतमा भने अनावश्यक रुपमा अबरोध गरिरहेको छ ।

जिल्ला प्रशासन कार्यालयले नदीजन्य बस्तुको ठूला औजारको प्रयोग गरि उत्खनन् गरेकालाई कारबाही नगर्ने तर, मालढुंगा पुल मर्मतका लागि खोलामा गएको स्काभेटरलाई नदी दोहन गरेको आरोपमा पक्राउ मात्र होइन, एक दिन थुनेर २५ हजार जरिवाना तिराएको छ ।

केही दिन अगाडि पुल मर्मतका लागि नदीमा गएर पर्खाल पुर्ने कार्य गरिरहेको डोजरलाई कारबाही गरेको पुल मर्मतको ठेक्का पाएको कालिका निर्माण सेवाका प्रतिनिधि रामचन्द्र शर्माले जानकारी दिनुभयो । हामीले कानून सम्मत रुपमा सडक डिभिजन कार्यालयबाट ठेक्का स्विकृत गरि पुल मर्मत कार्य आरम्भ गरिरहेको अवस्थामा दोहनकारी भन्दै पर्वत प्रशासनले पक्राउ गरेको थियो” शर्माले भन्नुभयो “पर्वत खण्डको पिल्लर तलको पर्खाल गत वर्ष भत्केको र पर्खाल भित्र पसेको बालुवा निकालेर पर्खाल लगाई पुनः पुर्ने क्रममा नदीमा स्काभेटर हालेको आरोपमा रु.२५ हजार जरिवाना तिराएको छ ।” यो हामीलाई कारबाही गरेको देखाएर वास्तविक दोहनकर्तालाई चोख्याउने षड्यन्त्र भएको उहाँको भनाई छ ।

अहिले नदीको वहाब बढी रहेको सन्दर्भमा पुल मर्मत कार्य रोकिदा मालढुङ्गाको पुल जोखिममा रहेको छ । मालढुङ्गाको पुल तथा खनियाघाटको सडक मर्मतका लागि २०७७ चैत्र १८ गते २०७८ असार २५ सम्म निर्माण सक्ने गरि ठेक्का स्विकृत गरिएको भए पनि अहिले पुल मर्मत कार्यामा अवरोध भएको सडक डिभिजन कार्यालयका इन्जिनियर सुरेन्द्र गौतमले जानकारी दिनुभयो ।

नदि दोहन गरेको आरोपमा पुल मर्मत गर्न नदीमा गएको स्काभेटर चालक तथा निर्माण व्यवसायीलाई फक्राउ गरी जरिवाना तिराए पछि समस्या भएको उहाँको भनाई छ ।
पुल मर्मत मात्रै गर्न रु. १६ लाख खर्च छुट्टाइएको छ । तर पर्वत प्रशासनले अनुमति वेगर पुल मर्मत गरेको भन्दै निर्माण कार्य रोकेको छ ।

सडक डिभिजन कार्यालयले आफ्नो कार्यालय अन्तर्गतका पुल तथा पुलेसा स्वतन्त्र ढंगले मर्मत गर्दै आएको जनाए पनि मालढुङ्गाको पुल मर्मतमा सरकारी पक्षकै अवरोध रहेको जनाएको छ । पुलमा क्षति पु¥याउँदा मालढुङ्गाको बस्ती समेत जोखिममा पर्ने सडक डिभिजन कार्यालयको भनाई छ ।

यस विषयमा पर्वतका प्रमुख जिल्ला अधिकारी देवी पाण्डेयले पुल मुनिबाट धेरै बालुवा निकाल्दा पुलनै जोखिममा पर्ने भएकाले कारबाही गरेको बताउनुभयो । पुल भन्दा १ सय मिटर तल दोहन भएको किन देख्नु भएन नि भन्ने प्रश्नमा प्रजिअ पाण्डेयले पालिकाले लगाएको ठेक्कामा आफू केही बोल्न नमिल्ने बताउनुभयो । उहाँले पुल मर्मत गर्न पुल मुनी नै बढी बालुवा निकाल्दा पुल झनै जोखिममा पर्ने भएकाले कारबाही गरेको जिकिर गर्नुभयो । तर,राजमार्ग छेउमै ओहोर दोहोर गर्दा दैनिक देखिने अवैध दोहनमा भने बिभिन्न बाहना बनाएर पन्छिने कार्यले अनेक आशंका जन्माएको छ । अहिले पुल मर्मत नहुँदा बर्खामा पुल भत्कन पनि सक्ने भन्दै तत्कालै पुल मर्मत गर्न दिनुपर्ने स्थानीयले बताएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *